मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ भदौ १ सोमबार ०७:०९:००
Read Time : > 3 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

समाजसँग किन डराउँछन् कोरोना संक्रमित ?

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ भदौ १ सोमबार ०७:०९:००

स्वास्थ्यकर्मी भन्छन्, कोरोना संक्रमण निको हुन आत्मविश्वास सबैभन्दा धेरै आवश्यक हुन्छ, तर कार्यस्थल, घरपरिवार, छरछिमेकमा आत्मविश्वास घटाउने क्रियाकलाप हुनु निकै दुःखद

....... .......  .......

कोरोना भाइरस पोजेटिभ देखिएपछि चितवन बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.विश्वबन्धु बगाले अहिले घरमै आइसोलेसनमा बसेका छन् । शुक्रबार पत्नीमा पनि कोरोना पोजेटिभ देखिएपछि सपरिवार आइसोलेसनमा बसेका बगाले दम्पतीले यस्तो बेलामा पनि स्थानीयले मानसिक तनाव दिएको बताएका छन् ।

टोल विकास समितिका अध्यक्षको समन्वयमा ‘आइसोलेसन होम, कोरोना संक्रमित’ लेखिएको ब्यानर घरमै टाँस्न आएको घटनाले आफूलाई झन् मानसिक तनाव दिएको चिकित्सक बगालेको भनाइ छ । 

पछिल्लो समय नेपालमा कोरोना संक्रमितसँगै मृत्युदर बढ्दै गएपछि समाज झन् आतंकित बन्दै गएको छ । सबै मिलेर संक्रमण रोकथाम र नियन्त्रण गर्नुको साटो समाजको अगुवाबाटै संक्रमितमा मानसिक तनाव थप्ने घटना दिनानुदिन बढिरहेका छन् । चितवनमा चिकित्सकमाथि भएको यस्तो घटना नयाँ भने होइन । नेपालमा संक्रमण फैलिएदेखि नै संक्रमितले समाजबाट दुव्र्यवहार र अपहेलना भोगिरहेका छन् । दुव्र्यवहार गर्नेहरूमा शिक्षित वर्ग नै अगाडि देखिन्छन्।

कतिसम्म भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमित हुँदा सहकर्मीबाटै नराम्रो व्यवहार भोग्नुपरेको संक्रमितहरूले बताउने गरेका छन् । 

मलाई कोरोना संक्रमण देखिएपछि परिवारले समाजबाट सहयोगको अपेक्षा राखेको थियो, तर परिस्थिति प्रतिकूल भयो । म अस्पतालमा बस्दा परिवारका सदस्यले मानसिक तनाव भोग्नुपर्‍यो । परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि मात्रै टोलमा शान्तिसँग बस्ने वातावरण बन्यो । छिमेकमा म अस्पतालबाट फर्केपछि घरमा बस्न नदिनेसमेत कुरा भइरहेको थियो । समाजमा राम्रो स्थान भएको, आफ्नै घर भएको व्यक्तिलाई त समाजले यस्तो व्यवहार गर्छ, सामान्य व्यक्तिलाई कस्तो व्यवहार होला ? - डा.ज्ञानेन्द्रमानसिंह कार्की

बिरामीको उपचारमा सधैँ खटिने चिकित्सकलाई नै सामाजिक रूपमा मानसिक तनाव दिनुले हाम्रो समाज कतातिर जाँदै छ भन्ने जीवन्त उदाहरण दिएको बताउँछन्, डा.ज्ञानेन्द्रमानसिंह कार्की । उनी केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका हुन् । उपचारपछि निको भएर घरमै आराम गरिरहेका डा.कार्की स्वयं आफूले पनि सामाजिक अपहेलना भोग्नुपरेको बताउँछन्।

‘मलाई कोरोना संक्रमण देखिएपछि परिवारले समाजबाट सहयोगको अपेक्षा राखेको थियो, तर परिस्थिति प्रतिकूल भयो । म अस्पतालमा बस्दा परिवारका सदस्यले मानसिक तनाव भोग्नुप-यो । परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि मात्रै टोलमा शान्तिसँग बस्ने वातावरण बन्यो,’ उनी भन्छन्, ‘छिमेकमा, म अस्पतालबाट फर्केपछि घरमा बस्न नदिनेसमेत कुरा भइरहेको थियो । समाजमा राम्रो स्थान भएको, आफ्नै घर भएको व्यक्तिलाई त समाजले यस्तो व्यवहार गर्छ, सामान्य व्यक्तिलाई कस्तो व्यवहार होला ?’

व्यावहारिक ज्ञानको कमी

नेपाली समाजमा संक्रमणको समयमा सहयोगको साटो दुर्व्यवहार  हुनुलाई व्यावहारिक ज्ञानको कमी भएको बताउँछन् डा.कार्की । भन्छन्, ‘यदि संक्रमितको घरमा ब्यानर टाँसिन्छ भने बाँकी घरमा ‘संक्रमित हुन बाँकी’ भनेर टाँसिनुपर्छ । किनकि मलाई कोरोना सर्दैन भन्ने हाम्रो मनोविज्ञानले असामान्य स्थिति सिर्जना गरिरहेको छ ।’ यस्ता कार्यले कोरोना संक्रमण नियन्त्रण गर्न झन् चुनौती थपिँदै गएको उनको भनाइ छ । ‘कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिएर सेवा दिइरहेका व्यक्तिहरूको मनोविज्ञान गिर्ने व्यवहार भइरहेको छ । शिक्षित तथा जानेबुझेका व्यक्तिबाटै हेलचेक्र्याइँ र संक्रमितले असहज महसुस गरिरहेका छन्,’ उनले भने ।

समाज जिम्मेवार नहुँदा अपहेलित हुने डरले कतिपयले संक्रमणलाई गोप्य राख्ने गरेको बताउँछन् कार्की । भन्छन्, ‘रिपोर्ट पोजेटिभ देखिएर अस्पतालबाट सम्पर्कविहीन भएका समाचार आइरहन्छन्, जसले हामी महामारी नियन्त्रणका लागि कति जिम्मेवार छौँ भन्ने प्रस्ट देखिन्छ ।’ 
 
सहकर्मीबाटै दुर्व्यवहार 

नेपालमा कोरोना संक्रमण देखिएको पाँच महिनाभन्दा धेरै समय भइसकेको छ । गाउँघरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गर्दासमेत आममानिस व्यावहारिक नभएको गुनासो गर्छिन् नर्स लक्ष्मी केसी । कैलालीमा स्थानीयस्तरमा क्वारेन्टाइन व्यवस्थापनको कार्यभार सम्हाल्दै आएकी केसीमा ८ जेठमा कोरोना संक्रमण पुष्टि भयो ।

उपचारबाट निको भएकी उनको अनुभवमा पनि समाजले कोरोना संक्रमणलाई अझै पनि सहज रूपमा स्विकार्न सकेको छैन । भन्छिन्, ‘संक्रमणको डर सबैमा छ, तर पर्याप्त सावधानी कसैले अपनाइरहेका छैनन् । टोलटोलमा संक्रमण फैलिइसकेकाले अब एकजनाले मात्र सजग भएर पुग्दैन, सबैले जिम्मेवार हुन आवश्यक छ, तर त्यस्तो भइरहेको छैन ।’

सुरुवातका दिनमा कोरोनाबारे पर्याप्त जानकारी नहुनु, स्रोतसाधनको कमी हुनु, आत्तिनुजस्ता कारणले संक्रमण नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ । तर, पछिल्लो समय सबै जानकारी र पर्याप्त विकल्प हुँदाहुँदै पनि अवस्था नियन्त्रणभन्दा बाहिर जानुमा समाज आफैँ जिम्मेवार नहुनुको परिणाम भएको बताउँछिन् केसी । भन्छिन्, ‘अस्पतालमा संक्रमित नर्सहरूले सहकर्मी चिकित्सकहरूबाटै दुव्र्यवहार भोगिरहेका छन् । कोरोना संक्रमण निको हुन आत्मविश्वास सबैभन्दा धेरै आवश्यक छ, तर कार्यस्थल, घरपरिवार, छरछिमेकमा आत्मविश्वास घटाउने क्रियाकलाप हुनु दुःखद हो ।’ 

 त्रसित मनोविज्ञान

कोरोना संक्रमित समाजसँग डराउनुमा त्रसित मनोविज्ञानले भूमिका खेलिरहेको अनुभव सुनाउँछन्, उपचारपछि आराम गरिरहेका पत्रकार मेघराज ओली । समाजमा भाइरस संक्रमणले फैलाएको त्रास सामना गर्न नसक्दा संक्रमित बाहिर खुल्न डराइरहेको उनको बुझाइ छ ।

‘बिस्तारै संक्रमितहरू बाहिर आउँदै छन्, परीक्षणका लागि अस्पताल गइरहेका छन् । जुन महामारी नियन्त्रणका लागि आवश्यक पनि छ । तर, संक्रमितका लागि अझै पनि सहज वातावरण भने भइसकेको छैन,’ उनी भन्छन्, ‘छरछिमेकमा संक्रमण देखिनेबित्तिकै आत्तिने, डराउने हुँदा दुव्र्यवहारमा परिने डरले सजिलै बाहिर खुल्न नसकेका हुन् ।’ 

बिरामीमा आत्मविश्वास बढाउन घरपरिवार, सञ्चारमाध्यम, स्वास्थ्यकर्मीको सहयोग आवश्यक रहेको उनी बताउँछन् । यसका लागि सरकारले समाजमा कोरोनाप्रतिको मनोविज्ञान परिवर्तन गर्न र आममानिसमा आत्मविश्वास बढाउन विशेष योजना ल्याउनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय घरमै बसिरहेका अर्थात् सामाजिक सम्पर्कबाट टाढा रहेका व्यक्तिहरूमा पनि संक्रमण देखिनुले असामान्य अवस्था सिर्जना गरेको बताउँछन् ओली । भन्छन्, ‘जतिसुकै सावधानी अपनाउँदा पनि संक्रमण हुँदैन भन्ने छैन । यसर्थ, संक्रमितलाई दुर्व्यवहार  गर्नुको साटो उनीहरूको मनोबल उच्च पार्नु आवश्यक छ । समाजले कोरोना महामारीलाई स्वीकार गरेर एकअर्कालाई सहयोग गर्न सकेमा कोरोना नियन्त्रण गर्न सकिन्छ ।’