१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २९ बिहीबार १७:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानको कोभिड– १९ अस्पताल सञ्चालनमा, दुई सय बिमारीको उपचार गर्न सकिने

प्रदेश १ मा आइसोलेसन वेड विस्तारका लागि १ करोड ६० लाख वितरण

Read Time : > 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १७:२६:००

उद्घाटन भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा संक्रमित बिमारी राख्न सुरु गरिएको छ । कोभिड– १९ का बिरामीको संख्या बढ्दै गएपछि बिरामी राख्न सुरु गरिएको अस्पतालले जनाएको छ । 

बिमारीको सुविधालाई ध्यानमा राखी प्रतिष्ठानले दायरा बढाएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । लक्षण देखिएका कोरोना संक्रमितलाई कोभिड– १९ अस्पतालमा भर्ना गर्न थालिएको उनले बताए । 

दुईवटा भेन्टिलेटरसहित एक सय क्षमताको प्रतिष्ठानको आइसोलेसन वार्ड रहेको थियो । कोभिड– १९ अस्पताल सञ्चालनसँगै १० भेन्टिलेटरसहित एक सय बेड थपिएको छ । अब प्रतिष्ठानमा दुई सयसम्म संक्रमित बिमारी राख्न सकिने प्रतिष्ठानले जनाएको छ । 

प्रवक्ता सापकोटाका अनुसार आइसोलेसन १ मा लक्षणसहितका बिमारी राखिनेछ । लक्षणविहीन भएपछि आइसोलेसन २ मा लगिनेछ । त्यसपछि डिस्चार्जको प्रक्रिया हुने उनले बताए । प्रतिष्ठानमा अहिले १५ जना लक्षणसहितका बिमारी राखिएको छ । 

गत ११ वैशाखदेखि सञ्चालन गर्ने भनिएको कोभिड– १९ अस्पतालको उद्घाटन गरिए पनि सञ्चालनमा आएको थिएन । १० वटा भेन्टिलेटरसहितको सो अस्पतालमा आइसियूसरहको एचडियू युनिट पनि रहेको छ । प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा आएसँगै अब १२ वटा भेन्टिलेटर, २० वटा एचडियू युनिटसहित दुई सयजना बिरामीलाई सेवा प्रवाह गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।

आइसोलेसन वार्ड बनाउन प्रदेश सरकारले दियो एक करोड ६० लाख 
कोरोना संक्रमितलाई राखेर उपचार गर्ने आइसोलेसन निर्माण गरी सञ्चालन गर्न प्रदेश १ सरकारले स्थानीय तहलाई एक करोड ६० लाख रुपैयाँ बजेट निकासा गरेको छ । केही दिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सिसिएमसीको बैठकले प्रदेशमा थप आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरूलाई रकम उपलब्ध गराएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

११ वटा जिल्ला अस्पतालहरूलाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन पाँच लाखको दरले बजेट उपलब्ध गराएको छ । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन महानगरपालिकालाई १० लाख, रंगेलीमा सय बेड क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख उपलब्ध गराएको छ । 

यस्तै, सुनसरीको हरिनगर गाउँपालिकामा  जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पीठ, चतरामा सय बेड क्षमताको आइसोलेसनका लागि १५ लाख उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।