१० हजार कित्तासम्म आवेदन दिन सकिने
लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ ।
आयोजनाले सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरी बाँडफाँड गर्न लागेको आयोजनाका सञ्चालक रामबहादुर पाण्डेले बताए । उनका अनुसार आयोजनाले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार मूल्यको ३५ लाख ६४ हजार नाै सय ३० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
स्थानीयका लागि छुट्याइएको १५ लाख कित्तामध्ये १३ लाख १५ हजार नाै सय ३० कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको र सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ५० हजार कित्ता सेयर वितरण गरिने लिबर्टी इनर्जी कम्पनीका प्रबन्ध–निर्देशक डा. आत्माराम घिमिरेले बताए ।
उनका अनुसार आयोजना प्रभावित स्थानीयले खरिद नगरेको सेयरलाई पनि गाभेर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता सय रुपैयाँमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म खरिद गर्न पाउनेछन् ।
कम्पनीको सेयर खरिद गर्न छिटोमा भदौ ७ र ढिलोमा १७ गतेसम्म आवेदन दिनुपर्नेछ । सेयर निष्कासन तथा बाँडफाँडको जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरिसकेको छ । आयोजना प्रतिमेगावाट १८ करोड ५४ लाख ४३ हजार रुपैयाँ लागतमा सम्पन्न हुँदै छ ।
०७१ असोजबाट निर्माण थालिएको आयोजनाले यही चालू आर्थिक वर्षबाट व्यावसायिक विद्युत् उत्पादन थाल्नेछ । आयोजना अन्तिम चरणमा पुगेकाले अर्को वर्षदेखि लगानीकर्तालाई लाभांश दिन सुरु गरिने प्रबन्धक घिमिरेले बताए ।