१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ३० शुक्रबार १७:४३:००
Read Time : > 1 मिनेट
समाचार

सरकारको स्पष्ट नीति नहुँदा जनताले दुःख पाए : डा. भट्टराई 

Read Time : > 1 मिनेट
२०७७ श्रावण ३० शुक्रबार १७:४३:००

पूर्वप्रधानमन्त्री तथा जसपाका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारसँग कुनै पनि विषयको प्रस्ट नीति, योजना नभएका कारण जनताले दुःख पाएको बताएका छन् । गोरखा अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण गर्ने क्रममा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘कोरोना महामारीको वेलामा आवश्यक मेडिकल सामान खरिद गरी पिसिआर परीक्षण दर बढाउनु सरकारको दायित्व हो,’ उनले भने, ‘तर, पार्टीको झगडाको निम्ति महिनौँ वार्ता गर्नुहुन्छ, केपी ओली र प्रचण्डको वार्ता । डोनाल्ट ट्रम्प र सी जिङपिङ, भारतका नरेन्द्र मोदी र केपी ओलीको वार्ता भएजस्तो भएको छ ।’ चार महिनाको बन्दाबन्दीमा समेत कुनै तयारी नगरेको, बरु अनावश्यक वार्तामा अल्झिएको उनको भनाइ छ ।  ‘प्रधानमन्त्रीको प्राथमिकता अस्पताल बनाउनु, आवश्यकताअनुसार क्वारेन्टाइन बनाउनु, भेन्टिलेटर बढाउनु हो, तर उहाँको प्राथमिकतामा राम मन्दिर बनाउनु, अयोध्या खोजी–अनुसन्धानतिर छ,’ उनले भने । राम मन्दिरको कुरा छोडेर अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापनमा ध्यान दिन उनले प्रधानमन्त्रीलाई आग्रह गरे । लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा सरकार कोरोना नियन्त्रणमा लाग्नुको सट्टा अनावश्यक कार्यमा लागेको भट्टराईले बताए । 

‘पछिल्लो समयमा प्रत्येक परीक्षणमा पाँच प्रतिशत बिरामी भेटिने गरेको छ, यहाँ धेरैको परीक्षण भएकै छैन, परीक्षणका लागि आवश्यक तयारी पुगेको छैन,’ उनले भने, ‘कोरोना नियन्त्रणमा सरकार लाग्नुपर्छ, साधन स्रोतको अधिक परिचालन गरी जनताको जिउधनको सुरक्षा गर्नु राज्य दायित्व हो ।’ कोरोना महामारी आगामी हिउँदमा अझै तीव्र गतिमा बढ्न सक्ने भएकाले सबै सतर्क रहनसमेत उनले आग्रह गरे । राज्यले आवश्यक पूर्वतयारीका साथ पिसिआर परीक्षण दर बढाउँदै जानुपर्ने र  स्वास्थ्य परीक्षण गरी आएकाहरूको उपचारका लागि राख्ने ठाउँको व्यवस्थापनतर्फ लाग्न उनको सुझाब छ । 

चिनियाँ व्यवसायीको सहयोगमा प्राप्त प्रयोगशाला उपकरण डा. भट्टराईले अस्पतालाई हस्तान्तरण गरेका हुन् । डा. भट्टराईको आग्रहमा चीनको ग्वान्झाओस्थित एक कम्पनीले तीन सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । उपकरणबाट ३६ भन्दा बढी स्वास्थ्य समस्याको पहिचान गर्न सकिने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।