१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ३० शुक्रबार ०६:१८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दू भावनामाथिको ओली राजनीति 

Read Time : > 3 मिनेट
२०७७ श्रावण ३० शुक्रबार ०६:१८:००

करिब २८ वर्ष पहिले सन् १९९२ को डिसेम्बर ६ का दिन बाबरी मस्जिद भत्काइएको ठाउँमा भारतीय प्रधानमन्त्री मोदीले अगस्ट ५ मा राम मन्दिरको शिलान्यास गरेका छन् । भारतको सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बरमा त्यस विवादास्पद भूमिमा राम मन्दिर बनाउने अनुमति दिएको थियो । अब बन्ने राम मन्दिर करिब ३६० फिट लम्बाइ, २३५ फिट चौडाइ र १६१ फिट उचाइको हुनेछ । राम मन्दिरको भूमिपूजन भारतमा अल्पसंख्यक मुसलमान र अन्य सम्प्रदायका मानिस कसरी असुरक्षित बन्दै गएका छन् भन्ने कुराको एक ज्वलन्त उदाहरण हो । 

अयोध्यालाई हिन्दू धर्मग्रन्थमा प्राचीन भारतका पवित्र सात नगर मथुरा, हरिद्वार, काशी, उज्जयनी, कांची, द्वारका र अयोध्यामध्ये एक मानेको छ । यसलाई अथर्ववेदमा ईश्वरको नगर र पुराणहरूमा सूर्यका पुत्र मनुले निर्माण गरेको सहर भनिएको छ । अयोध्या सहरमा रहेको बाबरी मस्जिदको इतिहास भने सन् १५२८ मा सुरु हुन्छ । सन् १५२८ भारतका प्रथम मुगल बादशाह बाबरको पालामा उनका विश्वासपात्र मिर वकीले कोशल राज्यको साकेत नामको सहरमा बाबरी मस्जिद खडा गरे । 

मस्जिदलाई लिएर पहिलोपटक सन् १८५३ मा विवाद देखिएको थियो । त्यो वर्ष मस्जिद भत्काउनुपर्ने र त्यसको ठाउँमा रामको मन्दिर निर्माण गर्नुपर्ने माग राख्दै साम्प्रदायिक दंगा भएको थियो । त्यसपछि वर्षौंसम्म हिन्दूले मस्जिद भत्काउने प्रयास गरिरहे । सन् १९९० मा हिन्दूहरूले बाबरी मस्जिद भत्काउने असफल प्रयास गरे । उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री मुलायमसिंह यादवको सरकारको समयमा मस्जिद भत्काउन मस्जिद चढेका कारसेवकहरूमाथि गोली हानियो । यसबाट १६ जनाको ज्यान गयो र मस्जिद जोगियो । तर, बाबरी मस्जिद धेरै समय भने जोगिएन, अन्ततः १९९२ मा त्यो ढल्यो । त्यस समय उत्तर प्रदेशमा भाजपाको सरकार थियो ।

नेपालका प्रधानमन्त्री केपी ओलीले रामको जन्मस्थानबारे दिएको एक विवादास्पद बयानले वर्तमान सरकार भाजपापथमा अग्रसर त छैन भन्ने सवाल उठाएको छ । भारतमा जस्तै नेपालले पनि धर्मको नाममा विभेदकारी राष्ट्रवादको अन्धाधुन्द सिको त गर्दै छैन ?

तत्कालीन मुख्यमन्त्री कल्याण सिंहले कारसेवकविरुद्ध कुनै कारबाही नगर्न प्रशासनलाई आदेश दिएका थिए । ६ डिसेम्बर १९९२ मा हातमा झन्डा र साबेल बोकेका विश्व हिन्दू परिषद्द्वारा परिचालित सयौँ कारसेवकले बाबरी मस्जिद ध्वस्त पारिदिएका थिए । द प्रिन्टका फोटो पत्रकार प्रवीण जैनले हालै सार्वजनिक गरेका केही तस्बिरमा बाबरी मस्जिद ढल्दै गर्दा भाजपाका नेताहरू मुरली मनोहर जोशी, लालकृष्ण आडवाणी र विजयराजे सिन्धिया त्यहाँ उपस्थित रहेको देखिन्छ । हिन्दू पक्ष बाबरी मस्जिद रहेको स्थानमा विगतमा राम मन्दिर रहेको र त्यसलाई भत्काएर मस्जिद बनाइएको आरोप लगाउँछन् । विवादको मूल कारण यही रहेको छ । 

विगतमा विवाद हुँदा मिलाउने प्रयास भएका थिए । सन् १८५९ मा तत्कालीन ब्रिटिस शासकले विवादलाई मिलाउनका लागि मस्जिदको भित्री भाग मुस्लिम र बाहिरी भाग हिन्दूका लागि छुट्याएको थियो । तर, यसबाट पनि विवाद साम्य हुन सकेन । सन् १९४९ को डिसेम्बर २३ मा नाटकीय ढंगले रामको मूर्ति बाबरी मस्जिदमा छिराएर राम जन्मभूमिको कानुनी आधार तयार पार्ने कार्यको सुरुवात गरियो । यसको विरोधमा मुस्लिमहरू अदालत गएपछि सरकारले उक्त स्थानलाई विवादित क्षेत्र घोषित गरेर मस्जिदमा ताला लगाइदियो ।

इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी भारतको प्रधानमन्त्री भए । उनको पालामा चर्चित ‘शाह बानो’ प्रकरण घट्यो । यस प्रकरणमा राजीवले खुलेर कट्टरपन्थी मुसलमानको पक्ष लिएको देखेपछि हिन्दू मतदाता टाढिन सक्ने देखियो । हिन्दू मतलाई आफूसँग राख्न राजीव गान्धीले स्थानीय अदालतले बाबरी मस्जिदको ताला खोल्ने जुन आदेश दिएको थियो, त्यो कार्यान्वयन गरे । राजीव गान्धीको कदमबाट हिन्दू धार्मिक संगठनले बल पाएझैँ भयो । सोही वर्ष विश्व हिन्दू परिषद्ले रामलाई उनको जन्मभूमि दिलाउने भन्दै एक समिति बनायो ।

भाजपा नेता लालकृष्ण आडवाणीले यस अभियानको नेतृत्व गरे । यही हिन्दू संगठनले पछि सन् १९९२ मा बाबरी मस्जिद भत्काइछाडे । मस्जिद भत्केपछि भारतभर साम्प्रदायिक दंगा भड्कियो । दंगामा झन्डै दुई हजार मानिसले ज्यान गुमाए । बदलामा मुसलमान बहुल पाकिस्तान र बंगलादेशमा रहेका हिन्दू र तिनका मन्दिरमाथि पनि प्रतिशोधपूर्ण आक्रमण भए । मस्जिद भत्किएपछि सो स्थानमा के गर्ने विषयमा लामो अदालती कारबाही चल्यो । अन्ततः सन् २०१९ नोभेम्बरमा भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउन दिने फैसला दियो । र, अहिले राम मन्दिर निर्माणका लागि भूमिपूजन गरिएको छ ।

हिन्दुत्व राजनीतिको नेपाली प्रभाव ः भारतको सत्तारूढ दल भाजपाका लागि हिन्दुत्व धर्म नभई राजनीतिक विचारधारा हो । हिन्दुत्व हावी हुँदा अहिले मुसलमानहरूमाथि ज्यादती बढ्न थालेको छ । यसले एकातर्फ लोकतन्त्र कमजोर बनाउँछ भने अर्कोतर्फ देशभित्रका अरू धर्म र सम्प्रदायका मानिसमा असुरक्षा र अपमानित महसुस गराउँछ । देशभित्र अल्पसंख्यक समुदायले आफूलाई दोस्रो दर्जाको नागरिक ठान्ने दिन आयो भने त्यसबाट उत्पन्न हुने परिणाम कसैका लागि पनि हितकर हुँदैन । 

हालै नेपालका प्रधानमन्त्री केपी ओलीले रामको जन्मस्थानबारे दिएको एक विवादास्पद बयानले वर्तमान सरकार भाजपापथमा अग्रसर त छैन भन्ने सवाल उठाएको छ । भारतमा जस्तै नेपालले पनि धर्मको नाममा विभेदकारी राष्ट्रवादको अन्धाधुन्द सिको त गर्दै छैन ? तर, आयोध्याको स्थानमा ठोरीमा स्थापना गर्न खोजिएको अयोध्यापुरीको राजनीतिक अभीष्ट कतै भारतीय हिन्दूवादको भावनासँग टकरावमा पर्ने त होइन ? यदि यसो भयो भने त्यो नेपाल र हिन्दू भावना दुवैको हितमा नहुन सक्छ । खतरा के हो भने प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्यालाई लिएर गरेको टिप्पणीले नेपाल–भारत सम्बन्धलाई गहिरो संकटमा धकेल्नेछ । र, यो संकटबाट पार पाउन नेपालले ठूलो मूल्य चुकाउनुपर्ने स्थिति पनि हुन सक्छ । भारतमा जसरी अहिले देशको प्रधानमन्त्री एउटा मन्दिरको शिलान्यासमा जानु उपयुक्त हो कि होइन भनेर बहस गर्दै छन्, त्यसै गरी नेपालका प्रधानमन्त्रीले रामको जन्मस्थानबारे बोल्दै हिँड्नु शोभनीय होइन । जुन काम इतिहास अन्वेषकको हो, त्यो काम राजनीतिक नेताले गर्न तम्सनु कतै उचित होइन । तर, क्षणिक बहकावका लागि यो मुद्दा जसरी मुलुकका प्रधानमन्त्रीले उछालेका छन्, त्यसले दुर्घटना निम्त्याउने निश्चित छ । 

प्रधानमन्त्री ओलीले माडीका जनप्रतिनिधिलाई बोलाएर राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न निर्देशन दिइसकेका छन् । यो अतिवादतर्फ यात्राको प्रमाण हो । कोरोना महामारीले थिलथिलो पारेको देशको राज्यकोषबाट देउताका मूर्ति र मन्दिर बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभन्दा अर्को दुर्भाग्य मुलुकका लागि केही हुन सक्दैन । भूमिपूजनमा मोदीले नेपालको नाम लिए भनेर हामी मक्ख पर्नेभन्दा हामीले धर्मको नाममा उठ्न सक्ने अतिवादलाई नियन्त्रण गर्न ध्यान दिनुपर्छ । धर्ममा अति र अन्धोवाद घुसेपछि अन्ततः त्यसले विनाशबाहेक केही निम्त्याउँदैन ।