१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७५ माघ १८ शुक्रबार ११:१५:००
Read Time : > 1 मिनेट
खेलकुद

बार्सिलोनाको आधा दर्जन गोल

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ माघ १८ शुक्रबार ११:१५:००

बार्सिलोनाले कोपा डेल रे फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल लेगमा सेभिल्लालाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको छ । पहिलो लेगमा सेभिल्लाले बार्सिलोनालाई २–० ले हराएको थियो । बार्सिलोनाले सेमिफाइनल पुग्नका लागि कम्तीमा ३–० को जित निकाल्नुपर्ने थियो । तर, बार्सिलोनाले सेभिल्लाको पोस्टमा आधा दर्जन गोल गरी समग्रमा ६–३ को जित निकाली अन्तिम चार स्थान पक्का गरेको हो । 

घरेलु मैदानमा काउटिन्हो चम्किए
घरेलु मैदान न्याउ क्याम्पमा बार्सिलोनाका लागि ब्राजिलियन युवा खेलाडी फिलिप काउटिन्हो चम्किए । उनले सेभिल्लाविरुद्ध २ गोल गरे । यसैगरी कप्तान लियोनल मेसी, लुइस सुआरेज, सर्गी रोबर्टो तथा इभान राकिटिकले समान १ गोल गर्दा सेभिल्ला फराकिलो अन्तरले पराजित भयो । सेभिल्लाका लागि १ गोल अरनाले फर्काए । 

सेभिल्लाद्वारा पेनाल्टी मिस
दोस्रो लेगको पहिलो हाफमा बार्सिलोना र सेभिल्लाले समान एक–एक पेनाल्टी प्रहारको अवसर पाए । बार्सिलोनाले पेनाल्टी गोलबाट अग्रता लिँदा सेभिल्लाले पेनाल्टी मिस गर्दै बराबरीको अवसर गुमायो । बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दा खेलको १३औँ मिनेटमै पेनाल्टीको अवसर पायो । काउटिन्होले गल्ती नगरी बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको २७औँ मिनेटमा इभर बेनेगाले असफल पेनाल्टी प्रहार गर्दा सेभिल्लाले खेल बराबरी गर्ने अवसर गुमाएको हो । खेलको ३१औँ मिनेटमा राकिटिकले बार्सिलोनालाई २–० को स्थितिमा पुर्‍याए । 

दोस्रो हाफमा ४ गोल
बार्सिलोना पहिलोभन्दा दोस्रो हाफमा उत्कृष्ट देखियो । यस समयमा बार्सिलोनाले सेभिल्लामाथि चर्को दबाब राखेको थियो । जसका कारण बार्सिलोनाले मध्यान्तरपछिको खेलमा थप ४ गोल गर्दै अन्तिम चारको बाटो पक्का पार्‍यो । खेलको ५३औँ मिनेटमा काउटिन्होले व्यक्तिगत दोस्रो गोल थप्दा बार्सिलोना ३–० ले अघि रह्यो । काउटिन्होले गोल गरेको एक मिनेटमित्रै रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को स्थितिमा पुर्‍याए । खेलको ६७औँ मिनेटमा अरनाले सेभिल्लालाई १–४ को अन्तरमा ल्याए । खेलको ८९औँ मिनेटमा सुआरेज र खेलको ९०औँ मिनेटमा मेसीले १–१ गोल गरी बार्सिलोनाको जित ६–१ ले पक्का पारे ।