मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ १ सोमबार ११:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्युत् प्राधिकरण देशकै गर्व गर्न लायक संस्था : मन्त्री पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ १ सोमबार ११:२६:००

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण मुलुकको गर्व गर्न लायक सार्वजनिक संस्थाका रूपमा स्थापित भएको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले प्राधिकरण नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गरे । 

प्राधिकरणले इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गरेको, घरेलु ग्राहकको विद्युत् महसुल घटाउन सफल भएको र मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने करिब आठ लाख विपन्न ग्राहकलाई विद्युत् महसुल पूरै छुट दिइएको पुनले बताए ।

‘विद्युत् महसुल दरमा वृद्धि नगरी चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ,’ प्राधिकरण स्थापनाको ३५औँ वर्ष सुरु भएको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मन्त्री पुनले भनेका छन्, ‘मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका करिब आठ लाख ग्राहकलाई पूर्ण रूपमा विद्युत् महसुल छुट दिएर प्राधिकरण नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रूपमा स्थापित भएको छ ।’ 

मन्त्रालय, विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणबीचको एकता र समन्वयबाट विद्युत् आपूर्ति वृद्धि गर्न एवं स्वदेशमा उत्पादित विद्युत् सुलभ दरमा उपलब्ध गराउने मन्त्री पुनले प्रतिबद्धता जनाएका छन् ।  

केही वर्ष अगाडिसम्म मुलुकले अत्याधिक विद्युत् अभावको समस्या झेल्नुपरेको स्मरण गर्दै मन्त्री पुनले स्वदेशी विद्युतको उत्पादन, माग र आपूर्तिको व्यवस्थापन, चुहावट न्यूनीकरण र प्रसारण तथा वितरण प्रणालीमा सुधारका कारण हाल नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न सकिएको उनको भनाइ छ । 

स्वदेशमै विद्युत् उत्पादन वृद्धि गर्ने उद्देश्यले प्राधिकरणले निजीसहित विभिन्न प्रव्रर्द्धकहरूसँग करिब ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरेकोे र  प्रसारण तथा वितरण संरचनाहरूको सुधारमा समेत दत्तचित्त भई कार्य गरिरहेको मन्त्री पुनले जानकारी दिएका छन् । 

उनले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन तथा ढल्केबर सबस्टेसनको चार सय केभीमा स्तरोन्नति ऊर्जा क्षेत्रको कोसेढुंगाका रूपमा रहने उल्लेख गर्दै त्यसबाट नेपालको ऊर्जा सुरक्षामा सुधार हुने र क्षेत्रीय विद्युत् व्यापारमा बढावा मिल्ने विश्वास व्यक्त गरे । 

बढ्दो विद्युत् खपत राष्ट्र तथा नागरिकको वित्तीय आर्थिक सुधारको सूचक  भएको उल्लेख गर्दै मन्त्री पुनले केन्द्रीय विद्युत् प्रणालीको विस्तार र वैकल्पिक ऊर्जाको माध्यमबाट हरेक नेपालीको घरधुरीमा विद्युतको पहुँच पुऱ्याउने नेपाल सरकारको लक्ष्य हासिल गर्नु प्राधिकरणको मूल उद्देश्य हुनुपर्ने बताए । 

वित्तीय अवस्थामा सुधार आएको वर्तमान अवस्थाले प्राधिकरणलाई कुशल सार्वजनिक संस्थाका रूपमा रूपान्तरित भएको भन्दै मन्त्री पुनले सम्पूर्ण कर्मचारीलाई बधाई दिएका छन् ।