मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २८ बुधबार १३:४९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल सहभागी हुने विश्वकप र एसियाकपको दोस्रो चरणका छनोट खेल अर्काे वर्षका लागि सऱ्याे

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १३:४९:००

नेपाल सहभागी हुने विश्वकप २०२२ र एसियाकप २०२३ को दोस्रो चरणका छनोट खेलहरू कम्तीमा अर्काे वर्षका लागि सरेका छन् ।

यी दुवै प्रतियोगिताको छनोट खेलअन्तर्गत नेपालले आगामी अक्टोबर र नोभेम्बरमा तीन खेल खेल्ने तय भएको थियो ।

नेपालले ८ अक्टोबरमा चाइनिज ताइपे, १३ अक्टोबरमा अस्ट्रेलिया र १२ नोभेम्बरमा जोर्डनसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो निर्णयसँगै यी खेलहरू यो वर्ष नहुने निश्चित भएको छ । फिफाले कोभिड १९ महामारीका कारण छनोट खेलहरू सार्नुपरेको जनाएको छ । फिफाले यी खेलको मिति अहिले नतोके पनि अवस्था हेरेर २०२१ मा गरिने जनाएको छ ।

‘धेरै देशमा अझै पनि कोभिड– १९ महामारी नियन्त्रणबाहिर देखिएका छन् । खेल खेल्न टोलीहरू भेन्युमा पुग्न पनि हवाई सेवा सञ्चालनमा नरहेकाले समस्या देखिएको छ,’ फिफाले विज्ञप्तिमा भनेको छ, ‘सोही कारण हामीले यी दुवै प्रतियोगिताको छनोट खेलहरू अहिलेलाई स्थगित गरेका छौँ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही खेलको तयारीस्वरूप खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको छ । त्यसकै लागि एन्फाले बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीको सोमबार र मंगलबार पिसिआर परीक्षण गराएको छ ।

परीक्षण रिपोर्ट आएपछि संक्रमण नदेखिएका खेलाडीलाई सहभागी गराएर प्रशिक्षण सुरु गर्ने तयारी एन्फाले गरेको छ । त्यसका लागि खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापकका लागि एन्फाले आफ्नै एकेडेमीमा आवासीय सुविधाको व्यवस्था गरेको छ ।