१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ भदौ २ मंगलबार १०:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विमानस्थल निर्माणमा ४१% मात्रै बजेट खर्च

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ भदौ २ मंगलबार १०:४०:००

विमानस्थल निर्माण, सञ्चालन र नियमन गर्ने प्रमुख दायित्व रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आवमा पुँजीगततर्फ कुल बजेटको ४१ प्रतिशत मात्रै खर्च गरेको छ । गत आव ०७६/७७ मा निगमले पुँजीगततर्फ ३४ अर्ब ४ करोड ३७ लाख बजेट विनियोजन गरेकोमा १३ अर्ब ८३ करोड ५९ लाख मात्रै खर्च गरेको छ । तर, कार्य सञ्चालनतर्फ भने ८१ प्रतिशत बजेट खर्च गरेको छ । प्राधिकरणले कार्य सञ्चालनतर्फ ४ अर्ब १८ करोड बजेट विनियोजन गरेकोमा ३ अर्ब ४० करोड ८८ लाख खर्च गरेको छ ।

 प्राधिकरणले गत वर्ष ४६ अर्ब ९६ करोड ५१ लाख बजेट विनियोजन गरेको थियो । जसमा १९ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको ४२ प्रतिशत मात्रै खर्च हो । प्राधिकरणले यस वर्ष १ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ सरकारलाई ऋण लगानीबापतको ब्याज र साँवाको किस्ता तिरेको छ । यता आयकर तथा अन्यतर्फको खर्चका लागि ८ अर्ब ७३ करोड ३० लाखको लक्ष्य राखेकोमा २६ प्रतिशत पूरा गरेको छ । जसमा २ अर्ब २७ करोड ७ लाख ६१ हजार रुपैयाँ मात्रै लक्ष्य पूरा गरेको छ । 

प्राधिकरणले मुआब्जा वितरणमा प्रत्येक वर्ष अर्बौँ खर्च गर्दै आएको छ । गत वर्ष पनि जग्गा खरिद र विकास शीर्षकमा ११ अर्ब ३२ करोड २५ लाख खर्च गरेको छ । गत वर्ष प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनामा ११ अर्ब १२ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ भने हवाई यातायात क्षमतातर्फ १९ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । ‘सबैभन्दा बढी जग्गामै खर्च हुने गरेकाले प्रत्येक वर्ष अर्बौँ रुपैयाँ जाने गरेको छ,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । 

प्राधिकरणले सबैभन्दा बढी निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ४ अर्ब ६० करोड २५ लाख रुपैयाँ सीधा भुक्तानी गरेको छ । त्यस्तै, भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ अर्ब ७५ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ । धावनमार्ग, ट्याक्सी वे तथा एप्रोन निर्माणमा ८ अर्ब २५ करोड खर्च गरिएको छ । जसमा हवाई यातायात क्षमतातर्फ २ अर्ब ४२ करोड ५१ लाख खर्च गरेको छ । यता राष्ट्रिय गौरवका आयोजनातर्फको निर्माणमा ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ खर्च गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष ०७७/७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल विस्तारदेखि नयाँ निर्माणको विषयलाई प्राथमिकतामा राखेको छ ।  

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तरतर्फ एप्रोन तथा प्यारालल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ९१ करोड २३ लाख बजेट विनियोजन गरेको छ । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दक्षिणतर्फ प्यारालल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरेको छ ।

परामर्श तथा सल्लाहमै ६० करोड १६ लाख खर्च
प्राधिकरणले परामर्श तथा सल्लाह शीर्षकमा गत वर्ष ६० करोड १६ लाख खर्च गरेको छ । उक्त शीर्षकमा यातायात क्षमताअन्तर्गतमा ३० करोड ५४ लाख ४० हजार, यातायात योजना तयारीस्वरूप १६ करोड ३४ लाख खर्च गरेको छ । राष्ट्रिय गौरव आयोजनामा १३ करोड २७ लाख रुपैयाँ परामर्शमा खर्च गरिएको छ ।