मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकाेट
२०७७ श्रावण २८ बुधबार १६:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोला तर्न एक हजार तिर्नुपर्ने

Read Time : > 1 मिनेट
हेमन्त केसी, जाजरकाेट
२०७७ श्रावण २८ बुधबार १६:३८:००

भेरी नगरपालिका– ४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्‍याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्‍यो। खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उनले एक हजार रुपैयाँ दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताए ।  फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए । 

पैँतीस किलोमिटर सडकमा अहिले जिपमा जाँदा पनि एक हजार भाडा लाग्ने गर्दछ । वर्षायाममा बाटो ठाउँठाउँमा भत्किएको भन्दै रु. चार सयमा जान सकिने ठाउँमा अहिले एक हजार भाडा लिन थालिएको छ । 


बाँके खोला सानो हुँदा रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको सिमबजार र नलगाड नगरपालिकाको कालिमाटीमा सीधा यातायात सेवा हुने गर्छ । 

खोला बढ्नेबित्तिकै बाँके खोलाको दुई किनारामा जिपहरू राखिएको हुन्छ । सोही दुई किनारका काठको फलेकको सहयोगमा खोला पार गरी पारि रहेको अर्को जिपमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका– ८ का विष्णुकुमारी खत्रीले जानकारी दिइन् । 

बर्सेनि यो ठाउँमा खोलाले दुःख दिने गरेको छ । सोमबार मात्र सोही खोलामा मालबाहक ट्रक फस्दा यातायात सेवा ठप्प भएको थियो । 

जाजरकोट–डोल्पा सडकखण्डको बीचबीचमा १२ खोला छन् । कुनै पनि खोलामा पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेका छन् । मोटरसाइकल तार्न प्रतिखोला रु. एक हजार तिरेर खोला तारेर जानुपर्ने बाध्यता रहेको छ ।

खोलामा पानीको बहाव बढेसँगै यस सडकमा चल्ने खच्चडहरूसमेत ठप्प हुने गरेका छन् । ज्यानको बाजी लगाएर खोला तार्दा धेरैपटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विकले बताए ।  स्थानीय कमल पुनले भने, ‘यो खोलामा आफूले थाहा पाउँदासम्म सातजनाको बगेर मृत्यु भइसक्यो । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।’

बाँके खोलामा पुल निर्माण सुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । रुकुम पश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । पन्ध्र वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्नुपरेको हो । 

जाजरकोट–डोल्पा सडकखण्डमा यात्राभन्दा सास्ती बढी भोग्नुपरेको छ । नलगाड नदी र धुर्मेखोलामा पुल निर्माण नहुँदा दल्लीबाट तल्लु बगरसम्म अर्को जिप चढेर यात्रा गर्नुपर्ने बाध्यता छ । नलगाड नदी सानो हुँदा काठको फलेकबाट तरेर जाने यातायातका साधनहरू नदीमा पानीको बहाव बढेसँगै ठप्प भएका छन् ।