उद्योगका मजदुरमा कोरोना पोजेटिभ देखिएपछि वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरू बन्द हुन थालेका छन् ।
केही हप्ताअघि जितपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका तीन मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उद्योग सिल गरेको थियो ।
यस्तै सिमरामा रहेको जगदम्बा स्टिलका ११ जना मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनसम्म स्थानीय प्रशासनले उद्योग सिल नगरेपछि स्थानीयले नै उद्योगमा ताला लगाएका थिए । स्थानीयले ताला लगाएपछि बिहीबार स्थानीय प्रशासनले विज्ञप्तिमार्फत उद्योग सिल गरेको जनाएको छ ।
कोराेना संक्रमित ६ जना सम्पर्कविहीन
साउन २५ गते काठमाडौंको टोली बोलाएर एक सय २३ जनाको स्वाब संकलन गरिएकाेमा ११ जनामा पोजेटिभ देखिएको थियो ।
पोजेटिभ देखिएका ११ जनामध्ये चारजना नेपाली र अन्य सातजना भारतीय मजदुर रहेको युनियनका सचिव दीपक कार्कीले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएका ११ जनामध्ये ६ जना व्यक्ति अहिले सम्पर्कमा छैनन् । उनीहरू भारतीय भएकोले भारततर्फ नै गएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
उद्योगले बुधबार राति कन्टेनरमा राखेर ३१ जना मजदुरलाई उद्योगबाट बाहिर निकालेपछि स्थानीयले नियन्त्रणमा लिएर उद्योगमा ताला लगाइदिएको स्थानीय युवा कृष्ण अधिकारीले बताए ।