मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ३१ शनिबार १७:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लिदी पहिरो : प्रदेश सरकारले घर बनाइदिने, बस्ती स्थानान्तरण तत्काल सुरु हुने

Read Time : > 1 मिनेट
२०७७ श्रावण ३१ शनिबार १७:५४:००

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीका पहिरोपीडितका लागि बागमती प्रदेश सरकारले घर बनाइदिने भएको छ । पहिरो गएको स्थल निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक पुगेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घर बनाइदिने प्रतिबद्धता जनाएका हुन् ।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकास न्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रतिनिधिसभा सांसद शेरबहादुर तमाङ, बागमती प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति सरेश नेपाललगायतको टोली लिदी पुगेको थियो । 

तत्कालका लागि अस्थायी आवासको व्यवस्था गरिदिने र वर्षायाम सकिएलगत्तै घर बनाइदिने मुख्यमन्त्री पौडेलले बताए । हाल बस्ने वास र खानासँगै कपडासमेत अभाव भएका पीडितका लागि तत्काल सबै उपलब्ध गराउन तयार रहेको उनले बताए । प्रदेश सरकारले यसअघि पनि सिन्धुपाल्चोककै बाढी पहिरोपीडितका लागि घर बनाइदिने भन्दै गाउँपालिकामार्फत रकम उपलब्ध गराएको थियो । 

यसअघि जोखिममा रहेका बस्तीलाई संघीय सरकारले जग्गा उपलब्ध गराएसँगै एकीकृत बस्ती बसाउने निर्णय गरेको र सोहीअनुसार लिदीका पीडितहरूको पनि नयाँ बस्ती बन्ने सामाजिक विकासमन्त्री दुलालले बताए । उनले भूमि आयोगसमेत गठन भइसकेको अवस्थामा असुरक्षित रूपमा बसोवास गरिरहेकाहरूलाई जग्गा खोजेर स्थानान्तरण गरिने बताए ।

स्थानीयको मागअनुसार तत्काल बस्ती स्थानान्तरण गरिने
मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरिने आश्वासन दिलाएका छन् । लिदी बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी तत्काल प्रक्रिया अघि बढाउने उनको भनाइ छ । ‘सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको विकल्प छैन,’ मुख्यमन्त्री पौडेलले भने, ‘हामी स्थानान्तरण मात्र हाेइन, प्रदेश सरकारले जीविकोपार्जन गर्न रोजगारीसमेत सिर्जना गरिदिनेछ ।’ 

अत्यावश्यक सामग्री सहयोग
पहिरोपीडितका लागि प्रदेश सरकारले राहतसहित अत्यावश्यक सामग्री सहयोग गरेको छ । खानेपानीको पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्यान्न सहयोग गरिएको हो । 

हाल लिदीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले उद्धार जारी राखेको अवस्थामा थप सहयोगका लागि नेपाली सेनाको एक टुकडी हेलिकाेप्टरमार्फत पठाइएको छ । पहिरोका कारण लिदीका एक सय ७२ घरधुरीमध्ये ३६ घर पूर्ण रूपमा क्षति भएको छ । हालसम्म १६ जनाको शव फेला परेकाे छ भने २३ जना अझै बेपत्ता छन् ।