लिम्पियाधुरासम्म समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्साको अंग्रेजी संस्करण तयार भएको छ । नापी विभागले तयार गरेको नक्सा भूमि व्यवस्था मन्त्रालयले शुक्रबार स्वीकृत गरेको छ । अब अंग्रेजी भाषामा तयार भएको नक्सा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायलाई पठाइने मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ । नापी विभागले तयार गरी नापनक्सा समितिमा निर्णय गराएर स्वीकृतिका लागि मन्त्रालयमा नक्सा पेस गरेको थियो ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर नेपालले ५ जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।
बदलिएको नेपालको मानचित्रबारे विश्व जगतमा जानकारी दिने उद्देश्यले अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको भूमि व्यवस्थामन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री अर्यालले अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउन बाटो खुलेको बताएकी छिन् । परराष्ट्र मन्त्रालयमार्फत नेपालको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउन लागिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।