मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण ३० शुक्रबार ०५:१९:००
Read Time : > 3 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

रसियाको ‘स्पुतनिक फाइभ’को तरंग

Read Time : > 3 मिनेट
२०७७ श्रावण ३० शुक्रबार ०५:१९:००

रसिया कोभिड–१९ विरुद्धको भ्याक्सिन दर्ता गर्ने पहिलो देश बनेको छ । भ्याक्सिनको सुरक्षाको सन्दर्भमा चौतर्फी चासो व्यक्त भइरहेका वेला राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार भ्याक्सिन दर्ता गरिएको घोषणा गरेका हुन् । राष्ट्रपति पुटिनले आफ्नो दुईमध्ये एक छोरीले समेत भ्याक्सिन लिइसकेको जनाएका छन् । उनले कोभिडविरुद्ध भ्याक्सिन लिएको आफ्नो छोरीका बारेमा भने कुनै जानकारी खुलाएका छैनन् । उनले एकदिन धेरै ज्वरो आउनुबाहेक आफ्नो छोरीको शरीरमा भ्याक्सिनको कुनै ‘साइड इफेक्ट’ नदेखिएको उल्लेख गरेका छन् । रसियाको सरकारी अनुसन्धान संस्थान गमलेयाले सुरक्षा परिषद्सँग मिलेर निर्माण गरेको भ्याक्सिनको नाम ‘स्पुतनिक फाइभ’ राखिएको छ, जुन सोभियत युनियनले सन् १९५७ मा पहिलोपटक सुरु गरेको पहिलो अन्तरिक्ष यानसँग सम्बन्धित छ । 

विश्वभरि सात लाख ४० हजारभन्दा बढीको ज्यान लिनुका साथै विश्व अर्थतन्त्र नै ध्वस्त बनाएको कोभिड महामारीविरुद्ध धेरै देशले भ्याक्सिन निर्माणको प्रयास गरिरहेका छन् । त्यसमध्ये भ्याक्सिन दर्ता गर्ने रसिया नै पहिलो देश बनेको छ । आवश्यक सम्पूर्ण परीक्षण पूरा हुनुपहिले नै सरकारले दर्ता गरेर प्रयोगमा ल्याउने अनुमति दिएको भन्दै युरोपेली देशका विज्ञहरूले भने विरोध गरेका छन् । रसियाले दर्ता गरेको भ्याक्सिनको तेस्रो चरणको ‘क्लिनिक’ परीक्षण सुरु गरेको छ, तर पूरा भइसकेको छैन । निर्माण कम्पनी गमलेयाले गत साताबाट मात्रै तेस्रो चरणको परीक्षण सुरु गरेको छ । त्यसअघि नै त्यहाँको स्वास्थ्य मन्त्रालयले अर्काे महिनाबाटै ठूलो संख्यामा भ्याक्सिन उत्पादन गर्न सुरु गरिने जनाएको छ ।

‘यो बिहान, विश्वमै पहिलोपटक कोरोना भाइरसविरुद्धको भ्याक्सिन दर्ता गरिएको छ,’ मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रपति पुटिनले भनेका थिए, ‘मलाई थाहा छ कि यो प्रभावकारी छ । यसले दीर्घकालीन रोगप्रतिरोधात्मक क्षमता उत्पादन गर्नेछ ।’ त्यहाँको स्वास्थ मन्त्रालयले इन्जेक्सनमार्फत दिइने भ्याक्सिन १ जनवरी २०२१ बाट सर्वसाधारणका लागि समेत उपलब्ध हुने जनाएको छ । विश्वमै कोभिड धेरै संक्रमण देखिनेमध्ये रसिया चौथो स्थानमा छ । रसियामा नौ लाख संक्रमित भएका छन् ।

भ्याक्सिन उत्पादन गर्न पाँच लाख अमेरिकी डलर खर्च

राजधानी मस्कोस्थित सरकारी अनुसन्धान संस्थान गमलेयाले रसियाको रक्षा मन्त्रालय र रसियन डिरेकट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) सँगको समन्वयमा ‘स्पुतनिक फाइभ’ भ्याक्सिन उत्पादन गरेको हो । आरडिआइएफ र अरू सहायक संस्थाहरूले यो भ्याक्सिन उत्पादन गर्न पाँच लाख अमेरिकी डलर खर्च गरेको जनाएको छ ।

- भ्याक्सिनको गत जुन र जुलाईमा गरी दुई चरणको परीक्षण सम्पन्न भएको छ । पहिलो चरणको परीक्षणमा ३८ जना सर्वसाधारण र ३८ जना सैनिक सहभागी थिए । यस्तै, दोस्रो चरणको परीक्षणमा एक सयजना सहभागी भए । उनीहरू सबै आफ्नो इच्छाले परीक्षणमा सहभागी भएका हुन् ।

- तेस्रो चरणको परीक्षणमा हजारौँ सहभागी हुने छन् र त्यसको सुरुवात मंगलबार दर्ता गरेसँगै सुरु भएको छ । आरडिआइएफका प्रमुख किरिल दिमित्रिएभका अनुसार तेस्रो चरणको परीक्षण साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र फिलिपिन्सजस्ता देशहरूमा पनि गरिनेछ ।

यसले कसरी काम गर्छ ?
कोभिडविरुद्धको नयाँ भ्याक्सिनलाई ‘भाइरल भेक्टोर भ्याक्सिन’ भनिएको छ । यो भ्याक्सिनले शरीरमा अर्काे भाइरसको प्रवेश गराउँछ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्नेछ । यो ‘इन्जेक्सन’मार्फत दिइन्छ । चीनमा पनि यस्तै प्रकृतिको भ्याक्सिन उत्पादनको प्रयास भइरहेको छ । 

अहिलेसम्म क–कसले भ्याक्सिन लगाए ?

- गमलेयाका प्रमुख एलेज्यान्डर गिन्ट्सबर्ग र यो भ्याक्सिन निर्माणमा संलग्न वैज्ञानिकहरू आफैँले पनि यो भ्याक्सिन लिएका छन् । धेरै वैज्ञानिकहरूले मानवीय परीक्षणका लागि हतार गरेको भन्दै उनीहरूको यो कदमको आलोचना गरेका छन् । आरडिआइएफका प्रमुख किरिल दिमित्रिएभले उनी र उनको परिवारले पनि यो भ्याक्सिन लिइसकेको जनाएका छन् । 

- राष्ट्रपति पुटिन आफैँले मंगलबार आफ्नो एक छोरीले पनि यो भ्याक्सिन लिएको जनाएका छन् । एक दिन तीव्र ज्वरो आउनुबाहेक छोरीको शरीरमा भ्याक्सिनको अरू कुनै साइड इफेक्ट नदेखिएको राष्ट्रपति पुटिनले जनाएका छन् । रसियाको धेरै राजनीतिकर्मी र व्यापारीहरूले समेत यो भ्याक्सिन लिएको जनाइएको छ । भ्याक्सिन लिएका केहीले भने ज्वरो आउनुका साथै मसल दुखेको बताएका छन् ।

के यो भ्याक्सिन प्रयोग गर्नु सुरक्षित छ ?

- निर्माताहरूले यो भ्याक्सिन सुरक्षित रहेको दाबी गरेका छन् । राष्ट्रपति पुटिन आफैँले पनि मंगलबार यो भ्याक्सिन साँच्चिकै प्रभावकारी हुने र यसले दिगो रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने बताएका छन् ।

- पश्चिमा देशका वैज्ञानिकले भने निकै छोटो समयमा भ्याक्सिन उत्पादन गरेको भन्दै यसको सुरक्षा र प्रभावकारितामाथि नै शंका गरेका छन् । उनीहरूले भ्याक्सिन चाँडो उत्पादन गर्नुपर्ने दबाबका कारण यसमा संलग्न अनुसन्धानकर्ताहरूले आवश्यक प्रक्रिया पूरा नगरेको हुन सक्ने आशंका गरेका छन् ।

- रसियाकै केही भाइरस विज्ञहरूले समेत भ्याक्सिनको सुरक्षामाथि प्रश्न गरेका छन् । उनीहरूले शरीरमा रोगप्रतिरोधात्मक क्षमता भएका बिरामीहरूकै लागि पनि यो भ्याक्सिन घातक बन्न सक्ने बताएका छन् ।

- विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)ले गत साता मात्रै रसियालाई भ्याक्सिन उत्पादन गर्न स्थापित सबै निर्देशिकाहरूको पालना गर्न र आवश्यक सबै प्रक्रिया पूरा गर्न अनुरोध गरेको थियो । यो भ्याक्सिनले मान्यता पाउन परीक्षणको नतिजामा उच्चस्तरमा सुरक्षित देखिनुपर्ने उसले जनाएको छ । तर, रसियाका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले हजारौँको सहभागितामा तेस्रो चरणको परीक्षण जारी रहने जनाएका छन् ।

सर्वसाधारणका लागि यो भ्याक्सिन कहिले उपलब्ध हुन्छ ?

- रसियाको स्वास्थ्य मन्त्रालयले आगामी १ जनवरी २०२१ बाट सर्वसाधारणका लागि उपलब्ध हुने जनाएको छ । रसियाका उपप्रधानमन्त्री तत्याना गोलिकोभाले स्वास्थ्यकर्मीहरूका लागि भने यही महिनाको अन्तिम साता वा अर्काे महिनाको सुरुवातमै भ्याक्सिन लगाउन सुरु गरिने जनाएका छन् ।

- आरडिआइएफका प्रमुख दिमित्रिएभले एकैपटक ठूलो संख्यामा आगामी अक्टोबरमा महामारीको समयमा खटिएका स्वयंसेवीहरूलाई लगाएर सुरु गरिने जनाएका छन् । त्यसको अर्काे महिनाबाट औद्योगिक रूपमै भ्याक्सिन उत्पादन सुरु गर्ने तयारी गरिएको उनको भनाइ छ । दिमित्रिएभका अनुसार अहिले नै विभिन्न २० देशले भ्याक्सिन किन्न ‘अर्डर’ गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा