मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ३१ शनिबार ०६:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिन्धुपाल्चोकका सिडिओ भन्छन्- प्राधिकरणको हेलचेक्र्याइँ र स्थानीय सरकारको गैरजिम्मेवारीले घटना भयो

Read Time : > 1 मिनेट
२०७७ श्रावण ३१ शनिबार ०६:२३:००

करोडौँ रुपैयाँ हातमा लिएर बसेको प्राधिकरणको लापरबाहीले घटना भयो, प्रशासनको गल्तीको जिम्मा म लिन्छु : उमेशकुमार ढकाल, सिडिओ, सिन्धुपाल्चोक

लिदी मात्रै होइन जिल्लाका अन्य ठाउँका बासिन्दा पनि निवेदन लिएर जिल्ला प्रशासनमा आउनुभएको थियो । तर, स्थानीय प्रशासनले के गर्न सक्छ र ? हामीसँग स्रोतसाधन केही छैन । स्थानीय सरकार गठन भएदेखि सबै काम त्यहीँबाट हुँदै आएको छ । सक्नेजति गर्छौँ भनेर पठाएको हुँ ।

जिल्ला विपत् व्यवस्थापन समितिको प्रमुख त हुँ, तर पहिलाजस्तो अधिकार छैन । रकम र स्रोत–साधन निकै कम छ । लिदीवासी निवेदनसहित आएपछि मैले भूसंरक्षण र पुनर्निर्माण प्राधिकरणलाई डाकेर अध्ययन गर्न र आवश्यक काम गर्न निर्देशन दिएको थिएँ । काम कसैले गरेको देखिएन । लिदीमा बस्न जोखिम छ भनेपछि मैले जुगल गाउँपालिकाका अध्यक्षलाई स्थानीयको सुरक्षा गर्न भनेर २० थान टेन्ट, तीन सय थान त्रिपाल, सय थान कम्बल दिएर पठाएको थिएँ, त्यो पनि बाँडेको पाइएन । म आश्चर्यमा परेको छु, स्थानीय सरकारले जिम्मेवारी लिनुपर्नेमा जिल्लाबाट पठाएको सामग्री पनि वितरण भएन । 

मैले इन्जिनियरको समूह बनाएर पुनर्निर्माण प्राधिकरणका प्रमुखलगायतलाई भनेको थिएँ, ‘जनताको यस्तो गुनासो छ । लिदी गाउँ जोखिममा छ । चाँडो काम गर्नुपर्‍यो ।’ ताकेता पनि गरेको थिएँ, तर काम केही भएन । करोडौँ रकम हातमा लिएर बसेको पुनर्निर्माण प्राधिकरणको हेलचेक्र्याइँ, स्थानीय सरकारको गैरजिम्मेवारीले घटना भयो । मेरो कति कमजोरी हो, म स्विकार्छु । तथापि, भूकम्पले धाजा फाटेर कमजोर भएको भूगोलमा आजसम्म पनि बस्ती रहनुमा जिल्ला प्रशासनको भन्दा पुनर्निर्माण प्राधिकरण र स्थानीय सरकारको दोष छ । मभन्दा अघिका सिडिओसाबले पनि यसबारे भूसंरक्षण र प्राधिकरणलाई भन्नुभएको रहेछ । अध्ययनबाहेक अन्य काम भएन ।