मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७७ श्रावण २९ बिहीबार १९:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सोती घटना : संसदीय छानबिन समितिको सिफारिसअनुसार मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

Read Time : > 1 मिनेट
रासस
२०७७ श्रावण २९ बिहीबार १९:३९:००

सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिसअनुरूप पश्चिम (रुकुम) सोती घटनाका मृतक परिवारलाई सरकारले प्रतिपरिवार १० लाख राहत दिने निर्णय गरेको छ ।  गत २६ साउनको मन्त्रिपरिषद् बैठकले सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार उक्त राहत रकम दिने निर्णय गरेको थियो । गत जेठ १० गते पश्चिम (रुकुम) को चौरजहारी– ८ सोतीमा भएको झडपमा ज्यान गुमाएका परिवारलाई सरकारले राहत प्रदान गरेको हो । 

गत २६ जेठमा बसेको प्रतिनिधिसभाको बैठकको निर्णयअनुसार  सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय सोती घटना छानबिन संसदीय विशेष समिति गठन भएको थियो । समितिले गत ३० असारमा सभामुख अग्निप्रसाद सापकोटालाई पेश गरेको प्रतिवेदनमा घटनाबाट प्रभावित मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा एवं भरणपोषणको पूर्ण प्रत्याभूति गरिनुपर्ने सिफारिस गरेको थियो । 

यस्तै घाइते युवा, घटना र मुद्दाका विशेष साक्षी भएकाले उनीहरूको स्वास्थ्योपचार, सुरक्षा तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन भनेको थियो । 

प्रतिवेदनको सिफारिसअनुसार नै सरकारले निर्णय गरेपछि समितिका संयोजक देवेन्द्र पौडेलले समितिले गरेको मिहिनेतलाई सरकारले पूरा गरेकोमा धन्यवाद दिएका छन् । उनले समितिको छानबिन टोली जाजरकोट पुग्दा भेरी नदीसँगै आँसुका बलिन्द्रधारा बगिरहेको स्मरण गर्दै सरकारी निर्णयले पीडित परिवारलाई केही राहत प्रदान गरेको बताए ।

सदन नचलेकाे अवस्थामा संसदीय समितिले बुझाएको प्रतिवेदन सभामुखको आदेशअनुसार कार्यान्वयनका लागि संघीय संसद् सचिवालयले गत ८ साउनमा मुख्यसचिवमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको थियो । उक्त प्रतिवेदनका आधारमा सोती घटनाका मृतकका परिवारलाई राहत दिने निर्णय भएको हो ।  

समितिको प्रतिवेदनमा मृतकका परिवार आर्थिक–सामाजिक दृष्टिले अत्यन्तै कमजोर हुनाका साथै उनीहरूका कम उमेरका विधवा पत्नी र नाबालक सन्तान साथमा रहेकाले उनीहरूको भरणपोषण तथा जीविकोपार्जनका लागि तत्कालै विशेष व्यवस्था गर्नसमेत सिफारिस गरेको थियो । 

सोती घटनामा जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विक, गणेश बुढा मगर र सञ्जीव विकको मृत्यु भएको थियो । यस्तै भेरी– ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा चौरजहारी–१ का टीकाराम नेपाली गरी ६ जनाको मृत्यु भएको थियो । सो घटनामा भेरी– ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भँडेल, आशिष विक र  सुदीप खड्का घाइते भएका थिए । यस्तै भेरी– ३ का विभाग पुन, इन्द्रजंग शाही, भेरी– १३ का भोला विसी, भेरी– ११ का गोविन्द सुनार, भेर– ३ का महेश कार्की, सल्यानको कुमाख– ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी–४ का सुनिल सुनार घाइते भएका थिए ।