१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका रुकुम पश्चिम
२०७७ श्रावण २९ बिहीबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव नेतृत्व नेकपाका १३ कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
२०७७ श्रावण २९ बिहीबार ११:०९:००

नेत्रविक्रम चन्द नेतृत्व नेकपाका १३ कार्यकर्ता पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत र सल्यानबाट दुई–दुई, दैलेख र डोल्पाबाट एक–एक गरी १३ जनालाई पक्राउ गरिएको हो । 

प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका– ९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ । दुवैजना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीहरूका साथबाट विभिन्न दस्ताबेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगका लागि लेखिएका पत्र तथा रकम असुल गरेका अधकट्टीसमेत बरामद गरिएको बताए ।  

रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हिरामणि रावलसहित समूहका चारजना कार्यकर्तालाई आठबिसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ । 

रावलसहित विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका हुन् ।  

त्यस्तै, दैलेखको आठबिस नगरपालिका– ६ का उदय विक, मुगुको सोरु गाउँपालिका– ६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका– ७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँपालिकाकी सपना बुढा पक्राउ परेका छन् ।

जुम्लाको गोठीचौर गाउँपालिका– १ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका– ४ का मोहन केसी र सोही नगरपालिका– २ का सेजन चन्द पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।  

पक्राउ परेकामध्ये सल्यानबाट एकजनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एकजनालाई मुद्दा दर्ता गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता बाँस्तोलाले उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए ।