मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २९ बिहीबार १२:२०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा बल्ल दोब्बर बन्यो पिसिआर परीक्षणको दायरा

Read Time : > 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १२:२०:००

समुदायस्तरमा कोरोना संक्रमण हुन थालेपछि प्रदेश १ सरकारले पिसिआर परीक्षणको दायरा दोब्बर बनाएको छ । 

दैनिक एक हजारसम्म परीक्षण गर्दै आएकोमा बुधबारदेखि परीक्षणलाई दोब्बर बनाइएको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको कोरोना सूचना डेस्कका अनुसार बुधबार एकैदिन प्रदेशमा  १८ सय ७८ जनाको कोरोना परीक्षण गरिएको थियो ।  

प्रदेशमा हालसम्म विराटनगरस्थित कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सुनसरी धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भद्रपुरको मेची अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ । 

परीक्षणको रिपाेर्ट ढिलो हुँदा सरकारको सर्वत्र आलोचना 
समुदायस्तरमा कोरोना संक्रमण हुन थालेसँगै पालिकाहरूले स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने गरेका थिए । 

तर, परीक्षणको दायरा बढ्न नसक्दा नतिजा प्राप्त गर्न निक्कै ढिलो हुने गरेको थियो ।  नतिजा ढिलो हुँदा स्वाब दिएका व्यक्ति र उनको परिवार मात्र नभएर जनप्रतिनिधिहरूसमेत तनावमा पर्ने गरेका थिए । 

संकलन गरेको स्वाब तीन दिन अर्थात् ७२ घन्टाभित्र परीक्षण गरिसक्नुपर्दछ । तर, चार दिनसम्म पनि रिपाेर्ट नआएको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीलाई पटकपटक परीक्षणको दायरा बढाउन अनुरोध गर्नुपरेको थियो । 

उनले अनुरोध गर्दा पनि परीक्षणको नतिजा समयमा नआएपछि सामाजिक सञ्जालमा स्टाटस नै लेखेका थिए, ‘रिपाेर्ट चाँडो होस् भनेर अब क–कसको चाकरी गर्न बाँकी छ ?’  

स्वाब दिएर पनि चार दिनसम्म नतिजा प्राप्त नभएपछि आक्रोशित भएर होम आइसोलेसनमा बसेका पत्रकार मोहन भण्डारीले पनि फेसबुकमा स्टाटस लेखेका थिए, ‘मरेपछि आएको रिपाेर्टकाे के काम ?’ 

यस्तै नागरिक समाजको तर्फबाट पनि कोरोना तीव्र रूपले संक्रमण भइरहेको, तर परीक्षणको नतिजामा हदैसम्म  ढिलाइ भइरहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।   

अनि यसरी बढ्यो पिसिआर परीक्षणको दायरा 
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवका अनुसार प्रदेश सरकारले स्विस सरकारबाट प्राप्त भएको थप दुईवटा मेसिन प्रयोग गर्न थालेको छ । 

एउटा मेसिन विराटनगरस्थित प्रदेश प्रयोगशालाको ल्याबमा र अर्को झापाको भद्रपुरस्थित मेची अस्पतालमा प्रयोग गरिँदै छ । 
दुवै मेसिनका क्षमता प्रतिघन्टा ९६ वटा नमुना संकलन गर्न सक्नेछ । 

प्रदेश प्रयोशालाको मेसिन पूर्ण अवस्थामा सञ्चालन हुन थालेको छ । तर, मेची अस्पतालको मेसिन जडान भएर आन्तरिक परीक्षण गर्ने काम भइरहेको छ । 

प्रमुख यादवका अनुसार मेचीको मेसिनले पनि परीक्षणको नतिजा दिन थालेपछि  दायरा दैनिक दुई हजारभन्दा बढेर जानेछ ।    

यता विराटनगरस्थित कोसी अस्पतालमा बिग्रिएको एउटा मेसिन पनि बनाएपछि सञ्चालन भइसकेको छ । 

धरानको बिपी प्रतिष्ठानमा पनि एउटा छिटाे परीक्षण गर्न सक्ने मेसिन थपिएको छ । 

हाल कोसीमा एक, प्रदेश प्रयोगशालामा तीन र बिपीमा दुईवटा मेसिन सञ्चालन भइरहेका छन् । मेसिन थपिएपछि काम गर्ने प्राविधिक जनशक्ति र काम गर्ने समय पनि बढाइएको छ । 

प्रयोगशाला प्रमुख यादवका अनुसार पहिले प्रदेश प्रयोगशालामा सातजना मात्र प्राविधिक थिए भने हाल बढाएर १२ जना पुऱ्याइएको छ । 

बिपीमा १८, कोसीमा आठजना प्राविधिकले नियमित काम गरिरहेका छन् जसले गर्दा दैनिक एक हजारसम्म मात्र परीक्षण हुँदै आएको पिसिआरको दायरा अब दुई हजारभन्दा बढाएर लान सकिने अवस्था बनेको छ ।   

प्रदेश १ मा पिसिआर परीक्षणको दायरा दोब्बर बनाए पनि अझै पर्याप्त भने भएको छैन । किनभने कोरोना संक्रमण समुदायस्तरमा गइसकेकोले संक्रमणदर अझै तीव्र गतिमा फैलन पनि सक्छ ।