मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १७:०२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल धितोपत्रद्वारा ‘आइपिओ’मा बुक बिल्डिङ विधि लागू 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १७:०२:००

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा बुक बिल्डिङ विधि लागू गरेको छ । 

यो विधिमार्फत कुनै पनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र बिक्री गर्न पाउनेछन् । हालसम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्कासन हुँदै आएको छ ।

फिक्स प्राइसिङअन्तर्गत लगानीकर्ताले अंकित मूल्य अर्थात् एक सय रुपैयाँमा आइपिओमा आवेदन दिन पाउनेछन् । त्यस्तै प्रिमियम विधिअन्तर्गत पहिले नै आइपिओको मूल्य निर्धारण भएर निष्कासन गरिएको हुन्छ । जसमा संगठित संस्थाको नेटवर्थको बढीमा दुई गुणासम्मको मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सकिनेछ ।

यी दुई विधिबाट सार्वजनिक निष्कासन गर्ने व्यवस्था गर्दा वास्तविक क्षेत्रका कम्पनीहरू पुँजी बजारमा आकर्षित नभएपछि बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रचलित रहेको बुक बिल्डिङ विधिलाई कार्यान्वयनमा ल्याएको बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बताए ।

बुक बिल्डिङ भन्नाले धितोपत्रको मागअनुसार र कम्पनीको वित्तीय स्थितिअनुसार धितोपत्रको माग कति हुन्छ र कुन मूल्यमा संस्थागत लगानीकर्ताले किन्न चाहन्छन् त्यो आधारमा सार्वजनिक निष्कासनका लागि मूल्य निर्धारण गरिएको हुन्छ ।

यसरी संस्थागत लगानीकर्ताबाट निर्धारण भएको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्ताका लागि धितोपत्र निष्कासन गर्नेगरी बुक बिल्डिङ निर्देशिका २०७७ लागू गरिएको केसीले बताए । 

बुक बिल्डिङ विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्कासन हुने भएको छ । अबदेखि अंकित मूल्यमा, प्रिमियम मूल्यमा र बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्न सकिनेछ । बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्न अंकित मूल्यको १ सय ५० प्रतिशत नेटवर्थ हुनुपर्ने, विगत तीन वर्षदेखि लगातार मुनाफामा भएको हुनुपर्ने, क्रेडिट रेटिङ औसत अथवा सोभन्दा माथि हुनु पर्नेलगायतका व्यवस्था निर्देशिकामा छ ।

धितोपत्र निष्कासन नियमावली २०७३ को नियम २५ ‘ग’ ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले निर्देशिकामार्फत थप प्रक्रियागत व्यवस्थाहरू गरेको हो ।

निर्देशिकाअनुसार संगठित संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार औचित्यसमेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्छ । 

यससँगै न्यूनतम १० योग्य संस्थागत लगानीकर्ताबाट अरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणको सम्बन्धमा सुझाब लिनुपर्छ ।

त्यसपछि प्राप्त आशय मूल्यको आधारमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्यमा माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्यमा तल्लो सीमा हुने गरी मूल्यको सीमा निर्धारण हुनेछ । 

संस्थागत लगानीकर्तालाई निष्कासन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमासहितको विवरणपत्र स्वीकृत भएपछि संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत धितोपत्र निष्कासन गर्नुपर्नेछ ।

 संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी त्यसमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्तालाई धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।