१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ३२ आइतबार २०:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माग सम्बोधन नभए ११ भदौदेखि अनशन बस्ने डा. केसीको चेतावनी 

Read Time : > 1 मिनेट
२०७७ श्रावण ३२ आइतबार २०:४१:००

डा. गोविन्द केसीले आगामी ११ भदौदेखि अनशन बस्ने चेतावनी दिएका छन् । ११ साउनमा तीनबुँदे मागसहित तीन साताको अल्टिमेटम दिएका डा. केसीले सरकारले आफूले राखेका माग बेवास्ता गरेको भन्दै अनशनको चेतावनी दिएका हुन् । 

डा. केसी चिकित्सा शिक्षाको सुधारको माग गर्दै दुई वर्षअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १६औँ पटकको अनशन बसेका थिए । उनले भने, ‘सरकारलाई अझै यसअघि भएका सम्झौता र पेस गरेको मागबारे अध्ययन गर्न डेढ साताको अल्टिमेटम दिन्छु ।’ १० भदौभित्र सरकारले माग सम्बोधन नगरे ११ भदौबाट सत्याग्रह सुरु गर्ने उनको भनाइ छ ।

यी हुन् डा. केसीका माग
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस सञ्चालन गर्नुपर्ने, १ साउन ०७५ मा सरकारसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययनमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित बजेट व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्नुपर्नेसहितका माग राखेर ११ भदौबाट पुनः अनशन बस्ने उनले बताए । 

डा. केसीद्वारा आइतबार उद्योग वाणिज्य संघ जुम्लाको हलमा आयोजित पत्रकार सम्मेलनमा नेकपाको सरकारले दुर्गमको स्वास्थ्य क्षेत्रको विकास र समृद्धिका लागि १८औँ पटकसम्म बसेको अनशनलाई समर्थनभन्दा सम्झौता उल्लंघन गरेको आरोप लगाए ।  

कर्णालीमा एमबिबिएस सञ्चालन निर्णय गर्न सरकारलाई एक घन्टा पनि लाग्दैन । तर, दुई वर्ष पहिले गरिएको सम्झौता कार्यान्वयन गर्न तथा अनुमतिका लागि निर्णय गर्न प्रधानमन्त्रीले नै नमानेको उनको भनाइ छ । काठमाडाैंमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णालीजस्ता दुर्गमका प्रतिष्ठानहरू असफल पार्ने पक्षमा सत्ताधारी दलकै नेताहरू लागिरहेको डा. केसीको दाबी छ । देशमा भइरहेको शैक्षिक माफिया र स्वास्थ्य क्षेत्रको सुधार तथा दुर्गममा उच्च शिक्षा पठनपाठनका लागि एक डाक्टर तथा प्राध्यापक हुनुको नाताले अनशनको विकल्प नरहेकोसमेत उनको भनाइ छ ।