मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार २०:३८:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी कल्याण कोषको एक करोड असइको खातामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार २०:३८:००

नेपाल प्रहरीको कल्याण कोषअन्तर्गत सञ्चालित पेट्रोल पम्पमा लामो समयदेखि अनियमितता भएको खुलेको छ । नक्सालस्थित पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) दिलीप कार्कीले पम्पको रकम आफ्नोमा खातामा जम्मा गर्ने गरेको खुलेको छ । 

उनले एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्कीलाई प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । 

यो रकम उनले असोज ०७५ देखि असोज ०७६ असोजसम्ममा गरेको हिनामिना हो । चार्टर्ड एकान्टेटमार्फत प्रहरीले गराएको लेखा परीक्षणमा उनको हिनामिना सार्वजनिक भएपछि कल्याण महाशाखाले थप छानबिन गरेको थियो । छानबिनपछि उनी फरार भएका थिए । हालै प्रहरीको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिई अख्तियारमा बुझाइएको हो । 

लामो समय प्रहरी पेट्रोल पम्पमा काम गरेका असइ कार्की मात्र नभई यसमा अरूको पनि मिलेमतोको आशंका गरिएको छ । लामो समयसम्म त्यसरी रकम हिनामिना हुँदा पनि माथिल्ला अधिकारीले त्यसतर्फ चासो दिएका थिएनन् । कार्कीको उच्च प्रहरी अधिकारीसँग निकटस्थ सम्बन्ध थियो । 

असइ कार्की हिनामिनाको केही रकम तिर्न तयार भएका थिए । तर, अनियमितता गर्नेलाई उन्मुक्ति दिन नहुने भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्देशनमा उनलाई अख्तियारमा बुझाइएको प्रहरी स्रोतको भनाइ छ । प्रहरी पेट्रोल पम्पमा भएको अनियमिततामा विगतमा पनि भ्रष्टाचार मुद्दा चलेको थियो ।