मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडौं
२०७७ श्रावण २८ बुधबार १९:५१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अब सेयर जारी गर्नुअघि स्वतन्त्र मूल्य निकालिने, वास्तविक क्षेत्रका कम्पनी आउन रहेको अवरोध हट्यो 

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ श्रावण २८ बुधबार १९:५१:००

धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बजारमा सेयर जारी गर्ने कम्पनीले स्वतन्त्र मूल्य कायम गर्न सक्ने भएका छन् । धितोपत्र बोर्डले बुधबार यससम्बन्धी निर्देशिका जारी गरेको हो । 

यसअघि सेयर जारी गर्न चाहने कम्पनीले या त अंकित मूल्य (रु. १ सय) मा वा विभिन्न मापदण्ड पुऱ्याएर नेटवर्थको दुई गुणासम्म हुने गरी प्रिमियम मूल्य तोक्न सक्ने व्यवस्था थियो । अब भने कम्पनीको साख, भावी सम्भावनाको आधारमा पनि मूल्यांकन हुनेछ । वास्तविक क्षेत्रका कम्पनी आउन मुख्य अवरोधको रूपमा मानिएको मूल्यांकनमा अपनाइने नयाँ प्रक्रियाले भने यस्ता क्षेत्रलाई बजारमा आउन आकर्षित गर्ने सम्भावना छ । यसरी सेयरको मूल्यांकन गर्ने अधिकार भने सेयर बजारमा लगानी गर्न स्थापित कम्पनी र धितोपत्र व्यापारी (ब्रोकर, स्टक डिलर, मर्चेन्ट बैंकर)लाई हुनेछ । लगानी कम्पनीको नेटवर्थ  भने कम्तीमा १० करोड रुपैयाँबराबर हुनुपर्नेछ । यी संस्थाहरूले धितोपत्र बोर्डमा योग्य संस्थागत लगानीकर्ताको रूपमा काम गर्न निवेदन दिनुपर्नेछ । 

यसरी सेयरको मूल्यांकन गर्न योग्य संस्थागत लगानीकर्ताहरूलाई सार्वजनिक आह्वान गर्नुपर्नेछ । यो अहिले गरिँदै आएको निष्कासन आह्वानभन्दा अगाडि गर्नुपर्नेछ । योग्य संस्थागत लगानीकर्ताहरूले कम्पनीले जारी गर्नेमध्ये १० प्रतिशत सेयरमा बोलकबोलमार्फत मूल्य निर्धारण गर्नेछन् । सबैले बोलकबोलमा सहभागिता जनाउन सक्ने गरी सूचना प्रवाह गर्नुपर्ने र उनीहरूले स्वचालित विद्युतीय प्रणालीबाट सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । स्वचालित विद्युतीय प्रणालीको सुविधा स्टक एक्सचेन्जले दिनुपर्ने र सो नआउन्जेल भने खाम शिलबन्दीमार्फत बोलकबोल गर्न सकिनेछ । 

योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको शतप्रतिशत रकम तोकिएको निष्कासन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेस गर्नुपर्नेछ । मूल्यांकनकर्ताले बोलकबोलबाट कट अफ रेट निकालेर मूल्य तय गरिनेछ । सबैभन्दा धेरै मूल्य र माग गरिएको सेयर संख्याअनुसार क्रमिक रूपमा बढ्दै जाँदा जुन मूल्यमा आइपुग्दा छुट्याइएको सेयर संख्या सकिन्छ त्यसैलाई कट अफ रेट मानिन्छ । यसरी आएको मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणमा सेयर जारी गर्न सकिने व्यवस्था गरिएको छ । 

यसरी बुक बिल्डिङसहित मूल्य कायम भएको सेयरमा लगानीकर्ताले कम्तीमा ५० कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । बुक बिल्डिङ प्रक्रिया नअपनाइएका सेयरमा भने १० कित्तासम्म सेयरमा आवेदन दिन सकिने व्यवस्था कायम नै छ । 

लगानीकर्ताले बुझाउने अग्रिम रकममा प्रतिफल 
धितोपत्र बोर्डले ब्रोकरहरूलाई अनलाइन कारोबारको क्रममा लगानीकर्ताहरूले बुझाउने रकममा प्रतिफल दिन निर्देशन दिएको छ ।  बोर्डले के–कति प्रतिफल दिनुपर्ने भन्ने कुराको छिनोफानो दुई पक्षले नै मिलेर गर्नुपर्ने व्यवस्था गरेको छ । सम्झौता गर्दा नै दायित्वअनुसार प्रतिफल दिनुपर्ने विषय खुलाउनसमेत निर्देशन दिएको छ । लगानीकर्ताहरूले यसरी अग्रिम रूपमा बुझाइने रकममा प्रतिफल नपाएको गुनासो बढेपछि यस्तो निर्देशन दिइएको हो ।