मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २९ बिहीबार १९:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा आठ स्वास्थ्यकर्मीसहित २० जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १९:५५:००

महोत्तरीमा आठजना स्वास्थ्यकर्मीसहित २० जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार सार्वजनिक पिसिआर रिपाेर्टअनुसार ६ महिला र दुई पुरुष स्वास्थ्यकर्मीसहित २० जनामा कोरोना पुष्टि भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीले सेवा दिँदै आएका सबै स्वास्थ्य चौकी, सहरी स्वास्थ्यचौकी तथा शाखा सिल गरिएकाे छ । उनले संक्रमितसँगै काम गर्ने अन्य स्वास्थ्यकर्मीको समेत कोरोना परीक्षण हुने बताए । यसअघि महोत्तरीमा चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिइसकेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको एमसिएच क्लिनिकका एकजना, सहरी स्वास्थ्य केन्द्र जलेश्वर– ३ खैराका एकजना र मलिवाराका एकजना, सहरी स्वास्थ्य केन्द्र जलेश्वर– ८ रमौलमा कार्यरत कर्मचारी एकजना, स्वास्थ्यचौकी जलेश्वर– ४ सुगाका एकजना, स्वास्थ्य चौकी जलेश्वर– ९ प्रकौलीका दुईजना र जलेश्वर नगरपालिका स्वास्थ्य शाखाका एकजना स्वास्थ्यकर्मीमा कोराेना पुष्टि भएको हो ।

अन्य संक्रमितहरूमा जलेश्वर नगरपालिकाका १  वडासचिव र १  नायब सुब्बा रहेका छन् । यस्तै बर्दिबास नगरपालिका– १ का एकजना, सम्सी गाउँपालिकाका एकजना र लोहारपट्टी नगरपालिकाका एकजना रहेका छन् । यसबाहेक सातजना जलेश्वरकै हुन् । 

बिहीबार कुल संक्रमितमा नौजना महिला र ११ जना पुरुष छन् । हालसम्ममा महोत्तरीमा ६९ महिला र नौ सय ७५ पुरुषमा कोरोना पुष्टि भएको छ भने दुईजनाले ज्यान गुमाइसकेका छन् ।