मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
कार्ल जिमर
२०७७ श्रावण ३२ आइतबार ०५:५०:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

रसियाको भ्याक्सिनबारे विज्ञहरूको चिन्ता

Read Time : > 4 मिनेट
कार्ल जिमर
२०७७ श्रावण ३२ आइतबार ०५:५०:००

गत मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनले जब ठूलो संख्याको ‘क्लिनिकल’ परीक्षणको कुनै प्रमाणविना कोभिड–१९ विरुद्धको भ्याक्सिनलाई मान्यता दिएको घोषणा गरे, भ्याक्सिन विज्ञहरू चिन्तित देखिए । ‘मेरो विचारमा यो साँच्चिकै डरलाग्दो कुरा हो । यो उत्तिकै जोखिमपूर्ण पनि छ,’ जोन्स हप्किन्सन विश्वविद्यालयअन्तर्गत भ्याक्सिन सुरक्षा संस्थानका निर्देशक डानिइल सल्मोन भन्छन् ।

डा. सल्मोन र अन्य विज्ञहरूले भ्याक्सिनको सुरक्षासम्बन्धी धेरै जानकारी दिने तेस्रो चरणको परीक्षण नै नगरी भ्याक्सिनलाई मान्यता दिएर रसियाले खतरापूर्ण कदम चालेको भन्दै आलोचना गरेका छन् । भ्याक्सिन औषधिभन्दा फरक हुन्छ । औषधि भएकालाई दिइन्छ भने भ्याक्सिन ठूलो संख्यामा स्वस्थ व्यक्तिहरूलाई दिइन्छ । त्यसैले भ्याक्सिन तयार पारिँदा सुरक्षाको उच्चतम मापदण्ड पूरा गरेको हुनुपर्छ । लाखौँ, हजारौँ व्यक्तिहरूले एकैपटक भ्याक्सिन लिँदा बिरलै देखिने ‘साइड इफेक्ट’ले पनि समस्यामा पार्न सक्छ ।

पछिल्लो एक सय वर्षको अवधिमा अनुसन्धानकर्ताहरूले भ्याक्सिनको प्रयोग गर्नु सुरक्षित छ–छैन र यसको प्रभावकारिताको परीक्षण गर्ने प्रशस्तै उपाय सिर्जना गरेका छन् । त्यसमध्ये केही सिकाइ यस्ता तीता अनुभवबाट पनि भएका छन्, जतिवेला यस्ता भ्याक्सिनले केही क्षति पुर्‍याएका छन् । तर, पछिल्लो समय भ्याक्सिनलाई विश्वमै सबैभन्दा सुरक्षित मेडिकल उत्पादन मानिन्छ । तर, त्यसका लागि कठिन क्लिनिकल मानव परीक्षणबाट यसको सुरक्षा र प्रभावकारिता पत्ता लागेको हुनुपर्दछ ।

यी परीक्षण कुनै व्यक्तिले भ्याक्सिन लिनुपहिले नै सुरु हुन्छ, जतिवेला अनुसन्धानकर्ताहरूले भ्याक्सिनको कस्तो प्रतिक्रिया देखाउला भनी हेर्न मुसा वा बाँदरमा प्रयोग गर्छन् । यदि जनावरमा गरिएका यी परीक्षण सफल देखिए, अनुसन्धानकर्ताहरूले पहिलो चरणको परीक्षणका लागि केही स्वयंसेवीहरूको सूची तयार पार्नेछन् । छनोट भएका स्वयंसेवीलाई परीक्षणका लागि भ्याक्सिन दिइन्छ ।

डाक्टरहरूले ती स्वयंसेवीलाई भ्याक्सिनले कुनै नकारात्मक असर गर्छ कि भन्ने उद्देश्यले आफ्नो निगरानीमा राखेका हुन्छन् । त्यतिवेलै भ्याक्सिनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ कि बढाउँदैन भनेर पनि हेर्ने गरिन्छ । यस्ता भ्याक्सिनको डोज लिँदा मसल्समा दुखाई महसुस हुनु र कतिपय अवस्थामा सामान्य ज्वरो आउनु कुनै अनौठो कुरा होइन । तर, भ्याक्सिनका कारण भएका त्यस्ता समस्या लामो समय रहँदैनन् ।

यदि पहिलो चरणको परीक्षणमा मानिसको सुरक्षाको विषयलाई लिएर कुनै गम्भीर प्रकृतिको समस्या देखिएन भने अनुसन्धानकर्ताहरू दोस्रो चरणको परीक्षणका लागि अघि बढ्छन् । दोस्रो चरणको परीक्षणमा उनीहरूले सयौँ मान्छेहरूलाई सहभागी गराउँछन् र अरू थप विषयका लागि निरीक्षण गर्छन् । कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो क्लिनिकल परीक्षण गत मार्चमा गरिएको थियो । 

अहिले यस्ता २९ भ्याक्सिन परीक्षणको चरणमा छन् । त्यसमध्ये धेरै त चाँडै बजारमा आउन सक्ने अवस्थामा छन् । अस्त्रजेनेका, मोडर्ना, नोभाभाक्स र पिफिजरजस्ता कम्पनीहरूले चाँडै केही आशावादी नतिजाहरू प्रकाशित गर्न थालेका छन् । उनीहरूले परीक्षण गरिरहेको भ्याक्सिनमा अहिलेसम्म कुनै गम्भीरखालको साइड इफेक्ट देखिएको छैन । सामान्यखालका समस्या मात्रै देखिएका छन् । परीक्षणका क्रममा भ्याक्सिन लिएका स्वयंसेवीको शरीरमा कारोनाभाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढेको पनि देखिएको छ । तर, यी भ्याक्सिन सबै सफल हुन्छन् भन्ने छैन । तेस्रो चरणको परीक्षणमा यी भ्याक्सिन असफल हुन पनि सक्छन् ।

रसियाले जुन अवधिभित्र भ्याक्सिन तयार पारेको घोषणा गरेको छ, त्यो अपत्यारिलो छ । फ्लोरिडा विश्वविद्यालयका बायोस्टाटिस्टिसियन तथा संक्रामक रोग विज्ञ नाटाली डिन भन्छिन्, ‘उनीहरूसँग यो भ्याक्सिनको प्रभावकारिताबारे पर्याप्त आँकडा छैन ।’ उनले भ्याक्सिनको प्रमाणीकरणका लागि रसियाले हतार गरेको आरोप पनि लगाएकी छिन् । अघिल्लो परीक्षणमा राम्रो नतिजा दिएका भ्याक्सिनहरू पनि अन्तिम चरणको परीक्षणमा असफल भएको देखेको उनी बताउँछिन् ।

कुनै छनोटविना गरिएका परीक्षणमा अनुसन्धानकर्ताहरूले दशौँ हजार व्यक्तिलाई भ्याक्सिन दिन्छन् र उनीहरूलाई भाइरस संक्रमणका लागि हेरिन्छ । ‘त्यसपछि तपाईँ हेर्नका लागि कुर्नुहुन्छ । के उनीहरू बिरामी हुन्छन् वा हुँदैनन् । के तिनीहरू मर्छन् वा मर्दैनन् ?’ ग्लोबल हेल्थका लागि कार्यदलका भ्याक्सिन विज्ञ डा.स्टेभेन ब्ल्याक भन्छन्, ‘यदि भ्याक्सिन प्रभावकारी देखियो भने भ्याक्सिन लिएका थोरैमध्ये स्वयंसेवी बिरामी हुन्छन् ।’

रसियाली अनुसन्धानकर्ताले यो महत्वपूर्ण चरणको परीक्षण नै गरेका छैनन् । गत जुनमा रसियन फेडेरेसनको स्वास्थ्य मन्त्रालयअन्तर्गत गमलेया अनुसन्धान संस्थाने गाम–कोभिड–भ्याक ल्यो नाम दिइएको भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षण दर्ता गराएको छ । त्यसमा उनीहरूले ३८ जना स्वयंसेवीमा त्यो भ्याक्सिन परीक्षण गर्ने योजना गरेका थिए ।

उनीहरूले यो भ्याक्सिन ‘एडेनोभाइरस’बाट बनाइएको जनाएका थिए । एडेनोभाइरस चिसोखाले भाइरस हो, जुन कम हानिकारक हुन्छन् । यसमा कोरोनाभाइरसकै ‘जिन’ हुन्छ । अस्त्रजेनेका र जोहन्सन कम्पनीले पनि यही भाइरस प्रयोग गरेर भ्याक्सिन निर्माण गरिरहेका छन् । यो प्रविधि अझै पनि नयाँ छ । एडेनोभाइरस भ्याक्सिन यसअघि गत जुनमा इबोलाविरुद्ध पनि प्रयोग गर्न अनुमति दिइएको थियो ।

त्यतिवेलैदेखि रसियाली अधिकारीहरूले चाँडै भ्याक्सिन उत्पादनमा अघि बढ्ने घोषणा गरेका थिए । गत मंगलबार राष्ट्रपति पुटिनको अभिव्यक्तिले यो कुरालाई आधिकारिक पुष्टि गरेको छ । यद्यपि, भ्याक्सिन निर्माण गरिरहेको गमलेया संस्थानले पहिलो र दोस्रो परीक्षणको नतिजा अझै सार्वजनिक गरेका छैनन् ।

राष्ट्रपति पुटिनको घोषणापछि स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले घोषणा गरेका छन्, ‘भ्याक्सिन लिएका सबै स्वयंसेवीमा कोभिड–१९ विरुद्ध रोगप्रतिरोधात्मक क्षमता बढाएको छ । उनीहरूमध्ये कसैमा पनि त्यस्तो गम्भीरखालको समस्या देखिएको छैन ।’ यो त्यही नतिजा हो, जुन पहिलो चरणको परीक्षणबाट अपेक्षा गर्न सकिन्छ । तर, यसको मतलब भ्याक्सिन सफल नै हुन्छ भन्ने होइन । ‘यो सबै बेवकुफीभन्दा अझ परको कुरा हो,’ न्युयोर्कस्थित वेइल कोर्नेल मेडिकल कलेजका भाइरसविज्ञ भन्छन्, ‘पुटिनसँग भ्याक्सिन नै छैन, उनी मात्रै राजनीतिक अभिव्यक्ति दिइरहेका छन् ।’

गत मंगलबार रसियाको स्वास्थ्य मन्त्रालयले तेस्रो चरणको परीक्षण दोस्रो दिनबाट सुरु गर्ने आफ्नो वेबसाइटमै उल्लेख गरेको थियो, जसमा रसियासँगै संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, ब्राजिल र मेक्सिकोमा गरी दुई हजारभन्दा बढी सहभागी हुने जनाइएको छ । तर, हाल तेस्रो चरणको परीक्षणमा रहेका अन्य सबै भ्याक्सिनमा यसको भन्दा दश गुणा बढी स्वयंसेवी सहभागी छन् । अरू भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा कम्तीमा ३० हजार स्वयंसेवीहरू सहभागी छन् । महामारीविरुद्ध तयारी र आविष्कारसम्बन्धी अमेरिकी गठबन्धनका सल्लाहकार डा. निकोल लुरिई कम्तीमा अमेरिकाले रसियाको यो कार्यशैलीबाट सिक्नुपर्ने बताउँछन् । ‘यो यही अवस्था हो, जुन अमेरिकाले आफ्नो देशमा आउन दिनुहुन्न,’ उनी भन्छन् ।

लामो प्रक्रिया
तेस्रो चरणको परीक्षणले अझै धेरै कुरा दिन सक्छ, जुन अघिल्लो दुई चरणको परीक्षणले दिन सकेको छैन । भ्याक्सिन प्रयोग गर्दा हुने निश्चित ‘साइड इफेक्ट’ तेस्रो चरणको परीक्षणमै थाहा लाग्छन् । यदि कोही भ्याक्सिन लगाएपछि बिरामी हुन्छ र मर्छ भने त्यसमा भ्याक्सिनकै मात्रै दोष हुँदैन । यद्यपि, ठूलो संख्यामा गरिएको परीक्षणमा उनीहरूमा देखिएको असरबाट त्यसबारे धेरै कुराको जानकारी लिन सकिन्छ । भ्याक्सिन लिएका स्वयंसेवीहरूमा अनुसन्धानकर्ताहरूले थप अनुसन्धान गर्न सक्छन् ।

भ्याक्सिन निर्माताहरूले यही नतिजा अरू आधिकारिक निकायहरूमा पुर्‍याउँछन् । अनुसन्धानसम्बन्धी विभिन्न प्रकाशनमा प्रकाशित गर्छन् । यसबारे बाहिर रहेका अरू विज्ञले पनि अनुसन्धान गर्छन् । उनीहरूले आफूले पाएको नतिजा पनि बाँड्छन् । त्यसले सम्बन्धित निकायलाई भ्याक्सिन पारित गर्ने नगर्नेबारे निर्णय गर्न पनि सहज हुनेछ । ‘यो अवस्था मसँग राम्रो उत्पादन छ भन्नका लागि पर्याप्त छैन,’ डा. सल्मोन भन्छन्, ‘तपाईंले प्रयोग गर्नुअघि अरूले पनि त्यसको परीक्षणको नतिजा हेर्नुपर्छ । र, त्यसले कुनै जोखिमभन्दा पनि फाइदा दिन्छ भन्ने कुरामा ढुक्क भएको अवस्था हुनुपर्छ ।’

भ्याक्सिन प्रमाणित भएर प्रयोगमा गइसक्दासमेत अनुसन्धानकर्ताहरूले अझै भ्याक्सिन प्रयोग गर्नु सुरक्षित छ कि छैन भनेर हेरिरहेका हुन्छन् । विश्वभरि करोडौँ व्यक्तिले भ्याक्सिनको प्रयोग गर्दा कुनै न कुनै समस्या देखिन सक्छ । भ्याक्सिन कुनै उमेर समूहका व्यक्तिहरू, जस्तै बालबालिका वा वृद्धवृद्धाहरूका लागि उपयुक्त नहुन पनि सक्छ । भ्याक्सिन वितरकले यसबारेमा निर्णय गर्न सक्छ । यसमा मात्र (डोज) बढी वा घटी गरेर प्रयोग गर्दा पनि भ्याक्सिनबाट हुने साइड इफेक्टबाट बच्न सकिन्छ । 

गत जुलाईमा तेलअभिभ विश्वविद्यालयका अनुसन्धानकर्ताको एउटा टोलीले पछिल्लो २० वर्षदेखि अमेरिका वितरणका लागि लाइसेन्स दिइएका भ्याक्सिनबारे पुनः अनुसन्धान गरेका थिए । अनुसन्धानपछि उनीहरूले ती सबै भ्याक्सिन सुरक्षित रहेको रिपोर्ट दिएका थिए । प्रयोगकर्ताकै सुरक्षालाई ध्यान दिँदा भ्याक्सिन उत्पादन गर्ने काम ढिला भएको पाइएको छ । 

न्युयोर्क टाइम्स