१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार ०६:१९:००
Read Time : > 3 मिनेट
फिचर

अनलाइनमा जागिर खोज्ने १० गुणा बढे

तर, रोजगारदाता कम्पनीले कर्मचारी माग गर्नै छाडे

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार ०६:१९:००

केही दिनअघि रोजगारी सर्भिसेस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप)को पहलमा ‘देशमै छ रोजगारी’ अभियान सुरु भयो । अर्थमन्त्री डा.युवराज खतिवडाले भर्चुअल माध्यमबाट शुभारम्भ गरेको यो अभियानले देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य लिएको छ ।

कोभिड-१९ को महामारी फैलिएसँगै देशभित्र र विदेशमा रहेका थुप्रै नेपाली बेरोजगार बनेका छन्, जसका लागि झन्डै १० लाख रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन्छ । यस अवधिमा थुप्रै उद्योग, व्यवसाय, अफिसहरू बन्द हुन पुगे । अझै पनि पर्यटन क्षेत्र सम्बद्ध व्यापार, व्यवसाय र अफिसहरू सञ्चालनमा आउन सकेका छैनन् ।

कोरोना भाइरसका कारण ११ चैतमा मुलुक लकडाउन भएसँगै हजारौँ मानिस बेरोजगार बने । चारमहिने बन्दाबन्दीमा कतिले जागिर गुमाए भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन । ६ साउनमा लकडाउन अन्त्यसँगै अनलाइन प्लेटफर्ममार्फत जागिर खोजी गर्ने बढेका हुन् । रोजगारी गुमाएका व्यक्तिहरूले ‘रोजगारी डटकम’मार्फत पायक पर्ने ठाउँमा आफूलाई खोजेको जागिरका लागि आवेदन दिन सक्छन् । कम्पनीका संस्थापक शैलेन्द्र गिरी भन्छन्, ‘अहिले रोजगारी डटकममा देशका विभिन्न ठाउँका लागि १० हजार हाराहारी रोजगारीका अवसर छन् ।’ 

जागिर खोज्ने व्यक्ति र रोजगारदाताबीच अनलाइन ‘जब ब्रिजिङ’को काम गर्दै आइरहेको ‘मेरो जब डटकम’मा लकडाउन खुकुलो भएसँगै जागिर खोज्ने व्यक्तिको संख्या ह्वात्तै बढेको छ । तर, रोजागारीका अवसरहरू असाध्यै सीमित संख्यामा रहेको कम्पनीका संस्थापक गिरी बताउँछन् । उनी ‘मेरो जब’ र ‘रोजगारी डटकम’ दुवै प्लेटफर्मका संस्थापक हुन् गिरी । भन्छन्, ‘अहिले म्यानेजरदेखि उद्योगमा काम गर्ने मजदुर, ड्राइभरसम्म कामको खोजीमा दौडिन थालेका छन् ।’ एउटै जागिरका लागि पनि सयौँको आवेदन आइरहेको उनको भनाइ छ ।

यतिवेला ‘मेरो जब डटकम’, ‘रोजगारी डटकम’, ‘जब्स नेपाल’, ‘ग्लोबल जब डटकम’लगायत दर्जनभन्दा बढी कम्पनीले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई अनलाइन ‘जब ब्रिजिङ’को काम गर्दै आइरहेका छन् । यी अनलाइन प्लेटफर्मका वेबसाइट, फेसबुक पेज, मोबाइल एप, फोनबाट जागिर माग्ने ह्वात्तै बढेका छन् ।

सामान्य समयको तुलनामा हिजोआज अनलाइनमा जागिर खोज्नेहरू आठ-दश गुणाले बढेको गिरी बताउँछन् । ‘अहिले भ्याकेन्सी एकदमै कम खुलिरहेका छन्, बरु कतिपय कम्पनीहरूले अझै कर्मचारी कटौती गरिरहेको अवस्था छ,’ उनी भन्छन्, ‘यता जागिर चाहियो भन्दै इन्क्वायरी गर्नेहरूको संख्या थेगिसक्नु छैन ।’
...

एउटा समय थियो, रोजागारी खोज्ने व्यक्तिहरू पत्रिका हेरेर अफिस-अफिस धाउँदै हिँड्नुपथ्र्यो । रोजगारदाता कम्पनीले मोटो रकम खर्चिएर पत्रिकामा विज्ञापन गर्नुपर्थ्याे, तैपनि योग्य व्यक्ति भेटिने सम्भावना पनि कमै हुन्थ्यो । अहिले जागिर चाहिएको व्यक्तिले अफिस–अफिस धाउँदै हिँड्नै पर्दैन । रोजगारदाता कम्पनीलाई पनि योग्य कर्मचारी खोज्न सकस छैन । प्रविधि विकासले रोजगारदाता र जागिर खोज्ने व्यक्ति दुवैलाई सजिलो बनाइदिएको छ।

दुवै पक्षलाई जब प्लेसमेन्ट कम्पनीहरूले अनलाइन प्लेटफर्ममा भेट गराइदिन्छन् । यी अनलाइन प्लेटफर्ममा रोजगारदाताले आफूलाई चाहिने कर्मचारीको विस्तृत विवरण प्रकाशित गर्छन् भने जागिर खोज्नेले पनि अनलाइनबाटै आफूले खोजेको भ्याकेन्सीमा आफ्नो व्यक्तिगत विवरण भरेर आवेदन दिन सक्छन् । अनलाइनबाटै आवेदन दिन र अनलाइनबाटै परीक्षा लिएर योग्य कर्मचारी छान्न सकिन्छ । 

अहिले सञ्चालनमा रहेका अनलाइन जब प्लेसमेन्ट कम्पनीहरू रोजगारीका लागि प्रमुख माध्यम बनेका छन् । अनलाइन जब प्लेसमेन्टको पायोनियर मानिने ‘मेरोजबडटकम’ले ११ वर्षदेखि रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई जोड्दै आइरहेको छ । यो अवधिमा मेरो जबमार्फत डेढ लाखभन्दा बढीले प्रत्यक्ष जागिरको फाइदा लिइसकेका छन् । वेबसाइट, मोबाइल एप र सामाजिक सञ्जालमार्फत चासो देखाउनेको संख्या सात लाख पुग्न थालेको छ । त्यसमा पनि एक तिहाइभन्दा बढी संख्या महिलाको छ ।

अहिले ‘रोजगारी डटकम’मा देशका विभिन्न क्षेत्रमा करिब १० हजार रोजगारीका अवसर उपलब्ध छन् । काठमाडौं, इटहरी, बुटवल, पोखरा, ललितपुर, कपिलवस्तु, नेपालगन्जलगायत ठाउँमा निर्माण हेल्पर, पियन, मार्केटिङ अफिसर, निर्माण कामदार, काउन्स्लर, टिकेटिङ अफिसर, सेल्स अफिसर, ड्राइभरलगायत पदमा जागिरका अवसरहरू रहेको सञ्चालक गिरी बताउँछन् । विदेशमा रोजगारी गुमाएर फर्किएका नेपालीले जागिर खोज्दै ‘रोजगारी डटकम’मा सम्पर्क गरिरहेको उनको भनाइ छ ।
...

यस्तै, ‘कुमारी जब डटकम’ले ठूला व्यावसायिक घरानादेखि साना रेस्टुरेन्टसम्म कर्मचारी सप्लाई गर्दै आइरहेको छ । सन् २०१४ मा खुलेको ‘कुमारी जब डटकम’का एचआर एक्जुकेटिभ भुवन गौतम भन्छन्, ‘लकडाउन खुलेपछि फोनबाट जागिर सोध्नेको संख्या ह्वात्तै बढेको छ ।’ अहिले जागिर खोज्दै अफिसमै आइपुग्ने मान्छेको संख्या घटेको उनको भनाइ छ । उनी थप्छन्, ‘पहिला अफिसमा दैनिक ७०-८० जना जागिर चाहियो भन्दै आउँथे, अहिले ५-१० जना मात्र आउनुहुन्छ, अहिले अनलाइन र फोनबाट मान्छेले जागिर खोजिरहेका छन् ।’ ‘कुमारी जब डटकम’ले लेबरदेखि म्यानेजर तथा सिइओसम्मको जागिर प्लेसमेन्ट गर्दै आइरहेको छ । 

लकडाउनपछि ‘एचआर नेपाल डटकम’मा पनि जागिरका लागि रिक्वेस्ट प्रशस्तै आइरहेका छन्, तर भ्याकेन्सी ८० प्रतिशतले घटेको छ । अझै कोरोनाको प्रभाव कम भइनसकेको हुँदा जागिरका लागि भ्याकेन्सी कम खुलेको कम्पनीकी एक कर्मचारीले बताइन् । उनी भन्छिन्, ‘अहिले जागिर खोज्ने धेरै छन्, तर जागिरका अवसर एकदमै कम छन् ।’ 

‘राम्रो जब डटकम’मा लकडाउनपछि जागिर पोस्टिङ ६०-७० प्रतिशतले घटेको छ । कारण, बजारको मागजति जागिरका अवसरहरू उपलब्ध नहुनु । ‘लकडाउन अन्त्य भएसँगै जनजीवन सामान्य बन्दै गएको छ, जागिर गुमाएका मान्छेहरूले सम्पर्क गर्न थालेका छन्, तर कम्पनीबाट अझै जागिरको आवेदन खुलेको छैन, बरु कर्मचारी कटौती गरिरहेका छन्,’ कम्पनीका सञ्चालक अनुप आचार्य भन्छन् ।

लकडाउनअघि दिनमा २५-३० जनालाई जागिर दिलाउँदै आइरहेकोमा अहिले पाँच-सातजनालाई मात्र जागिर दिलाउन सकिएको उनको भनाइ छ । अनुप अचार्य, निलाम्बर शर्मा र बन्दना अर्यालले सञ्चालन गरेको ‘राम्रो जब डटकम’ले खासगरी अटोमोबाइल कम्पनी, एफएमसिजी, बैंक तथा वित्तीय संस्थाहरू, एनजिओ तथा आइएनजिओलगायत कम्पनीमा जागिर प्लेसमेन्ट गर्दै आइरहेको छ । 

इन्टरनेटको माध्यमबाट जागिर खोज्नेको ट्रेन्ड बढ्दै 

सन् २००९ मा गिरीले ‘मेरो जब डटकम’ सुरु गरेका थिए । अहिले यो कम्पनी ‘अनलाइन जब ब्रिजिङ’ गर्ने मुलुककै पायोनियर कम्पनी बनेको छ । उनले सन् २०१२ मा दैनिक ज्यालादारीका कामदारहरू ड्राइभर, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन, प्लम्बिङ, हेल्पर, सेल्सम्यानलगायतका लागि ‘रोजगारी डटकम’ सञ्चालनमा ल्याए ।

‘मेरो जब डटकम’मा विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा रोजगारी अवसर उपलब्ध हुन्छन् । दुवै प्लेटफर्मले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच अनलाइन ‘जब ब्रिजिङ’को काम गर्छन् । ‘लकडाउनपछि जागिर खोज्दै आउने धेरै भए, रोजगारीका अवसरहरू कम भएपछि ‘देशमै छ रोजगारी’ अभियान सुरु गरेका हौँ,’ गिरी भन्छन् । 

‘मेरो जब डटकम’मा राखिएको इनोभेटिभ नेपाल ग्रुपको मार्केट म्यानेजरको दुइटा पदका लागि साढे २८ सयजनाले चासो देखाएका छन् । जागिरका लागि सयौँको आवेदन परिसकेको छ । ‘लकडाउनअघि मेरो जबमार्फत एउटा जागिरका लागि २५ जनाको आवेदन आउँथ्यो भने अहिले दुई सयजनाको आउन थालेको छ,’ गिरी सुनाउँछन् । ‘मेरो जब डटकम’ले नेपालमा डेढ लाखभन्दा बढीलाई जागिर दिइसकेको छ । पछिल्लो समय इन्टरनेटको माध्यमबाट जागिर खोज्नेको ट्रेन्ड बढ्दै गइरहेको छ ।