मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ १ सोमबार ०४:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना संकटमा खटेबापत जनप्रतिनिधिलाई १२ लाख

Read Time : > 1 मिनेट
२०७७ भदौ १ सोमबार ०४:०५:००

जिल्लाको औरही गाउँपालिकाका जनप्रतिनिधिले कोभिड– १९ संकटमा खटेबापत ११ लाख ९६ हजार रुपैयाँ भत्ता लिएका छन् । 

गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका छ । सभा सदस्यहरूलाई जनही १७ हजार, कार्यपालिका सदस्यहरूलाई २५ हजार, वडाध्यक्षहरूलाई ५० हजार, उपाध्यक्षलाई ८५ हजार र अध्यक्षलाई करिब एक लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै, स्वास्थ्यकर्मीहरूलाई आठ लाख र गाउँपालिका कर्मचारीलाई दुई लाख ९४ हजार रुपैयाँ बाँडिएको छ । गाउँपालिकाले कार्यविधि बनाएर जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए ।

सिराहा नगरपालिकाले तन्ना र सिरक खरिदमा गरेको खर्चबारे चर्चा सेलाउन नपाउँदै औरही गाउँपालिकामा जनप्रतिनिधिलाई भत्ता वितरण गरिएको सार्वजनिक भएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार औरही गाउँपालिकाको खर्च विवरण सार्वजनिक गरेको थियो ।

  

 

कोरोना नियन्त्रण रोकथाम जिल्लास्तरीय समितिले बिहीबार सबै स्थानीय तहलाई कोभिड– १९ मा भएको खर्च विवरण शीर्षकसहित सार्वजनिक गर्न निर्देशन दिएको छ । जिल्लाका १७ स्थानीय तहमध्ये नौवटा गाउँपालिका छन् । कोभिड– १९ रोकथाम अभियानमा गाउँपालिकामध्ये औरहीले सबैभन्दा बढी दुई करोड २० लाख ८० हजार नौ सय २९ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाको खर्च विवरणमा ‘कोरोना नियन्त्रण गर्न झुल वितरण’ शीर्षक छ । गाउँपालिकाका सबै घरधुरीलाई झुल वितरण गर्न उक्त रकम खर्च भएको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष ०७६-७७ मा विपत् व्यवस्थापन कोषबाट गरिएको खर्चमा झुल खरिद रकम दोस्रो स्थानमा छ । पहिलो स्थानमा राहत वितरणको खर्च छ, जसबापत ८३ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ खर्च भएको छ । खरिद गरिएका झुल अहिले गाउँपालिकाको स्टोरमा राखिएको छ ।

यसैबीच, कोभिड– १९ रोकथाममा उक्त गाउँपालिकाले अत्यधिक खर्च देखाएको बताउँदै अख्तियारले छानबिन थालेको छ । अख्तियारको टोलीले गाउँपालिकाले गरेको खर्चको बिल, भर्पाइलगायत कागजात नियन्त्रणमा लिएको छ । टोलीले गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव, उपाध्यक्ष सीता यादवलगायतसँग सोधपुछ पनि गरेको छ ।

भ्रष्टाचार भएको बताउँदै युवाको प्रदर्शन

कोभिड–१९ रोकथामको नाममा औरही गाउँपालिकाले अनियमितता गरेको बताउँदै स्थानीय युवाले प्रदर्शन गरेका छन् । खर्च विवरण शीर्षकसहित उपलब्ध गराउन माग गर्र्दै सूचनाको हक प्रयोग गरी निवेदन दर्ता गराइएको स्थानीय दीपेन्द्र यादवले बताए । ‘कोभिड–१९ नियन्त्रणको नाममा व्यापक भ्रष्टाचार भएको छ,’ यादवले भने । गाउँपालिकाले खर्च विवरण शीर्षकसहित उपलब्ध नगराएकाले कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।