मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
म्याड्रिड
२०७७ श्रावण ३१ शनिबार ०७:०५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोलाई  बार्सिलोनाको प्रस्ताव

Read Time : > 1 मिनेट
म्याड्रिड
२०७७ श्रावण ३१ शनिबार ०७:०५:००

पोर्चुगाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नयाँ चुनौतीको सामना र परीक्षण गर्न मनपराउने खेलाडीमा पर्छन् । एकै क्लबमा लामो समय बस्न नहुने मान्यता रोनाल्डोको छ । यसकारण नै दुई वर्षअघि उनी सुटुक्क रियल म्याड्रिडबाट सिरिए क्लब युभेन्ट्ससँग आबद्ध भए । त्यसवेला उनी आबद्ध रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमाथि ह्याट्रिक जमाएको थियो । 

त्यसलगत्तै उनी युभेन्ट्समा आवद्ध भए । दुई वर्ष इटालियन क्लबमा बिताएका रोनाल्डोलाई अहिले पुनः स्पेनिस क्लबबाट प्रस्ताव आएको छ । यद्यपि उनको मनपर्ने क्लब रियलले प्रस्ताव पठाएको होइन । रियलकै सर्वकालीन प्रतिद्वन्द्वी बार्सिलोनाले रोनाल्डोलाई प्रस्ताव पठाएका स्पेनिस एजेन्सीहरूले जनाएका छन् । 

यो सिजनमा युभन्ट्सले नवौँपटक सिरिए लिग जित्यो । सिरिएभन्दा पनि युभेन्ट्सको ठूलो मनोकांक्षा युरोपियन च्याम्पियन्स लिग जित्नु नै थियो । तर, युभेन्ट्स प्रिक्वार्टरफाइनलबाटै बाहिरियो । सन् २०१९/२० को सिजनमा ३५ गोल गरेका रोनाल्डो च्याम्पियन्स तथा इटालियन कपमा केही चमत्कारी प्रदर्शन गर्न सकेनन् । 

यसैका आधारमै बार्सिलोनाले रोनाल्डोलाई नाउ क्याम्प ल्याउने सपना देख्यो । यसअघि स्पेनिस पत्रकार गुलेन बालागुले बिबिसीसँग अन्तर्वार्ता दिँदै सिरिए च्याम्पियनका मुख्य खेलाडी रोनाल्डो र बार्सिलोनाबीच कुराकानी भएको खुलासा गरेका थिए । उनका अनुसार ६ महिनादेखि रोनाल्डो र बार्सिलोनाबीच कुराकानी 
भइरहेको छ । 

बार्सिलोना रोनाल्डोलाई प्रतिवर्ष २८ मिलियन पाउन्ड पारिश्रमिक दिन तयार रहेको पत्रकार गुलेनले जनाएका छन् । इटालियन पत्रिकाले रोनाल्डो बार्सिलोनामा जाने केवल हल्ला मात्र भएको दाबी गरेका छन् । रोनाल्डो र युभेन्ट्सबीच २०२२ सम्म सम्झौता बाँकी छ । सम्झौता रहँदै रोनाल्डोलाई बार्सिलोनाले भित्र्याउन चाहे ठूलै धनराशि खर्च गर्नुपर्ने इटालियन मिडियाहरूले जनाए ।

यो अवस्थामा बार्सिलोना त्यति धेरै रकम खर्चन सक्ने अवस्थामा छैन । यदि बार्सिलोनाले रोनाल्डो भित्र्याउन सफल भयो भने स्पेनिस क्लबसँग वर्तमान समयकै उत्कृष्ट दुई खेलाडी हुनेछ । बार्सिलोनासँग लियोनल मेसी छँदै छन् । रोनाल्डो पनि थप्दा धेरैका सपना पूरा हुनेछन् । रोनाल्डो र मेसी सँगै खेलेको सपना देख्नेका सपना पूरा हुनेछन् ।