१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ श्रावण ३१ शनिबार २१:२६:००
Read Time : > 1 मिनेट
खेलकुद

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ श्रावण ३१ शनिबार २१:२६:००

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । करिब पाँच महिनादेखि कोभिड– १९ महामारीले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अवरोध पुऱ्याइरहेको वेला धोनीले आफ्नो १६ वर्षे अन्तर्राष्ट्रिय खेलजीवन अन्त्य गरेको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट ६ वर्षअघि (सन् २०१४) नै बिदा लिएका धोनीले एकदिवसीय र टी–२० बाट पनि सन्न्यासको घोषणा गरेका हुन् । उनी घरेलु क्रिकेटमा भने निरन्तर रहने अपेक्षा गरिएको छ । ३९ वर्षीय धोनीले शनिबार साँझ इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् ।

उनले भारतीय राष्ट्रिय टोलीबाट खेल्दाको तसबिरको ‘स्लाइड स’ सहित सन्न्यासको घोषणा गरेका हुन् । उनले क्याप्सनमा लेखेका छन्, ‘धन्यवाद, तपाईंहरूको माया र समर्थनका लागि धेरै धन्यवाद । आजबाट मैले सन्न्यास लिएको सम्झनुहोला ।’ भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले समेत धोनीको सन्न्यासको पुष्टि गरेको छ ।
धोनी नेतृत्व र सफलताको दृष्टिकोणले भारतको सर्वाधिक सफल कप्तान हुन् । भारतीय राष्ट्रिय टोलीको नेतृत्व गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को तीन ठूला प्रतियोगिताको उपाधि जितेका छन् । यो सफलता हात पार्ने उनी एक्ला भारतीय कप्तान हुन् ।

उनले कप्तानको हैसियतमा भारतलाई ५० ओभरको एकदिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका छन् । उनले आफ्नै नेतृत्वमा भारतलाई आइसिसीको टेस्ट वरीयताको शीर्ष स्थानमा समेत पुऱ्याएका थिए ।

धोनीको कप्तानीमा भारतले सन् २००७ मा भएको पहिलो संस्करणको टी–२० विश्वकपको उपाधि जितेको थियो । सन् २०११ मा उनले भारतलाई आफ्नै नेतृत्वमा एकदिवसीय क्रिकेट विश्वकपको उपाधि दिलाए । त्यसको दुई वर्षपछि इंग्ल्यान्डमा भएको आइसिसी च्याम्पियन्स ट्रफी पनि दिलाए । 

धोनीलाई सीमित ओभरको क्रिकेटमा उत्कृष्ट ‘फिनिसर’ र तीक्ष्ण दिमाग भएका खेलाडीको रूपमा लिइन्छ । धोनीले भारतीय राष्ट्रिय टोलीबाट ३५० एकदिवसीय खेल खेलेका छन्, जसमध्ये तीन खेल एसिया ११ बाट खेलेका छन् । यस्तै, ९८ टी–२० खेल खेलेका छन् । 

उनले एकदिवसीयतर्फ ५०/५७ को औसतमा १० हजार सात सय ७३ रन जोडेका छन् । त्यसमा १० शतक समावेश छन् । टी–२० तर्फ भने एक हजार ६ सय १७ रन प्रहार गरेका छन् । उनले सन् २०१७ मा भारतको एकदिवसीय र टी–२० दुवैतर्फको कप्तानी त्यागेका थिए । कप्तानी त्यागे पनि उनी सीमित ओभरको क्रिकेटमा गत वर्ष इंग्ल्यान्डमा भएको एकदिवसीय क्रिकेट विश्वकपसम्म पहिलो रोजाइका विकेटकिपरको रूपमा भारतीय टोलीमा सहभागी भइरहे । 

राँचीमा जन्मिएका धोनीले सन् २००४ मा भारतीय टोलीमा डेब्यु गरेका थिए । बंगलादेशमै भएको घरेलु टोलीविरुद्धको एकदिवसीय शृंखलामा उनी पहिलोपटक भारतीय टोलीमा सहभागी भएका थिए । राष्ट्रिय टोलीबाट मात्रै पाँचौँ एकदिवसीय खेलमा उनले पाकिस्तानविरुद्ध आफ्नो पहिलो शतक (१४८) प्रहार गरेका थिए ।

धोनीसँगै अर्का भारतीय खेलाडी अलराउन्डर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले सन्न्यास घोषणा गरेको केही समयपछि नै रैनाले पनि इन्स्टाग्रामबाटै सन्न्यासको घोषणा गरेका हुन् । ‘सँगै क्रिकेट खेल्न पाउनु साँच्चिकै रमाइलो क्षण थियो,’ रैनाले भनेका छन्, ‘मनमा धेरै गर्वका साथ यो यात्रामा म पनि सँगै हुन चाहन्छु ।’