मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ १ सोमबार २०:११:००
Read Time : > 1 मिनेट
प्रदेश

पोखरामा मंगलबार रातिदेखि लकडाउन 

Read Time : > 1 मिनेट
२०७७ भदौ १ सोमबार २०:११:००

पोखरा महानगरपालिकामा मंगलबार रातिदेखि लकडाउन हुने भएको छ । यसअघि पोखरा महानगरले सोमबार रातिदेखि नै लकडाउनको घोषणा गरे पनि प्रदेश संकट व्यवस्थापन केन्द्रले भने त्यसलाई संशाेधन गर्दै मंगलबारदेखि गर्ने घोषणा गरेको हो । 

निषेधाज्ञा पोखरा महानगरमा मात्र नभई प्रदेशभर आवश्यकता भएअनुरूप लागू गर्ने र त्यसको जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए । 

समितिको बैठकमा सहभागी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नागरिकको सहजतालाई ध्यान राख्दै महानगरले गरेको सिफारिसभन्दा २४ घन्टापछिदेखि लकडाउन लागू हुने भएको छ । लकडाउन कार्यान्वयनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको उनले बताए । ‘हामीले आज (सोमबार) राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा गर्न सिफारिस गरेका थियौँ । प्रदेश संकट व्यवस्थापनको बैठकले तत्काल लागू गर्दा सर्वसाधारणलाई समस्या पर्ने भनेपछि भोलि मंगलबार रातिदेखि निषेधाज्ञा जारी गर्ने र त्यसको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णण भयो,’ मेयर जिसीले नयाँ पत्रिकालाई भने । उनका अनुसार मंगलबार रातिदेखि जारी हुने निषेधाज्ञा ७ भदौ राति १२ बजेसम्म लागू हुनेछ । 

यसअघि आइतबार महानगरका मेयर मानबहादुर जिसीले राखेको सर्वदलीय बैठकले महानगरलाई निषेधाज्ञा गर्न सल्लाह दिएको थियो । उनले भने, ‘सोमबार बिहान बसेको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले पनि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष निकालेको थियो । यससँगै महानगरले निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो ।’ 

निषेधाज्ञा अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरू सबै पसल बन्द रहनेछन् । त्यसबाहेक घरबाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले अहिले कन्ट्याक ट्रेसिङको मात्रा बढाएको र सेकेन्ड लेयरसम्मको नमुना संकलन गर्ने बताए । निषेधाज्ञा नै सम्पूर्ण रूपले संक्रमण नियन्त्रणको उपाए नभए पनि आवतजावत नहुने र चेकजाँच बढाउँदा स्वाभाविक रूपले संक्रमण घट्ने उनले बताए । 

पोखरामा सोमबार बिहानसम्म दुई सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय २७ जना निको भएर घर फर्किएको उनले बताए । शनिबार र आइतबार मात्रै पोखरामा ४९ जना संक्रमित थपिएका थिए ।