मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २ मंगलबार १०:१३:००
Read Time : < 1 मिनेट
अर्थ

खुकुरी रमलाई  लन्डनमा स्वर्ण पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २ मंगलबार १०:१३:००

नेपाल डिस्टिलरिज् प्रालिद्वारा उत्पादित रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेको छ । लन्डनमा भएको लन्डन स्पिरिट्स प्रतियोगितामा रम समूहतर्फ ९४ अंक हासिल गर्दै स्वर्ण पदक जितेको हो । 

प्रतियोगिताअन्तर्गतका ३ विधाहरू गुणस्तर, गुणवत्ता र प्याकेजिङका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निर्णायकहरूले अन्य उच्चकोटीका प्रतिस्पर्धी रमहरूको दाँजोमा नेपाली उत्पादन खुकुरी रमलाई १ सयमध्ये कुल ९४ अंक प्रदान गरेका थिए । यो नै सर्वोत्कृष्ट अंक भएको प्रमाणित गर्दै खुकुरी रम विश्वव्यापी रूपमा मान्यताप्राप्त रम भएको छाप लगाइदिएको कम्पनीले जनाएको छ । यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।

१९५९ देखि मदिरा उत्पादन गर्दै आएको नेपाल डिस्टिलरिज् आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरूका साथ बहन गर्दै तेस्रो पुस्तामा आइपुगेको कम्पनीले जनाएको छ । नेपालमा बनेको वास्तविक नेपाली ब्रान्डका रूपमा यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको नेपाल डिस्टिलरिज्का कार्यकारी प्रमुख कृष्णकुमार चुरिवालाले बताए ।

प्रसिद्ध मिक्सोलोजिस्टहरू, विशेषज्ञहरू र उत्पादकहरूबाट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गर्नुले हिमाली राज्यबाट विश्वव्यापी रूपमा सबैका लागि उत्कृष्ट मदिराहरू बनाउने हाम्रो कला र उत्कटताप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ बल पुर्‍याएको चुरिवालाको भनाइ छ । खुकुरी रम बेलायत, अमेरिकालगायत १३ मुलुकहरूमा निर्यात हुँदै आएको कम्पनीले जनाएको छ ।