Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार ०४:०९:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लकडाउन खुलेसँगै अपराध ‘अनलक’ : चेक बाउन्सदेखि रिभेन्ज पोर्नसम्म

Read Time : > 5 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार ०४:०९:००

– कोरोना सिर्जित समस्याले समाजमा आर्थिक संकट गहिरिएको छ । र, भुक्तानीको दबाबमा चेक काट्दा बाउन्सका घटना बढेका छन् ।

– बालबालिकासँग नजिक भएर कानमा लगाएका गहना लुटेर भाग्ने, डलर साट्ने बहानामा कागजको मुठो थमाउने र रिभेन्ज पोर्नसम्मका घटना देखिन थालेका छन् । प्रहरीले लकडाउनयता बढेका नयाँ अपराध शैलीका रूपमा यिनलाई लिएको छ ।

...................

-दैनिक सात बलात्कार : आव ०७६-७७ मा दुई हजार एक सय ४४ बलात्कार र ६ सय ८७ बलात्कार प्रयासका घटना प्रहरीमा दर्ता भएका छन् । यो भनेको दैनिक औसत सातवटा घटना हुन् । आव ०७५-७६ मा यो संख्या तीन हजार १६ थियो । मानव बेचबिखन र बहुविवाहमा पनि कमी आएको छ । मानव बेचबिखनका मुद्दा अघिल्लो वर्ष दुई सय ४७ वटा रहेकामा पछिल्लो वर्ष एक सय ६४ मात्र छन् । बहुविवाहका मुद्दा पनि एक हजार एकबाट घटेर सात सय ३४ मात्र छ । ज्यानसम्बन्धी अपराध आव ०७५-७६ का ६ हजार नौ सय ९६ बाट बढेर सात हजार एक सय ५५ वटा छन् ।

...................

-आत्महत्या दैनिक १७ : अन्य अपराधमा कमी आउँदा आत्महत्याका घटना बढेका छन् । आव ०७६-७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका छन्, जुन दैनिक औसत १७ जना हो । जेठयता दैनिक २० भन्दा बढीले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।
 

११ चैतदेखि ४ साउनसम्म दुई हजार दुई सय १८ आत्महत्याका घटना भएका छन् । तीमध्ये दुई सय ३५ जना १८ वर्षमुनिका बालबालिका छन् । आत्महत्याको मुख्य कारण डिप्रेसन भएको मनोचिकित्सक डा. कपिल उपाध्याय बताउँछन् । ‘अहिलेको अवस्थाले डिप्रेसन बढाउन सक्ने भएकाले आत्महत्या पनि बढ्न सक्छ,’ उनी भन्छन् ।

...................

-सामाजिक मूल्य भत्किन सक्छ : राजेन्द्रसिंह भण्डारी. पूर्वएआइजी - धेरैजसो अपराधको मनसाय आर्थिक पक्ष हुन्छ । कोभिड–१९ का कारण मान्छे आर्थिक संकटमा परेका छन्, जसकारण अपराध वृद्धि हुनु स्वाभाविक हो । समाजमा अब कानुनको अवज्ञा सुरु हुन्छ । त्यसले सामाजिक मूल्य मान्यतामा कमी आउँछ । सामाजिक मूल्य मान्यतामा ह्रास आउँदा आपराधिक प्रवृत्ति मौलाउँछ । यस्तो परिस्थितिमा मान्छेको सोच्ने शैली बदलिन्छ । विगतमा गलत लाग्ने कुरा अब सही लाग्न थाल्छ । र, सामाजिक–पारिवारिक अपराध बढ्न सक्छ । राज्यले पूर्वतयारी गरेन भने अपराध नियन्त्रण बाहिर जान सक्छ । यसलाई रोक्न प्रहरीलाई बलियो बनाउनुको विकल्प छैन । त्यो भनेको प्रहरीको मनोबल बढाउनेदेखि स्रोत साधनमा लगानी गर्ने हो । प्रहरीलाई स्वतन्त्र चल्न दिएर व्यावसायिक बनाएपछि फिल्डमा उसको क्षमता देखिन्छ । कमजोर मानसिकताले प्रहरीले अपराध नियन्त्रण गर्न सक्दैन । सहर, गाउँ, राजमार्ग र सीमा क्षेत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाउनुपर्छ । रेड, एल्लो र ग्रिन जोन छुट्याएर पुलिसिङ गर्नुपर्छ ।

...................

केही दिनयता महानगरीय प्रहरी परिसर काठमाडौंमा बढेको भिडमा साझा समस्या भेटिन्छ, चेक बाउन्स । विभिन्न कारोबारबापत लिइएका चेक नसाटिएपछि बैंकिङ कसुरमा कारबाही माग गर्दै धाउनेको संख्या एक्कासि बढेको छ । ‘यो आर्थिक अपराध बढ्ने संकेत हो,’ परिसरका एसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘कोरोना सिर्जित समस्याले समाजमा आर्थिक संकट गहिरिएको छ । र, भुक्तानीको दबाबमा चेक काट्दा बाउन्सका घटना बढेका छन् ।’ ११ चैतदेखि २९ साउनसम्म काठमाडौं परिसरमा चेक बाउन्सका तीन सय ९२ वटा उजुरी दर्ता भएका छन् ।

अपराध अनुसन्धानका विज्ञहरूको भनाइमा चेक बाउन्सका घटनाको कनेक्सन अपहरण र गुन्डागर्दीजस्ता संगठित अपराधसम्म हुने गर्छ । कानुनी उपचारमा जाँदा रकम उठाउन समय लाग्ने भएकाले मानिस गुन्डागर्दीमा संलग्न व्यक्तिसम्म पुग्ने तथा त्यसले अपहरण र हत्यासम्मका अपराधतिर डो¥याउने विज्ञको भनाइ छ । ०६२–६३ को परिवर्तनलगत्तै बढेको संगठित अपराध केही वर्षयता स्वाट्टै घटेको थियो । पेसेवर अपराध कम हुँदा प्रहरीलाई हाइसन्चो थियो ।

लकडाउन खुुकुलो भएसँगै अपराध पनि बढेको छ । गत जेठमा देशभर दुई हजार तीन सय ९८ अपराध दर्ता भएकामा साउनमा बढेर तीन हजार ६ सय १८ पुगेको छ । यहीबीचमा अर्को नयाँ शैलीको अपराध देखिएको छ– घरआसपास एक्लै रहेका बालबालिकासँग नजिकिने र उनीहरूसँग खेलेकोजस्तो गरेर कानमा लगाएको सुन खोसेर भाग्ने । साउनमा मात्र यस्ता तीनवटा घटना भएका छन् ।

प्रहरीले यसलाई कोरोना संकटपछि देखापरेको अपराधको नयाँ शैलीका रूपमा विश्लेषण गरेको छ । भक्तपुर क्षेत्रमा अर्को नयाँ शैलीको अपराध फाट्टफुट्ट देखिन थालेको छ– डलरको बीचमा कागजको मुठो राखेर नेपाली मुद्रा साट्ने अनि फरार हुने । प्रहरी परिसरका अनुसार ८ साउनमा भक्तपुर मध्यपुरठिमी–९ बोडेमा एक युवकलाई फेसबुकबाट चिनजान भएकी युवतीले १० हजार डलर साट्ने भन्दै तीन लाख ५० हजार रुपैयाँ ठगिन् । डलर प्राप्त हुने लोभमा परेका युवकले तीन लाख ५० हजार रुपैयाँ युवतीलाई दिए । युवती मोटरसाइकल चढेर फरार भइन् । युवकले खोलेर हेर्दा डलरजस्तो देखिने गरी कागजको मुठो थमाएको उजुरी ती युवकले प्रहरीमा दिएका छन् ।

निकट भविष्यमा अपराधका यस्ता नयाँ शैली बढ्न सक्नेमा प्रहरी अधिकारी सचेत देखिन्छन् । ‘त्यस्तो धेरै त छैन, तर केही घटना देखिन थालेका छन्,’ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘अब अपराध बढ्न सक्छ भन्नेमा हामी सचेत छौँ ।’

एसएसपी ज्ञवालीका अनुसार लुटपाट र ठगीका घटना पनि पछिल्ला दिनमा बढेका छन् । खासगरी, लागुऔषध दुव्र्यसनीहरू खर्च जुटाउन लुटपाटमा संलग्न देखिएका छन् । नक्कली नोट छाप्ने र सार्वजनिक स्थलमा पकेटमारीका घटना पनि बढेका छन् ।

अपराधको कारक बेरोजगारी

कोरोना संकटका कारण बेरोजगार बनेका कतिपय युवा बाँच्नकै लागि अपराधमा लाग्न सक्ने महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको विश्लेषण छ । ‘अनलाइनमार्फत हुने ठगी बढ्न थालेको छ,’ उनी भन्छन्, ‘आर्थिक समस्याकै कारण अपराधमा लाग्न सक्ने जोखिम देखिन्छ ।’

छिमेकी भारतमा पनि सडकमा हुने लुटपाटजस्ता अपराध र साइबर ठगीका घटना ह्वात्तै बढेका छन् । अनलाइनबाट सस्तोमा सामान दिने भन्दै ठग्ने, वेबसाइट ह्याक गरेर पैसा असुल्नेजस्ता गतिविधि भारतमा बढेका छन् । भारतको अपराधको जालो र शैलीले नेपालमा पनि प्रभाव पार्दै आएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले आफ्ना सदस्य मुलुकका प्रहरीलाई पठाएको सर्कुलरमा कोरोना संकटले मानव बेचबिखनका घटना बढ्न सक्ने विषयमा सचेत गराएको छ ।

बेरोजगार युवालाई आकर्षक रोजगारीको प्रलोभन दिँदै सीमापार मानव तस्करी बढ्न सक्ने मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलियाको आकलन छ । उनका अनुसार लकडाउन खुलेपछि मानव बेचबिखनका घटना फाट्टफुट्ट देखिन थालेका छन् । इन्टरपोलको सर्कुलरमा भविष्यमा स्वास्थ्यसम्बन्धी नक्कली सामानको कारोबार र अनलाइनमार्फत हुने अपराध धेरै देशमा बढेको उल्लेख छ ।

साइबर अपराध मुख्य चुनौती

लकडाउन सुरु भएलगत्तै साइबर अपराध बढेको छ । इन्टरनेटमार्फत हुने कारोबार बढेकाले त्यससम्बन्धी अपराध पनि बढेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । लकडाउनका चार महिनामा मात्र ब्युरोमा एक हजार एक सय २४ वटा उजुरी परेका छन् । यो संख्या दैनिक औसत १० उजुरी हो ।

लकडाउन सुरु भएयता नै साइबर अपराधसम्बन्धी उजुरी बढेको ब्युरो प्रमुख एसएसपी नवीन्द्र अर्याल बताउँछन् । ‘इन्टरनेटको पहुँच ५० प्रतिशतले बढेको छ, सबैको हातमा स्मार्टफोन छ, जसको दुरुपयोग पनि बढेको छ,’ उनी भन्छन्, ‘विगतमा हामी फेसबुकले समस्या बढायो भन्थ्यौँ, अहिले युट्युब र टिकटकबाट पनि साइबर अपराध बढेको छ ।’

लकडाउनयता अनलाइन कारोबार बढेकाले त्यससम्बन्धी ठगी बढेको छ । यस्तै, निकटस्थ व्यक्तिकै गोप्य तस्बिर र भिडियो इन्टरनेटमा राख्ने ‘रिभेन्ज पोर्न’समेत नेपालमा देखिएको छ । रिभेन्ज पोर्नसम्बन्धी अपराधको आरोपमा २८ असारमा साइबर ब्युरोले गोंगबुका सुरज श्रेष्ठलाई पक्राउ गर्‍यो । एक १७ वर्षीया युवतीसँग सम्बन्ध बिग्रिएपछि प्रतिशोध लिन उनको गोप्य भिडियो खिचेर पोर्न साइटमा अपलोड गरेका थिए ।

मास्कले बढ्यो सुरक्षा चुनौती

कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरिएको छ । यसले संक्रमणलाई नियन्त्रण गरे पनि अपराध बढाउने चिन्ता प्रहरीको छ । मास्कका कारण अपराधीको पहिचानमा समस्या देखिएको छ । ‘सिसिटिभीमा अपराधी देखिए पनि अब पहिचान गर्न कठिन हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘मास्कले अपराध गर्नेहरूलाई सहज बनाएको छ, प्रहरी अनुसन्धानमा कठिनाइ बढेको छ ।’

छैन कार्ययोजना

यहीवेला प्रहरी प्रदेशमा समायोजनको तयारीमा छ । अपराध बढ्ने अवस्थामा प्रहरीको ध्यान अन्यत्र केन्द्रित हुँदा शान्ति सुरक्षामा असर पर्न सक्ने प्रहरी अधिकारीहरू नै बताउँछन् ।

प्रहरीको कार्य तथा अपराध अनुसन्धान विभागले लकडाउन खुलेपछि अपराध बढ्न सक्ने भएकाले त्यहीअनुसार पुलिसिङ गर्न देशभर परिपत्र गरेको छ । सम्भावित अपराधसँग जुध्न दीर्घकालीन र वस्तुगत कार्ययोजना भने बनाएको छैन ।

‘बेरोजगारी बढेको छ, त्यसले स्वाभाविक रूपमा अपराध बढाउन सक्छ,’ विभाग प्रमुख एआइजी हरिबहादुर पाल भन्छन्, ‘हामीले त्यहीअनुसार रोकथामको कार्ययोजना बनाएका छौँ ।’ प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले गत साता सार्वजनिक गरेको योजनामा १४ वटा लक्ष्य समावेश छन्, जसको तेस्रो बुँदामा ‘विशिष्टीकृत र वैज्ञानिक अनुसन्धान प्रणालीको विकास’ भन्ने छ । त्यसअन्तर्गत अपराध अनुसन्धानलाई बलियो बनाउने योजना छ ।

लकडाउनमा अढाई प्रतिशत कम अपराध

लकडाउनका कारण गत आर्थिक वर्षमा अपराधमा केही न्यूनीकरण देखिएको छ, तर आत्महत्या र सामाजिक अपराध बढेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६-७७ मा समग्र अपराधमा २.६७ प्रतिशतले कमी आएको छ । आव ०७५-७६ मा देशभर ४३ हजार ५१ वटा अपराध दर्ता भएकामा ०७६-७७ मा ४१ हजार आठ सय ९८ वटा मात्र छ । तर, ०७६ साउनदेखि फागुनसम्म अपराधको संख्या विगतमा भन्दा १० प्रतिशत बढी थियो । अपराध कम हुनुमा लकडाउन नै कारण देखिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत बताउँछन् ।

आव ०७५-७६ को फागुनमा तीन हजार पाँच सय ७१ वटा अपराधका घटना दर्ता भएका थिए । ०७६-७७ को फागुनमा वृद्धि भएर तीन हजार नौ सय ९८ पुग्यो । यस्तै, ०७५-७६ को चैतमा तीन हजार सात सय ७० घटना भएकामा ०७६-७७ मा दुई हजार चार सय सातवटा मात्र अपराध प्रहरीमा दर्ता भए ।

आव ०७६-७७ मा समग्र अपराध घटे पनि सामाजिक अपराध र आत्महत्यामा भने बढोत्तरी पाइन्छ । आव ०७५-७६ मा सामाजिक अपराध ११ हजार एक सय ८९ रहेकामा आव ०७६-७७ मा ११ हजार चार सय ८१ पुगेको छ । यसअन्तर्गत सार्वजनिक शान्ति, कुटपिट, सार्वजनिक हित र धर्मसम्बन्धी कसुर पर्छन् ।