मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ३० शुक्रबार २०:५०:००
Read Time : < 1 मिनेट
समाचार

बिपी प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्न कार्यदल

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३० शुक्रबार २०:५०:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन नौ सदस्यीय कार्यदल गठन गरिएको छ । काठमाडौंमा शुक्रबार बसेको प्रतिष्ठानको ४४औँ सिनेट बैठकले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो । 

सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास गरेको छ । प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृतपूर्ण विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो । कार्यदलमा प्राडा उपेन्द्र कोइराला, प्राडा मोहनचन्द्र रेग्मी, प्राडा मधुर भट्टराई, प्राडा बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी छन् । अन्य तीनजना सदस्य थप्ने गरी कार्यदल बनाइएको हो ।  

बैठकले प्रतिष्ठानको नियमावली मस्यौदा समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाललाई तोकिएको छ । समितिले प्रतिष्ठानको शैक्षिक, कर्मचारी, आर्थिकलगायतका नियमवाली बनाउनेछ । 

बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि दुई अर्ब ९८ करोड ६७ लाखको बजेटसमेत पास गरेको प्रतिष्ठानका रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए । 
बैठकले प्रतिष्ठान हाताभित्र ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपण अस्पताल निर्माण गर्ने निर्णयसमेत गरेको छ । स्वास्थ्यमन्त्री ढकालको विशेष प्रस्तावमा मोरङको सुन्दरहरैँचामा छुट्टै सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय भएको उपकुलपतिका सल्लाहाकार दिलीप भट्टराईले जानकारी दिए । 

बैठकले पुनरावेदन आयोगको रिक्त पदमा प्रदेश १ का प्रदेश सभा सदस्य राजकुमार ओझा र प्राडा दिव्यसिंह साहलाई सिफारिस गरेको छ ।