मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पीताम्बर शर्मा
२०७७ श्रावण ३० शुक्रबार १०:१५:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युवासामु वृद्ध नेतृत्वको चंगुलबाट फुत्किने चुनौती

युवाहरूको ऊर्जा, आकांक्षा, असन्तोष र सिर्जनात्मकतालाई प्रयोग र परिचालन गर्ने सबैभन्दा ठूला संयन्त्र राजनीतिक दलहरू नै हुन् 

Read Time : > 6 मिनेट
पीताम्बर शर्मा
२०७७ श्रावण ३० शुक्रबार १०:१५:००

उमेर, जोस, जाँगर, कौतूहल, जान्ने र बुझ्ने उत्कण्ठा, चुनौती दिने र स्विकार्ने साहस, जोखिम मोल्न सक्ने क्षमता, निर्भिक र निसंकोच प्रश्न सोध्ने, असम्भवलाई सम्भव देख्न सक्ने धृष्टता युवावयका विशेषता हुन सक्छन् । नेपाल सरकारले १६-४० उमेरसमूहको जनसंख्यालाई युवामा राखेको छ । यसरी हेर्दा सन् २०११ को जनगणनाअनुसार नेपालको ४०.३ प्रतिशत जनसंख्या युवावयको थियो । तर, अहिले घट्दो जन्मदर र बढ्दो जीवन अपेक्षाका कारण यो अनुपात केही बढेको हुनुपर्छ । कतिपयले युवापन उमेरको मात्र कुरा हैन, आशावादिता, विभिन्न व्यवधानका बाबजुद नथाक्ने, निरन्तर आफ्नो काममा लागिरहने, समयसापेक्ष संस्कार र मूल्य मान्यता आत्मसात् गर्ने, नवीन सोच र सिर्जना गर्न सक्ने क्षमतामा निर्भर रहने कुरा हो पनि भन्छन् । त्यसो त कसको मनले आफूलाई बूढो ठानेको हुन्छ र ? यथार्थको ठेस लाग्दा मात्र थाहा हुन्छ– समय त घर्किसकेछ । युवा यसैले समय हो । शरीर, मन, मस्तिष्क र व्यवहारमा समान रूपले प्रवाहित ऊर्जावान् समय युवा ऊर्जा हो । र, हामीले दैनन्दिन प्रयोग गर्ने ऊर्जाको जस्तै यसको उचित र सिर्जनात्मक प्रयोगले घर न्यानो पार्छ, खाना पाक्छ, मेसिन कलकारखाना चल्छन्, उत्पादन बढ्छ, देश समृद्ध र समुन्नत हुन्छ । तर, यसको अनुचित प्रयोगले घर नै खरानी पारिदिन्छ, विध्वंस बढ्छ, अराजकताले राज गर्छ, सपनाहरू मर्छन् । पञ्जाबी कवि अवतार सिंह सन्धु ‘पास’ भन्छन्– सबैभन्दा खतरनाक हुन्छ, ऊर्जावान् युवाका सपनाहरूको मरण । 

अहिलेको समयका नेपाली युवाका सामान्यतया दुइटा विशेषता उल्लेख गर्नैपर्ने हुन्छ । पहिलो, उनीहरू संसारसँग बढी जोडिएका छन् । विद्यालय एवं विश्वविद्यालयको तौरतरिका र मोबाइल र इन्टरनेटजस्ता सञ्चारका विभिन्न माध्यम र प्रविधिले उनीहरूको संसार केही दशकअघिका युवाको तुलनामा बढी विस्तारित छ । खास गरेर सहरबजारका पढेलेखेका मध्यमवर्गीय युवामा सामाजिक सचेतना बढी छ । उनीहरू सामाजिक सञ्जालसँग जोडिएका मात्र होइनन्, तीमार्फत आफ्ना विचार प्रवाहित गर्न पनि सिपालु छन् । लामो सोचपछि निचोडका रूपमा ‘पन्च–लाइन’ दिनुको सट्टा गहिरो सोचको विकल्पका रूपमा एक–दुई वाक्य दिनु यी युवाको विशेषता हो । यसरी समान विचार, समान चासो राख्ने युवाहरूको जमात नै मौका–मौकामा सक्रिय रहेको हामी देख्छौँ । यी युवा समाजका विसंगति र विकृतिविरुद्ध हस्तक्षेपकारी भूमिका खेल्ने आकांक्षा राख्छन् । उनीहरूको यो हस्तक्षेपको दिगोपना र राजनीतिक दीर्घकालीन नीतिगत सार्थकतामा भने प्रश्नचिह्न छ ।

यो जमातले जनआन्दोलनताकाको नागरिक समाजको भूमिका निर्वाह गर्न खोजेजस्तो देखिन्छ । तर, यिनीहरूका एजेन्डा महत्वपूर्ण हुँदाहुँदै पनि तात्कालिक र सीमित रहने गरेका छन् । यसो भए तापनि यी युवाको खबरदारीलाई नै महत्वपूर्ण उपलब्धि मान्नुपर्ने हुन्छ । उठान गरिएका मुद्दाको राजनीतीकरण गर्न नसक्नु यिनीहरूको सबैभन्दा ठूलो समस्या हो । राजनीतीकरण गर्नु कुनै राजनीतिक दलको पछि लाग्नु होइन । अपितु उठान गरिएका मुद्दालाई राजनीतिक दलहरूले आत्मसात् नगरी नहुने अवस्था बनाउनु हो । हामीले अंगीकार गरेको शासन व्यवस्थामा राजनीतिक दलमार्फत नै जनमानसले भोगेका समस्या र झेलेका विसंगतिहरूको निदान खोजिने हो । यस्ता जमातको अनौपचारिकता, बदलिँदो नेतृत्वदायी पहल र उठान गरिएका मुद्दाअनुरूपको बदलिँदो सहभागिता नै राजनीतीकरण हुन नसक्नुको प्रमुख कारण हुन सक्छ । 

आजका युवाको दोस्रो विशेषता उनीहरूको बढ्दो आकांक्षा हो । बढ्दो आकांक्षाको प्रतिबिम्ब सर्वत्र र सबै वर्गका युवामा देखिन्छ । नेपालमा अहिले साक्षर र पठित युवाको अनुपात बढेको छ । सन् २०११ को जनगणनामा १६–४० वर्षका युवामा साक्षरता दर ६५.९ प्रतिशत थियो, जसमा पुरुष ७५.१ प्रतिशत र महिला ५७.४ प्रतिशत थिए । आगामी सन् २०२१ को जनगणनामा यो दर ७५ प्रतिशतको हाराहारी हुने अनुमान गर्न सकिन्छ । सन् २०११ मा नेपालका १४ प्रतिशत युवा बाह्य रोजगारीमा थिए । अहिले बाह्य श्रम रोजगारका अनुमानित ३० देखि ३५ लाखमध्ये झन्डै दुईतिहाइ युवावयका होलान् । यी युवा साक्षर र प्रायजसो विद्यालय शिक्षा लिएका युवा हुन् ।

विश्वभर नै सबैभन्दा चलायमान जनसंंख्या भनेकै यही युवा जनसंख्या नै हो । नेपालमा आन्तरिक र बाह्य दुवैखाले बसाइँसराइमा सबैभन्दा ठूलो अनुपात युवाको छ । गाउँका प्रायः युवा आफ्नो भविष्य गाउँको कृषिकर्ममा देख्दैनन्, अपितु श्रम रोजगारीका लागि बाह्य बसाइँसराइ र सहर बजारका विभिन्न पेसामा देख्छन्, जहाँ केटाकेटीलाई शिक्षा र स्वास्थ्यको सहज सुविधा होस् । र, कम्तीमा आफ्नो अहिलेको भन्दा एक तह माथिको जीविकोपार्जनको उपाय भएको ठाउँ होस् । नेपालमा संख्यात्मक दृष्टिले श्रम रोजगारका लागि बाह्य बसाइँसराइ सबैभन्दा बढी सहरी क्षेत्रबाट हुने गरेको छ । ग्रामीण क्षेत्रबाट आयआर्जनका निम्ति बाह्य बसाइँसराइ भने नेपालका लागि नौलो कुरा होइन । यसको इतिहास झन्डै डेढ सय वर्ष पुरानो छ । तर, अन्ततः प्रायः त्यो बसाइँसराइ गाउँमै आएर टुंगिन्थ्यो । अहिले स्थिति फरक छ, फर्कनेहरूको गन्तव्य अब गाउँ हुन छाड्दै छ।

नेपालका सहरी क्षेत्रमा देखिने मध्यमवर्गीय युवाहरूको सामाजिक सञ्जालको विद्रोह र यदाकदा सडकमा देखिने हस्तक्षेप समस्याको लक्षण मात्र हो, समाधान होइन । समाधान त राजनीतिक तहमै खोजिनुपर्छ । त्यसका निम्ति युवाले विद्रोहको मुठ्ठी उचालेर भन्न सक्नुपर्छ- हामी तिम्रा वृद्ध र जर्जर शरीरमा रक्तसञ्चार गर्न इन्कार गर्छाैं । 

सहरी एवं ग्रामीण मध्यमवर्गमा पश्चिमको आकर्षण बढेको छ । नेपालको शैक्षिक वातावरणमा बढ्दै गएको विचलन र नयाँ अवसरको खोजीको समाधान युवाहरू पश्चिमी मुलुकको पलायनमा देख्दै छन् । यो पलायनले युवा मात्र होइन, देशको ठूलो धनराशिसमेत बाहिरिँदै छ । सन् २०१९ मा ५२ हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका शिक्षण संस्थामा पढ्दै थिए । त्यस्तै, १३ हजारभन्दा बढी युवा अमेरिकाका शिक्षण संस्थामा भर्ना थिए । यीमध्ये कति नेपाल फर्केर योगदान गर्छन्, त्यसको लेखाजोखा छैन । तर, अधिकांश सकेसम्म उतै शस्ने आकांक्षामा हुन्छन् । तथापि, पश्चिममा बढ्दो अनुदारवादी सरकारहरूको उदयले नेपालभित्रै अवसर खोज्ने र केही गर्ने सोच राख्नेको संख्या केही वर्ष यता बढ्दै छ पनि भन्ने गरिन्छ । अहिलेको कोभिड–१९ महाव्याधिको त्रासले बाह्य बसाइँसराइमा संलग्न श्रम रोजगार युवाहरू नेपाल फर्कने क्रम बढेको छ । अब आयमूलक रोजगारीमा यी युवाको व्यवस्थापन मुलुकको सबैभन्दा ठूलो र विस्फोटक चुनौती हुनेछ । 

माथि उल्लिखित परिदृश्यले केही प्रश्न उठाउँछन् । युवामा देखिएको यो उकुसमुकुस समाजमा देखिएका विसंगतिप्रतिको संवेदनशीलता, परिवर्तनको चाहना र अवसरको खोजीलाई सिर्जनात्मक बाटो कसले कसरी दिने ? युवाका अनगिन्ती प्रश्नको समाधान युवा आफैँले खोज्ने हो कि त्यसमा अरूको पनि भूमिका छ ? हाम्रा शिक्षालय, मुलुकको भविष्य निर्धारण गर्ने बृहत् दायित्व लिएका हाम्रा राजनीतिक दल र संस्था, सरकारका नीति, उद्योगी–व्यवसायी र उद्यमीहरूबाट के, कस्तो अपेक्षा गर्ने ? युवाका सपनालाई जीवन्त कसरी राख्ने ? फेरि नेपाली युवाका समस्या र खोजी एउटै प्रकृतिका पनि त छैनन् । ती त सामाजिक एवं आर्थिक वर्ग र लिंगअनुसार फरक–फरक प्रकृतिका छन् । यदि यसो हो भने तिनलाई सम्बोधन गर्ने उपाय पनि त फरक पर्ला, आदि । 

युवा परिवर्तनको अर्काे नाम हो । परिवर्तन ल्याउन विगतको विरासतलाई बुझेर र त्यसभित्रका सम्भावनामा टेकेर मात्र अगाडि बढ्नुपर्ने हुन्छ । यहाँनेर हाम्रा शिक्षालयको भूमिका अहं हुन्छ । किनभने, यहीँबाट युवा प्रशिक्षित र दीक्षित हुने हुन्, युवामा आलोचनात्मक चेतको विकास यहीँ हुने हो । हाम्रा शिक्षालयले युवालाई आफ्नो सामाजिक एवं आर्थिक सन्दर्भ चिन्न र सम्भावना खोज्न कति उत्प्रेरित गर्छन्, प्रश्न सोध्न र तथ्यका आधारमा समाधानको विवेचना गर्न कति सक्षम तुल्याउँछन्– यी कुराले नै नेतृत्वदायी युवाको निर्माण हुने हो । हाम्रा सार्वजनिक विद्यालय र विश्वविद्यालयहरूको अहिलेको स्थिति हेर्दा सन्तोष गर्ने ठाउँ ज्यादै कम छ । हाम्रा विश्वविद्यालयमा बहसलाई स्थान नै दिइँदैन । त्यो विश्वविद्यालयहरूको स्थापित पद्धतिभित्रै पर्दैन ।

साधारण जनताले बाँचिरहेको नेपालको यथार्थ चित्रले हाम्रा शिक्षालयका कोठाभित्र प्रवेश नै पाउँदैनन् । यसमा सबैभन्दा ठूलो कमी ‘रोलमोडल’– शिक्षक, अनुसन्धानकर्ता र मेन्टोर (सल्लाहकार)हरूको हो, जसले युवाभित्रको सम्भावनाको त्यो सानो झिल्कोलाई प्रज्वलित हुन मद्दत गरून् । केही दशकयतादेखि सार्वजनिक शिक्षालयलाई राजनीतिले यसरी जेलेको छ कि प्राज्ञिक नेतृत्वदेखि शिक्षकका नियुक्ति, मूल्यांकन, प्रोत्साहन, प्रकाशन, गोष्ठी र सेमिनारजस्ता प्राज्ञिक मर्यादाका विषयसमेत राजनीतिक लेनदेनका वस्तु बनेका छन् । यसरी हाम्रा शिक्षालय परिवर्तनका सिर्जनात्मक उपाय हुर्कने र झांगिने उर्वर भूमि नभएर औपचारिक किताबी पाठको कारोबार गर्ने स्थलमा सीमित हुन पुगेका छन् । युवाको ऊर्जा र आकांक्षालाई सम्भावनाको क्षितिजतिर डो¥याउने काम हाम्रा शिक्षालयले जुन हदसम्म गर्छन्, त्यही हदसम्म उद्देश्य बोकेका, कर्मठ र आफ्नो क्षमतामा विश्वास भएका, समस्या देख्ने मात्र होइन, समाधानसमेत खोज्न सक्ने समर्पित जमात बन्ने हो । 

सन् २०१९ मा ५२ हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका शिक्षण संस्थामा पढ्दै थिए । त्यस्तै, १३ हजारभन्दा बढी युवा अमेरिकाका शिक्षण संस्थामा भर्ना थिए । यीमध्ये कति नेपाल फर्केर योगदान गर्छन्, त्यसको लेखाजोखा छैन । तर, अधिकांश सकेसम्म उतै बस्ने आकांक्षामा हुन्छन् ।

युवाहरूको ऊर्जा, आकांक्षा, असन्तोष र सिर्जनात्मकतालाई प्रयोग र परिचालन गर्ने सबैभन्दा ठूला संयन्त्र राजनीतिक दलहरू नै हुन् । नेपालका सबै राजनीतिक दलका आफ्ना विद्यार्थी मञ्च छन् । यिनको जरो विद्यालय र क्याम्पसस्तरसम्म फैलिएको छ । तर, यिनको काम अमुक दलका अमुक गुटका अमुक नेताको खटनअनुसार अमुक उद्देश्यका लागि परिचालित हुनु मात्रै हो । यी मञ्चमा सम्मिलित हुनासाथ प्रायः युवाले आफ्नो स्वायत्तता गुमाइसकेका हुन्छन् । दलको पद्धति र प्रणालीमाथि प्रश्न गर्ने, आवश्यक परे विद्रोह गर्ने, सामाजिक आर्थिक विकासका नयाँ सम्भावनाहरू खोज्ने, नेतृत्वका असंगतिमाथि औँला ठड्याउने रुचि र हैसियत दुवै उनीहरूले गुमाइसकेका हुन्छन् । 

यता, राजनीतिक दल अहिले कर्मचारीतन्त्रजस्ता भएका छन् । दलमा समसामयिक एवं सिर्जनात्मक योगदान नभएर गुटका माध्यमबाट शक्ति सञ्चय गरेका आधारमा दलको पदसोपानको सिँढीमा नेताहरूको दलीय हैसियतको ठेगान हुन्छ । दलका विद्यार्थी, युवा यो सिँढीको सबैभन्दा तल्लो खुड्किलोबाट सुरु गर्छन् र नेताको आशीर्वाद, अलिकति सांगठनिक क्षमता, अलिकति वाक्चातुर्य, अलिकति फुटाउने र जुटाउने कला र अलिकति अवसरवादिताको प्रयोग गरेर यो सिँढी चढ्छन् वा चढ्ने आकांक्षा राख्छन् । कदाचित् दलको नेतृत्व तहमा पुग्न सफल भए भने तिनले त्यही चक्रको पुनरुत्पादन गर्न थाल्छन्, जुन चक्रबाट उनीहरू स्वयं माथि पुगे । यसरी दलका युवा जान–अन्जानमै सिर्जनात्मक कुरामा युवालाई संगठित गर्ने, जातीय र लैंगिक विभेदजस्ता सामाजिक कुरीतिसँग जुझ्ने, सामाजिक आर्थिक विकास र उत्पादनमा ठोस योगदान गर्ने र यस्ता युवाको सक्रिय सञ्जाल निर्माण गर्नेजस्ता हस्तक्षेपकारी कामबाट विमुख भइसकेका हुन्छन् । राजनीति पेसा हुन पुग्छ । शक्तिको आर्जन शक्ति प्राप्ति र त्यसबाट लिन सकिने फाइदाका निम्ति हुन्छ । यसरी राजनीतिक दलका शीर्ष नेताले युवाको ऊर्जाको दुरुपयोग मात्र गरिरहेका छैनन्, उनीहरूलाई भ्रष्टीकरणको बाटोमा हिँडाइरहेको समेत प्रतीत हुन्छ । 

अहिले नेपालका कुनै पनि राजनीतिक दलमा युवा नेतृत्व छैन र अहिलेकै स्थितिमा त्यो सम्भव पनि छैन । जब दलको नेतृत्वको अभीष्ट कुर्सी प्राप्त गर्नु र त्यसमै टाँस्सिएर बस्नुमा सीमित हुन्छ, तब युवाको प्रयोजन बूढो शरीरमा रक्तसञ्चार गर्नुमै सीमित भइदिन्छ । अहिले त झन् प्रत्येक देशमा डोनाल्ड ट्रम्प र माइक पोम्पेओको बोलवाला छ । युवाहरू यिनीहरूकै चियर लिडर हुन अभिशप्त रहेको आभास हुँदै छ । नेपालका सहरी क्षेत्रमा देखिने मध्यमवर्गीय युवाहरूको सामाजिक सञ्जालको विद्रोह र यदाकदा सडकमा देखिने हस्तक्षेप समस्याको लक्षण मात्र हो, समाधान होइन । समाधान त राजनीतिक तहमै खोजिनुपर्छ । त्यसका निम्ति युवाले विद्रोहको मुठ्ठी उचालेर भन्न सक्नुपर्छ- हामी तिम्रा वृद्ध र जर्जर शरीरमा रक्तसञ्चार गर्न इन्कार गर्छाैं । राजनीतिक दलमा समाहित युवाहरूले के यो चुनौतीको उद्घोष गर्लान् ?