Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
शशी थरुर
२०७७ श्रावण २९ बिहीबार ०७:५९:००
शशी थरुर
२०७७ श्रावण २९ बिहीबार ०७:५९:००

भारत ७३औँ गणतन्त्र दिवसको तयारीमा जुटिरहँदा धेरै भारतीय भने सन् १९४७ मा जन्मिएको आफ्नो देशको मूल चरित्र लगभग गुमेको चिन्ता गर्न थालेका छन् । आमनागरिक मात्र होइन, विश्लेषक पनि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय गणतन्त्रलाई दोस्रो चरणमा प्रवेश गराएको निष्कर्ष निकाल्न थालेका छन् । विज्ञका अनुसार सन् २०१९ अगस्ट ५ मा जम्मु र कास्मिरको स्वयत्तता खोसिएपछि सुरु भएको पुरानो भारतको पुनर्गठन एक वर्षपछि अयोध्यामा आएर सम्पन्न भएको छ । यही महिना भारतका प्रधानमन्त्री मोदीले अयोध्यामा भावी राम मन्दिरको जग राखेका छन् । मन्दिर बन्न बाँकी नै छ, तर मन्दिरको भूमिपूजन (र त्यसमा मोदीको सहभागिता)ले मोदी र उनको पार्टी भाजपाको हिन्दुत्व परियोजनामा लालमोहर लगाइदिएको छ । 

स्थापनाकालदेखि भारत एक धर्मनिरपेक्ष राष्ट्र रहँदै आएकोमा अब यो हिन्दू राष्ट्र बन्नेतर्फ अग्रसर छ कि भन्ने चिन्ता छाउन थालेको छ । सन् २०१४ को चुनाव जितेपछि पहिलो कार्यकालमा मोदी सरकार राज्यसंयन्त्रमा आफ्नो शक्ति विस्तार गर्नेमा केन्द्रित रह्यो । यही अवधिमा सडकमा गौरक्षाका नाममा लिन्चिङ (गैरकानुनी एवं भीडबाट हत्या) कार्य बढिरहेको थियो । यसको मुख्य सिकार गैरहिन्दू र त्यसमा पनि मुसलमान परिरहेका थिए । सन् २०१९ मा थप ठूलो मतसहित जित हासिल गरेपछि मोदीले अर्को तहको राष्ट्रिय परियोजना सुरु गरे । यसको सुरुवात मुसलमानमाझ अभ्यासमा रहेको तीन तलाकलाई अपराधीकरण गरेर भयो (त्यसमार्फत सम्पूर्ण मुसलमान समुदायलाई एउटा चेतावनी दिइयो) । त्यसपछि जम्मु र कास्मिरको स्वायत्तता खोसियो (र, संवैधानिक प्रत्याभूति पनि सुरक्षित नरहेको सन्देश दिइयो) । पछि नागरिकता ऐनको संशोधन पारित गरियो (जुन भारतको संविधानको धर्मनिरपेक्षता तथा गैरधार्मिक विचारविरुद्ध सीधा चुनौती थियो) । 

केही वर्षयता संकीर्ण मानसिकतायुक्त साम्प्रदायिक चरित्रको भारत बनाउने प्रयास भइरहेको छ, तर धेरै युवालाई सबैको अधिकार तथा सम्मानको प्रत्याभूत गर्ने उदार लोकतान्त्रिक भारतले मात्र आकर्षित गर्नेछ 

त्यसपछि अयोध्याको मुद्दा आयो । यसबाट पनि मोदी सरकारले सन् १९४७ मा बनेको भारतको अर्को पाटो धार्मिक मेलमिलापमाथि प्रहार गरेको संकेत गरेको थियो । सर्वोच्च अदालतले अयोध्यामा मुसलमानहरूलाई वैकल्पिक क्षेत्र दिने निर्णय सुनायो र यससँगै मुसलमानहरूको किनारीकरणले औपचारिकता पाएको छ । फैसलाको खुसीमा राज्यसंयन्त्र खुलेरै सहभागी भएको देखियो । यससँगै हिन्दू धर्मले औपचारिक रूपमा नयाँ गणतन्त्र (परिस्थिति)को आधारको मान्यता पायो । पुरानो गणतन्त्रको सार धर्मनिरपेक्षता, बहुलवाद र विविधता थियो भने हिन्दुत्व विचार दोस्रो गणतन्त्रको सारजस्तो देखिएको छ । भाजपाले व्यवस्थापिकाको बहुमतको बलमा यी सबै परिवर्तन गर्न सक्यो । सन् २०१४ मा सरकारमा आएदेखि सरकारको विरोध तथा आलोचनालाई राष्ट्रिय स्वार्थविरोधी करार गर्ने प्रयासमा लाग्यो । उदारवादी सोच तथा प्रतिरोधी विचारले राष्ट्रिय सम्मान तथा एकतालाई असर गर्ने विश्वास दिलाउने प्रसार गरिँदै छ ।

यस अवधिमा भारतका स्वतन्त्र संस्थानका पनि कमजोरी देखिए । न्यायपालिका, विपक्षी राजनीतिक दल, मिडिया, निर्वाचन आयोग र विश्वविद्यालयहरूले ‘सैन्य बहुसंख्यकवाद’को लहरलाई प्रतिरोध गर्न सकेनन् । सर्वोच्च अदालतको अयोध्या फैसलाले बाबरी मस्जिद विनाशको विरोध गरे पनि विवादित भूमि हिन्दू पक्षलाई दियो । यसरी बहुसंख्यकवादसँगको आत्मसमर्पणमा न्यायालयको पनि साँठगाँठ देखियो । अन्य प्रसंगमा सर्वोच्च अदालतले सरकारी कदमविरुद्ध परेका मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेको देखियो । जम्मु र कास्मिरसँग जोडिएको धारा ३७० खारेजी र राजनीतिक नेताहरूको गिरफ्तारीको संवैधानिकतामा प्रश्न उठाउँदै परेको मुद्दामा सुनुवाइ नै भएन । विपक्षीहरू सामाजिक सञ्जालमा बढी प्रभावकारी तर अन्य मोर्चामा कमजोर देखिए । अझ विपक्षी दलहरू विभाजित छन् । अयोध्या र कास्मिरका मुद्दामा विपक्षी दलहरू एक–अर्को दलसँग मात्र होइन, पार्टीभित्रै पनि विभाजित देखिएका छन् । 

भारतीय राज्यलाई परिभाषित गर्ने संघर्ष अझै अन्त्य भइसकेको छैन । आज भारतका संस्थापकका विचारलाई भारतलाई हिन्दू राष्ट्र बनाउन चाहने भाजपाले मात्र चुनौती दिइरहेको छैन, भारतीय संस्थापकका विचारले कास्मिरको सबैभन्दा ठूलो सहर श्रीनगरमा ढुंगा हान्ने युवाहरू र छत्तिसगढका जंगलका सशस्त्र हतियार बोकेका माओवादीबाट समेत चुनौती पाइरहेको छ । संकीर्ण मानसिकताले निर्देशित साम्प्रदायिक चरित्रको भारतले टाढिँदै गएका युवालाई कहिल्यै आकर्षित गर्नेछैन । 

सबैको अधिकार तथा सम्मानको प्रत्याभूत गर्ने उदार लोकतान्त्रिक भारतले मात्र त्यो समूहलाई तान्नेछ । पछिल्लो ६ वर्षमा हिन्दू राष्ट्रवादका समर्थक जितको भ्रममा दंग परेका छन्, तर भारतको वास्तविक चरित्रको संघर्ष अझै चलिरहेको छ । अगस्ट ५ मा निर्माण गर्ने प्रयास भइरहेको ध्रुवीकृत भारतले कहिल्यै पनि अगस्ट १५ मा निर्माण भएको एकीकृत भारतलाई विस्थापित गर्न सक्नेछैन । भारत २१औँ शताब्दीमा पनि सफल हुने हो भने ऊ आफ्ना संस्थापकको मूल्यमा प्रतिबद्ध रहनुपर्छ । 

थरुर भारतीय लोकसभा सदस्य, लेखक तथा पूर्वकूटनीतिज्ञ हुन् ।
© Project Syndicate 2020
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य