Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ११ आइतबार
  • Sunday, 27 September, 2020
२०७७ श्रावण २९ बिहीबार १२:४०:००
समाचार डिजिटल संस्करण

तीन विकास योजनामा घोटाला भएको भन्दै प्रशासनमा उजुरी

२०७७ श्रावण २९ बिहीबार १२:४०:००

डोल्पाको ठूलीभेरी नगरपालिका– ६ मा सञ्चालित तीनवटा विकास योजनाविरुद्ध छानबिनको माग गरिएको छ ।

उक्त विकास योजनाहरूमा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरूले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम र रकमसहित उल्लेख गरेर उजुरी दर्ता गर्दै सत्यतथ्य छानबिनको माग गरेका हुन् ।

उपभोक्ता समितिमा सोझासाझा सर्वसाधारणलाई राखेर उनीहरूको सोझोपनको फाइदा उठाउँदै तीनवटा विकास योजनामा जिल्ला वन डिभिजन कार्यालयका कर्मचारी र वडाका जनप्रतिनिधि मिलेर योजनाको लाखौँ रकम दुरुपयोग गर्ने गरेको सुशासनका लागि युवा अभियानका अभियन्ता सुमन बुढाले बताए ।

उक्त योजनाहरूको बृहत् छानबिनका लागि स्थानीय युवाहरू मिलेर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको उनले बताए ।

तामाचौर हुँदै सुनदहसम्मको पर्यटन पदमार्गको कुल बजेट २० लाखमा कार्यालयबाट सबै रकम भुक्तानी भइसकेको भए पनि गाउँलेलाई एक रुपैया पनि नबाँडेको पाइएको बुढाले बताए ।

‘त्यसैगरी जैरीताल संरक्षणको कुल बजेट २० लाखमा चार लाख ८८ हजार मात्र रकम गाउँलेलाई वितरण गरिएको छ, बाँकी १४ लाख १२ हजारको कुनै हिसाबकिताब छैन,’ उनले भने, ‘अर्को राधेबल पहिरो नियन्त्रणको २० लाख रकममा आठ लाख ३५ हजार मात्र जनलाई बाँडियो, बाँकी रकमको कुनै हरहिसाब देखाइएको छैन, तीनवटै योजनामा ठूलो रकम घोटाला गरिएको पाएका छौँ, त्यही भएर छानबिनको माग गर्दै प्रशासनमा निवेदन दिएका हौँ ।’

तीनवटै योजना जिल्ला वन डिभिजन कार्यालयबाट सञ्चालित योजना हुन् । 

‘यी विकास योजना प्रतिनिधि मात्र हुन्, वडामा अन्य दर्जनौँ विकास योजनामा खुलेआम भ्रष्टाचार भएको छ, ती कुरा पनि बिस्तारै बाहिर ल्याउँछौँ,’ बुढाले भने । 

जैरीताल संरक्षण समितिका अध्यक्ष नन्दे बुढाले धेरै थोरै रकम जिल्लाका विभिन्न कार्यालयलाई दिएको स्विकारे ।

योजनाका रकमका विषयमा आफूलाई त्यति जानकारी नभएकाले सम्पूर्ण जानकारी दिन सचिवलाई भर्खरै सम्पर्क गराउँछु भनेको केही समयमै उनको फोन स्विच्डअफ भयो ।

यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले निवेदनमा उल्लेख भएअनुसारका तीनवटै योजनाको छानबिन प्रक्रिया सुरु भई कागजपत्र झिकाउने काम भइरहेको जानकारी दिए ।