१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
२०७७ भदौ १ सोमबार ०४:०९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१५ करोडमा बनाइएको त्रिवि उपकुलपति भवन वर्षदिनमै चुहिन थाल्यो , १० करोडको रेक्टर भवन र ६६ लाखको मुख्य गेटको अवस्था पनि उस्तै

Read Time : > 3 मिनेट
तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
२०७७ भदौ १ सोमबार ०४:०९:००

काठमाडौं÷ झन्डै १५ करोड लागतमा निर्माण भएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय भवन एक वर्षमै चिरा परेर चुहिन थालेको छ । ठूलो पानी पर्दा कोठाभित्र बाल्टी थाप्नुपर्छ । वर्षदिनमै नयाँ भवनको पर्खाल र मार्बल पनि चर्किएका छन् ।

०७३ जेठपछि निर्माण थालिएको यो भवन २५ असार ०७६ मा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले उद्घाटन गरेका थिए । तर, गुणस्तर कायम नहुँदा एक वर्ष नबित्दै भवन शक्तिशाली भूकम्पले क्षतविक्षत बनाएजस्तो देखिन्छ । छतबाट पानी चुहिन्छ । बिम, पिलर र पर्खाल चर्किएर छुट्टिएका छन् । 

१९ जेठ ०७३ मा अनक÷कवीन्द्र÷सत्येश्वर जेभीले भ्याटबाहेक १४ करोड ७५ लाख ४८ हजारमा भवन निर्माणको ठेक्का पाएको थियो । २० करोड ६३ लाख लागत स्टिमेट रहेको भवन निर्माणका लागि २० फागुन ०७२ मा टेन्डर आह्वान गरिएको थियो । त्रिविले आफैँमातहतको इन्जिनियरिङ अध्ययन संस्थानको सट्टा कमिसनको खेलमा महाराजगस्थित पेस कन्सल्ट्यान्टलाई डिजाइन र कन्सल्ट्यान्टको जिम्मेवारी दिएको थियो । 

 

त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले पानी पर्दा भवनभित्र समेत बस्न नमिल्ने अवस्था रहेको बताए । ‘भर्खरै बनेको भवनमा पानी तरर चुहिन्छ र भित्रै आहाल हुन्छ । वर्षा हुँदा हलमा बैठक गर्न पनि सकिँदैन । केही समयअघि उपत्यकाका क्याम्पस प्रमुखहरूसँग बैठक गरिरहेका वेला पानी प¥यो, बैठक कोठामा तरर पानी चुहिन थाल्यो,’ उनले भने, ‘अहिले जताततै पानी रसाएको देखिन्छ, ठूलो पानी पर्दा भुइँमा जम्छ । सिलिङ, भुइँ, भित्ता केही ठीक छैनन् ।’

भवन निर्माणको टेन्डर स्वीकृत गरेका तत्कालीन उपकुलपति प्रा.डा. तीर्थ खनियाँले गुणस्तर सुनिश्चितता गर्नुपर्ने काम इन्जिनियरको भएको बताए । ‘हामी आउनुभन्दा पहिले पेस कन्सल्ट्यान्टलाई डिजाइनको जिम्मा दिइएको थियो । हामीले टेन्डर स्वीकृत गरेका हौँ,’ उनले भने । इन्जिनियरले निर्माण कार्य सम्पन्न भएको स्वीकृति दिएपछि भवन उद्घाटन गरिएको खनियाँले बताए । 

इन्जिनियरिङ अध्ययन संस्थानलाई पन्छाएर कमिसनको खेलमा निजी कम्पनीलाई कन्सल्ट्यान्टको जिम्मा दिँदा गुणस्तरहीन काम भएको आरोप त्रिविकै पदाधिकारीको छ । तर, पूर्वउपकुलपति खनियाँ भने सस्तो पर्ने भएर पेस कन्सल्ट्यान्टलाई डिजाइन र कन्सल्ट्यान्टको जिम्मा दिइएको बताउँछन् । ‘इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरलाई दिँदा तीन प्रतिशत रकम दिनुपर्ने रहेछ, सस्तो पर्ने भएपछि पेसलाई दिइएको हो,’ उनले भने ।

उपकुलपति बाँस्कोटाले आगामी दिनमा निजी कम्पनीलाई कन्सल्टेन्सीको जिम्मा नदिने निर्णय गरिएको बताए । ‘निजीलाई कन्सल्टेन्सीको जिम्मा दिएकाले पनि यति धेरै मापदण्डविपरीतका काम भएका छन् । पेस कन्सल्टेन्सीले बनाएका भवन सबै यस्तै छन् । रेक्टर अफिस पनि ठीक छैन । अब त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानलाई मात्र जिम्मा दिने निर्णय गरेका छौँ,’ उनले भने ।

भवन गुणस्तरहीन बन्ने मात्र होइन, सम्झौताअनुसार कामसमेत नभएको त्रिविका अधिकारीहरू बताउँछन् । त्रिवि कार्यकारी परिषद्ले २२ असार ०७३ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्यादेश दिएकोे थियो । सोहीअनुसार निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तर, समयमा काम सम्पन्न नभएपछि ६ महिना म्याद थप गरियो । 

निर्माण कम्पनीले भने सम्झौताभन्दा बढी काम गरेको दाबी गरेपछि अहिले विवाद भएको छ । ठेकेदार र कन्सल्ट्यान्टबीचको विवादले रकमसमेत रोकिएको छ । ठेकेदारले पहिले तोकिएभन्दा केही बढी काम गरेको दाबी गरेको छ भने ठेकेदारको दाबीअनुसार इन्जिनियरले सिफारिस गरेको छैन । यही विवादका कारण ८० लाख भुक्तानी रोकिएको त्रिवि उपकुलपति बाँस्कोटाले बताए । तर, ठेकेदार कम्पनीले भुक्तानीका लागि विद्यार्थी नेतामार्फत त्रिवि पदाधिकारीलाई दबाब दिइरहेको स्रोत बताउँछ । 

१० करोड ४२ लाखको रेक्टर कार्यालय भवन पनि उस्तै 

पेस कन्सल्ट्यान्टले उपकुलपति कार्यालय भवन मात्र होइन, शिक्षाध्यक्षको कार्यालय र त्रिविको मुख्य गेटको पनि डिजाइन र कन्सल्ट्यान्टको जिम्मेवारी पनि पाएको थियो । ती संरचना पनि गुणस्तरीय नभएको उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले बताए । 

रेक्टर कार्यालय भवन पनि निर्माण भएको एक वर्षमै पानी चुहिन थालेपछि टालटुल गरिएको छ । यो भवन निर्माणका लागि आशिष÷किरातेश्वर जेभीले भ्याटबाहेक १० करोड ४२ लाख ७२ हजार दुई सय १६ रुपैयाँमा ठेक्का पाएकोे थियो । १८ चैत ०७४ मा निर्माण सकेर त्रिविलाई हस्तान्तरण गरिएको भवन थियो । 

निवर्तमान रेक्टर प्रा.डा. सुधा त्रिपाठीले गुणस्तर र डिजाइन कुनै पनि हिसाबले भवन काम लाग्ने नबनेको बताइन् । ‘म रेक्टर हुँदा नै म बस्ने कोठामै पानी रसाएको थियो, छत चुहिने थियो, एकपटक टालटुलको काम पनि भयो,’ त्रिपाठीले भनिन्, ‘कोठाहरू पनि आधा अँध्यारा छन्, हावा पनि आउँदैन ।’ आफूले कार्यकारी परिषद्को बैठकमै कन्सल्टेन्सी परिवर्तन गरौँ भनेर पटकपटक प्रस्ताव गरे पनि सहमति नभएको उनको भनाइ छ । 

६६ लाखको मुख्य गेट पनि चुहिन थाल्यो

त्रिवि परिसर कीर्तिपुर छिर्ने मुख्य गेट पनि दुवै किनारबाट चुहिन थालेको छ । गेट निर्माण गर्न १४ भदौ ०७३ मा पचली भैरव एन्ड मनकामना निर्माण सेवालाई भ्याटबाहेक ६६ लाख ५० हजार आठ सय ५४ मा ठेक्का दिइएको थियो । यसलाई पनि पेस कन्सल्ट्यान्टले सुपरभिजन गरेको थियो । तीन महिनामा निर्माण सक्ने सम्झौता थियो । 

त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटा भन्छन्– भर्खरै बनेको भवनमा पानी तरर चुहिन्छ

नयाँ बनाइएको उपकुलपति कार्यालय भवन जर्जर भइसक्यो । भर्खरै बनेको भवनमा पानी तरर चुहिन्छ र भित्रै आहाल हुन्छ । वर्षा हुँदा हलमा बैठक गर्न पनि सकिँदैन । केही समयअघि उपत्यकाका क्याम्पस प्रमुखहरूसँग बैठक गरिरहेका वेला पानी प¥यो, बैठक कोठामा तरर चुहिन थाल्यो । अहिले जताततै पानी रसाएको देखिन्छ, ठूलो पानी पर्दा भुइँमा जम्छ । सिलिङ, भुइँ, भित्ता केही ठीक छैन । त्यसैले ठेकेदारलाई दिन बाँकी ८० लाखजति हामीले रोकेका छौँ । 

निजीलाई कन्सल्टेन्सीको जिम्मा दिएकाले पनि यति धेरै मापदण्डविपरीतका काम भएका छन् । पेस कन्सल्टेन्सीले बनाएका भवन सबै यस्तै छन् । रेक्टर अफिस पनि ठीक छैन । अब त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानलाई नै जिम्मा दिने निर्णय गरेका छौँ ।