१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गाउँपालिकाकाे स्टाेरमा राखिएकाे झुल
२०७७ श्रावण ३२ आइतबार १२:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना नियन्त्रण गर्न ५४ लाखको झुल खरिद 

Read Time : > 1 मिनेट
२०७७ श्रावण ३२ आइतबार १२:५४:००

सिराहाको औरही गाउँपालिकाले कोभिड– १९ नियन्त्रण र रोकथामका लागि ५४ लाखको झुल खरिद गरेको खुलेकाे छ ।

गाउँपालिकाले सार्वजनिक गरेकाे खर्च विवरणमा ‘कोरोना नियन्त्रण गर्न झुल वितरण’ शीर्षकमा ५४ लाख खर्च भएकाे उल्लेख छ।

काेराेना राेकथाम तथा नियन्त्रणमा गाउँपालिकाले दुई करोड २० लाख ८० हजार नौ सय २९ रुपैयाँ  खर्च गरेकाे थियाे ।  

आर्थिक वर्ष २०७६–०७७ मा विपत् व्यवस्थापन कोषबाट गरिएको खर्चमा राहत वितरणपछि झुल खरिदमा सबैभन्दा बढी खर्च भएको देखिन्छ । 

राहत वितरणमा ८३ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ खर्च भएको छ । गाउँपालिकाका सम्पूर्ण घरधुरी परिवारलाई झुल वितरण गर्न ५३ लाख ६९ हजार एकसय ९५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।  

कोरोना रोकथामका लागि झुल खरिद र वितरण गर्न गाउँपालिकाले गरेको खर्च अहिले जिल्लाभरि चर्चाको विषय बनेको छ । खरिद गरिएका झुल पनि अहिले पनि गाउँपालिकाको स्टोरमा थन्किएको छ ।

औरही गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले कोभिड नियन्त्रण गर्न झुल खरिद गरिएको स्विकारे । ‘६५ सय थान झुल खरिद गरेका छौँ,’ साहले भने, ‘केही दिनमा वितरण हुन्छ ।’

अधिकृत साहले झुल खरिदबारे आफूलाई थाहा नभएको बताए । मापदण्ड बनाएर सबै घरधुरीलाई वितरण गरिने उनले जानकारी दिए । 

जिल्लास्तरीय कोभिड– १९ नियन्त्रण रोकथाम गर्न बनेको सिसिएमसीको बिहीबार बसेको बैठकले कोभिड– १९ नियन्त्रण, रोकथाममा भएको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । निर्देशनपछि औरही गाउँपालिकाले शुक्रबार खर्च विवरण सार्वजनिक गरेको हो । 

स्वास्थ्यकर्मीभन्दा जनप्रतिनिधिको भत्ता बढी 
कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले भन्दा जनप्रतिनिधिले यो अवधिमा बढी भत्ता बुझेका छन् ।

कोरोना नियन्त्रण, रोकथाममा खटिएको भन्दै जनप्रतिनिधिलाई जोखिम भत्ता दिइएको हो । गाउँपालिकाले कोभिड– १९ मा काम गरेको भन्दै स्वास्थ्यकर्मीलाई आठ लाख दुई हजार सात सय २३ रुपैयाँ वितरण गरेको छ । 

गाउँपालिकाका अन्य कर्मचारीलाई दुई लाख ९४ हजार चार सय वितरण गरेको छ । तर, गाउँपालिकाका जनप्रतिनिधिलाई भने ११ लाख ९६ हजार ६ सय भत्ता वितरण गरेको सार्वजनिक विवरणमा उल्लेख छ । औरही गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका रहेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत साहले बताए ।

भ्रष्टाचार भएको भन्दै युवाहरूको प्रदर्शन
कोभिड– १९ नियन्त्रण, रोकथामको नाउँमा औरही गाउँपालिकाले अनियमितता गरेको भन्दै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् । 

शीर्षकअनुसार खर्चको सम्पूर्ण विवरण उपलब्ध गराउन माग राख्दै सूचनाको हक प्रयोग गरी निवेदन दर्ता गराएको स्थानीय दीपेन्द्र यादवले बताए । ‘कोभिड–१९ नियन्त्रणको नाउँमा व्यापक भ्रष्टाचार भएको छ,’ यादवले भने ।