मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चीनबाट उपकरण नआउँदा निर्माण रोकिएको सान्जेन जलविद्युत् आयोजना
जीवन बस्नेत काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १०:०६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनबाट मेसिन र ठेकेदार नआउँदा अधिकांश जलविद्युत् आयोजनाको काम रोकियो

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १०:०६:००

आयोजनाको निर्माण अवधि २ वर्षसम्म पछि धकेलिने, लागत कम्तीमा १० प्रतिशत खर्च बढ्ने

कोरोनाको प्रभावका कारण इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल कार्यलाई चाहिने उपकरण चीनमा रोकिँदा अधिकांश जलविद्युत् आयोजनाको काम रोकिएको छ । त्यति मात्रै होइन, कोभिड–१९ को संक्रमण र अनिश्चित परिस्थितिका कारण जनवरीमै फर्किने गरी गएका चिनियाँ ठेकेदार र कामदार अझै फर्किएका छैनन् । यसले आयोजनाको लागत न्यूनतम १० प्रतिशत वृद्धि गर्ने र ६ महिनादेखि २ वर्षसम्म आयोजना पछाडि धकेलिएको लगानीकर्ताको भनाइ छ । निर्माणाधीन अधिकांश आयोजनामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा चिनियाँ सहभागिता रहेको छ । लकडाउनका कारण चीनको नाका सहज नहुँदा नेपालमा निर्माणाधीन अधिकांश विद्युत् आयोजनालाई असर परेको स्वतन्त्र विद्युत् उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । 

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना (१४.८ मेगावाट) गत असार (आव ०७६/७७) मा सम्पन्न हुनुपर्ने थियो । तर, इलेक्ट्रो मेकानिकल ठेक्का लिएको चिनियाँ कम्पनीका दक्ष जनशक्ति (विज्ञ) र मेसिन इन्स्टल (जडान)सँग सम्बन्धित आवश्यक सामान चीनबाट नआउँदा आयोजना ८ महिनापछि धकेलिएको छ । अझै पनि चीनबाट टर्बाइन र त्यससँग सम्बन्धित अन्य आवश्यक मेसिन र जनशक्ति आउने कुनै टुंगो छैन । यसकारण अझै कति ढिलो हुने निश्चित नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले जानकारी दिए । इलेक्ट्रो मेकानिकलसँग सम्बन्धित ५० प्रतिशत निर्माण सामान (इक्विप्मेन्ट) ल्हासामा रोकिएर बसेको छ । त्यस्तै, जनवरी (पुस)मा नयाँ वर्ष मनाउन गएको चिनियाँ टोली अझै फर्किएको छैन । यसले आयोजनालाई अनिश्चित बनाउँदै लगेको उनको भनाइ छ । हाइड्रो मेकानिकल र सिभिल निर्माण काम भने क्रमशः ९० र ९५ प्रतिशत सम्पन्न भइसकेको छ । 

त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको काम पनि असारदेखि ठप्प छ । हुन त गत पुसमै चिनियाँ ठेकेदार कम्पनीका व्यवस्थापक र कर्मचारी चीन गएपछि कामको गतिमा ह्रास आएको थियो । करिब १ सय चिनियाँ रहेको आयोजनाबाट निर्माणमा सक्रिय ७० जना चीन फर्किएका थिए । त्यसमध्ये १० जनाजति काममा फर्किए पनि बाँकी कामदार र ठेकेदार फर्किएका छैनन् । ३७ मेगावाट क्षमताको यो आयोजना इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) ठेक्कामा निर्माणाधीन छ । यसकारण हाइड्रो मेकानिकल, सिभिल र इलेक्ट्रो मेकानिकल काम चिनियाँ ठेकेदार कम्पनी सिचुआन हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । 

उपकरण र कामदारको अभावमा काम ठप्प रहेको आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले जानकारी दिए । ‘आयोजनाका लागि आवश्यक मेसिन चीनको वुहानलगायत विभिन्न ठाउँमा रहेका कम्पनीमा तयार भइरहेका छन् । ती सामानलाई ल्याउन सकिएको छैन,’ उनले भने । त्यस्तै, केही सामान केरुङ नाकामा थन्किएका छन् । त्यसलाई नेपाल ल्याउन समस्या भइरहेको छ । यसले गर्दा चालू आवको फागुनमा सम्पन्न गर्नुपर्ने आयोजना थप १५ महिना लम्बिने देखिएको प्रबन्ध सञ्चालक गौतमले जानकारी दिए ।

साञ्जेन जलविद्युत् आयोजना (४२.५ मेगावाट) पनि चालू आवमा सम्पन्न गर्ने लक्ष्य छ । तर, चिनियाँ कम्पनीले ठेक्का लिएको इलेक्ट्रो मेकानिकल काम थालिएको छैन । अब एक महिना ढिलाइ भएमा   तोकिएको समयावधिमा सम्पन्न नहुने अवस्था सिर्जना हुन्छ । तर, न त जडान गर्ने सामान आएको छ, न त ठेकेदार नै । यसले आयोजनालाई अनिश्चित बनाएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले बताए । 

साञ्जेन जलविद्युत् आयोजनाका सिइओ श्रेष्ठका अनुसार आयोजनाको ठेक्का लिएको चिनियाँ पक्ष सम्पर्कमा छ । अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण जनशक्ति आउन नसकेको जानकारी उनीहरूले दिएका छन् । साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले चिनियाँ ठेकेदार र कामदारलाई चार्टर फ्लाइटबाट आउनका लागि पनि आग्रह गरिएको बताए । तर, उनीहरूलाई चिनियाँ सरकारी तहबाट नेपाल आउनमा अवरोध भएको बुझिएको उनको भनाइ छ । 

त्यस्तै, त्रिशूली थ्री बी आयोजनामा भने ठेकेदारसँग इमेल, टेलिफोन वा भिडियो कलमार्फत सम्पर्कमा रहेको छ । ठेकेदारले समय बढाउन प्रस्ताव गरिसकेको छ । त्यस्तै, काम गर्ने वातावरण मिलाउन पनि आग्रह गरिरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । 

माघ र फागुनमा कोभिडका कारण चीनमा लकडाउन हुँदा चिनियाँहरू आउन सकेनन् । त्यसपछि लगत्तै नेपालमा चैतबाट उडान अवरुद्ध भयो र आउन सकेनन् । वैशाखदेखि नेपाल सरकारले विभिन्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर ठूला आयोजनाको काम थालनी गरे पनि कामदार र उपकरणको अभावमा प्रगति हुन सकेको छैन । अहिले पनि रसुवागढी, अपर सेती, साञ्जेन, त्रिशूली थ्री बीलगायत आयोजनामा थोरै संख्यामा चिनियाँले काम गरिरहेका छन् ।

लिखु १, लिखु २ र लिखु एका सामान र ठेकेदार भारतमै अड्किए

लिखु खोलामा निर्माणाधीन लिखु १ (७७ मेगावाट), लिखु २ (५१ मेगावाट) र लिखु ए (३० मेगावाट) जलविद्युत् आयोजनामा पनि अहिले काम ठप्प भएको छ । हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल कामको ठेक्का अस्ट्रियन कम्पनी एन्ड्रिचको हो । तर, कम्पनीले भारतमा रहेको कारखानाबाट आयोजनालाई आवश्यक निर्माण सामग्री तयारी गरी ल्याउनुपर्ने थियो । तर, भारतमै कोरोना संक्रमण फैलिँदै गएपछि सामान ल्याउने काम बन्द भएको छ । सामान नै नभएपछि अब आयोजना पनि सम्पन्न हुने म्याद थपिँदै गएको लिखु जलविद्युत् आयोजना अध्यक्ष मोती दुगडले जानकारी दिए । उनका अनुसार लिखु ए असारमै सक्ने लक्ष्य थियो, तर अवस्था सामान्य भएको खण्डमा अबका ६ महिनामा सम्पन्न हुने सम्भावना छ । त्यस्तै, लिखु १ चालू आवको दोस्रो त्रैमासिक र लिखु २ आउँदो वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य थियो । तर, त्यो पनि अनिश्चित बनेको अध्यक्ष दुगडले बताए । लिखु १ र लिखु ए मा बाढीले झण्डै ४ करोड बराबरको क्षति भएको जानकारी पनि उनले दिए । बाढीले ढुवानीका साधन नै बगाएको छ भने टनेलभित्र भल पस्दा भएको क्षतिको मुल्यांकन गर्न बाँकी रहेको आयोजनाका अध्यक्ष दुगडले बताए ।