१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २८ बुधबार ०८:३४:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

सामाजिक सञ्जालमा अनौठो ट्रेन्डिङ, चर्चामा ‘ह्यासट्याग विनोद’

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २८ बुधबार ०८:३४:००

यतिवेला सामाजिक सञ्जालमा ‘विनोद’ ट्रेन्डिङ भइरहेको छ । भारतमा भाइरल भइरहेको ‘ह्यासट्याग विनोद’ नेपालमा पनि माइक्रो ब्लगिङ साइट ट्विटरको टप ट्रेन्डिङ लिस्टमा छ । दशौँ हजारले यही ट्रेन्डिङलाई उपयोग गर्दै आफ्ना पोस्टहरू सेयर गरेर रमाइलो गरिरहेका छन् ।

भारतका कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो ‘ट्विटर युजर’ नाम नै परिवर्तन गरी विनोद राखेका छन् । भारत र नेपालमा चर्चित ब्रान्डहरूले पनि ह्यासट्याग विनोदमा आफ्ना पोस्टहरू सेयर गरिरहेका छन् । विनोदसँग जोडेर ट्विटर र फेसबुकमा धेरै मिम बनिरहेका छन् । गब्बर सिंह नामका ट्विटर प्रयोगकर्ताले पेटिएमलाई नाम परिवर्तन गर्न सुझाब दिएका छन् । ‘पेटिएम के तपाईं आफ्नो नाम परिवर्तन गरी विनोद राख्न सक्नुहुन्छ,’ गब्बर नामको ट्विटर प्रयोगकर्ताले यस्तो पोस्ट गरेका छन् । यो ट्विटमा तीन हजारजनाले लाइक गरेका छन् भने २०३ जनाले कमेन्ट गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा विनोदको चर्चा किन धेरै भएको र सबैले प्राथमिकतामा किन राखेको भन्ने विषयले चर्चा पाएको छ । एक साताअघि केवल तस्बिरको स्थानमा बी अक्षरको ट्विटरबाट विनोद मात्र पोस्ट भएको थियो । विनोद थारू नामले त्यत्तिकै विनोद मात्र पोस्ट गरे ।

विनोद मात्र लेख्दा सातजना व्यक्तिले लाइक गरेका थिए । यसैको आधारमै चर्चित युट्युब च्यानल स्लायी प्वाइन्टले विनोद नामबाट एउटा भिडियो बनायो । अभ्युदय तथा गौतमीले चलाएको युट्युब च्यानलमा विनोद को हुन् र किन सबैले पछ्याएको विषयमा एउटा भिडियो सेयर गरेका छन् । यो भिडियोलाई सात लाख ६७ हजारले लाइक गरेका छन् । अहिलेसम्म यो भिडियोलाई ८६ लाख १९ हजार नौ सय ८२ जनाले हेरिसकेका छन् ।

‘डियर विनोद, हामीलाई आशा छ, तपाईंको नाम पक्कै पनि अनलाइनको पासवर्ड होइन होला । यो निकै भाइरल बनेको छ, परिवर्तन गर्नुहोला ।’

विनोद नामको ‘मिम’ भिडियो एक सातामै भाइरल बनेपछि यसको असर मुम्बई पुलिसमा समेत परेको छ । मुम्बई पुलिसको आधिकारिक ट्विटरले समेत विनोदलाई मेन्सन गरी कमेन्ट सार्वजनिक गरेको छ । मुम्बई पुलिस ट्विटर अकाउन्टबाट विनोदलाई प्रश्न गर्दै लेखिएको छ, ‘डियर विनोद, हामीलाई आशा छ, तपाईंको नाम पक्कै पनि अनलाइनको पासवर्ड होइन होला । यो निकै भाइरल बनेको छ, परिवर्तन गर्नुहोला ।’

यसैगरी, नेटफ्लिक्स इन्डियाले दिनकै महत्वपूर्ण टाइटल भनी राखेको छ । भारतको सामाजिक सञ्जाल अहिले विनोदकै नाममा ह्यासट्याग राखी सा-साना भिडियो सेयर भइरहेका छन् । ‘हामीहरूको नाम सबैतिर छाएको छ,’ विनोद अकाउन्टमा यस्तो लेखिएको छ । धेरैको अकाउन्टमा एउटै प्रश्न छन्, ‘विनोद को हुन् ?’
...

छिमेकी मुलुक भारतमा निकै भइरल भइरहेको ह्यासट्याग विनोद ट्रेन्ड नेपालमा पनि भित्रिसकेको छ । नेपाली ब्रान्ड र ट्विटर प्रयोगकर्ताहरू पनि यही ट्रेन्डिङमा जोडिन थालेका छन् । उनीहरूले आफ्ना ट्विटरमा विनोदलाई जोडेर आफ्ना पोस्ट सेयर गरिरहेको देखिन्छ । नेपालमा रहेका प्रख्यात कम्पनीहरूले ह्यासट्याग विनोद ट्रेन्डिङको भरपूर प्रयोग गर्दै विज्ञापन गर्न भ्याइसकेका छन्।

ह्यासट्याग विनोद ट्रेन्डिङमा जोडिने कम्पनीमा एनआइसी एसिया बैंक अगाडि देखिएको छ । बैंकले विनोदलाई जोडेर विज्ञापन नै बनाएर ट्विट ग-यो । बैंकले अफिसियल ट्विटर ह्यान्डलबाट पोस्ट गरेको कर्जाको स्किममा भनिएको छ, ‘स्मार्ट विनोद, जसले सुपर चामत्कारिक व्यवसाय कर्जाबाट न्यून ब्याजदरमा कर्म लिएर व्यवसाय सुरु गर्नुभयो । तपाईं विनोदजस्तै स्मार्ट कहिले बन्ने ।’

अनलाइन पेमेन्ट गेटवे खल्तीले पनि विनोदको ट्रेन्डिङलाई पछ्याएको छ । खल्तीले ट्विटरमा आफ्ना फलोअरलाई सोधेको छ, ‘कतिजना विनोदले खल्ती एप प्रयोग गर्नुभएको छ ? तपाईं कसरी रातारात प्रसिद्ध भएको महसुस गर्नुहुन्छ ?’

चिनियाँ मोबाइल कम्पनी साओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोटारीले पनि ह्यासट्याग विनोद ट्रेन्डिङमा रमाइरहेका ट्विटर प्रयोगकर्तालाई लक्षित गर्दै ‘रेड्मी नोट ९ प्रो म्याक्स’ मोबाइलको प्रचार गरेका छन् । उनको ट्विटलाई रिट्विट गर्दै साओमी नेपालले लेखेको छ, ‘हाम्रा कन्ट्री जनरल म्यानेजर सौरभ कटारीलाई थाहा छ कि वास्तविक विनोद को हो । यदि तपाईंलाई उहाँ ठीक हुनुहुन्छ भन्ने लाग्छ भने रिट्विट (आरटी) गर्नुहोस् ।’

यो ट्रेन्डिङलाई ब्रान्डले मात्र नभई अरू ट्विटर प्रयोगकर्ताले पनि पछ्याएर रमाइलो गरिरहेको देखिन्छ । प्रधानमन्त्री केपी ओलीको फोटो राखेर ह्यासट्याग विनोदमा एउटा मिम बनाइएको छ, जसमा प्रधानमन्त्रीले भनिरहेका छन्, ‘विनोद भी नेपाली हें ।’

अर्काे नाम नखुलेको ट्विटर ह्यान्डलबाट नेपालका अर्बपति व्यवसायी विनोद चौधरीको बायोडाटा राखेर बनाएको मिम पोस्ट गरिएको छ, ‘विनोद इज बिलिनियर !’ अहिले नेपालमा पनि ह्यासट्याग विनोद लेखिएका पोस्टहरू आउन थालेका छन् । भारतमा भइरल भइरहेको ह्यासट्याग विनोद ट्रेन्डिङ अहिले नेपालमा पनि भाइरल बनिरहेको छ ।
...

विगतमा पनि यस्ता अनौठा नाम भएका ह्यासट्याग ट्रेन्डिङमा आएका थिए । कान्तिपुर टेलिभिजनमा सञ्चारकर्मी सुमन खरेलले कञ्चन शर्माको अन्तर्वार्ता लिएपछि ‘सुमन भाइ’ ह्यासट्याग भाइरल भयो । ‘सुमनसँग’ कार्यक्रममा अन्तर्वार्ता दिँदै शर्माले सुमन भाइ भन्ने शब्द पटक–पटक दोहो-याएपछि तथा शर्माले आफ्ना श्रीमान्विरुद्ध झुटा आरोप लगाएको कुरा बाहिर आएपछि उक्त ह्यासट्याग भाइरल भएको हो ।
...

नोबडी लाइक्स मी’

कोभिड–१९ महामारीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै व्यवहारले आलोचित बने । भाइरस संक्रमण रोक्न ‘लकडाउन’ नगर्ने अभिव्यक्ति र आफूले पनि मास्क नलगाउनेजस्ता व्यवहारले उनलाई आलोचनाले छाडेन । कोभिड महामारीकै विषयमा गत जुलाईको अन्तिम साता उनले दिएको एउटा अभिव्यक्ति ट्विटरमा ट्रेन्डिङमै आयो । ह्वाइटहाउसमा कोभिड महामारी र यसको रोकथामको सन्दर्भमा भइरहेका प्रयासबारे ‘ब्रिफिङ’ थियो । अमेरिकामा कोभिड महामारी रोकथामका लागि बनाएको कार्यदलको प्रशासनिक काम डा.एन्थोनी फाउसीले हेरिरहेका छन् ।

कार्यदलमा अरू डक्टर र राष्ट्रपति ट्रम्प आफैँ पनि छन् । सबैको उपस्थितिमा ट्रम्पले कोरोना रोकथामका लागि सरकारले गरिरहेको प्रयासमा डा.फाउसीको मात्रै प्रशंसा भएको र अरूको आलोचना भएको बताएका थिए । उनले यसमा आफ्नो अझ बढी आलोचना भएको बताएका थिए । यही सन्दर्भमा उनले भनेका थिए, ‘ह्वाई नो बडी लाइक्स मी ?’ यसको अर्थ हो, मलाई किन कसैले मन पराउँदैनन् ? ट्रम्पको सोही अभिव्यक्तिपछि ट्विटरमा ह्यासट्याग नोबडीलाइक्समी लेख्दै ट्विट सुरु भएको थियो । त्यही दिन उनको यो अभिव्यक्ति ट्विटरमा ट्रेन्डिङमा आएको थियो।

भ्यागुता पनि ट्रेन्डिङमा

गत जुलाईको पहिलो साता इन्डियन फरेस्ट सर्भिस (आइएफएस)का अधिकारी परविन कस्वानले पहेँलो रंगको एक हुल भ्यागुता पोखरीमा खेलिरहेको ‘भिडियो क्लिप्स’ ट्विटरमा सेयर गरेका थिए । उनले ती भ्यागुता भारतको मध्यप्रदेशअन्तर्गत नर्सिङपुरमा भेटिएको जनाएका थिए । उनले उक्त पोस्टको क्याप्सनमा लेखेका थिए, ‘यी भ्यागुता मनसुन र पोथी भ्यागुतालाई आकर्षित गर्न पहेँलो रंगमा बदलिन्छन् ।’ उनले पोस्ट गरेको यो भिडियो क्लिप्स केही समयमै ट्विटरमा ट्रेन्डिङमा आएको थियो ।

X ᴁ A-12

अन्तरिक्ष उडानसम्बन्धी प्रविधि र आवश्यक सामग्री उत्पादन गर्ने अमेरिकन कम्पनी स्पेस एक्सका प्रमुख कार्यकारी इलोन मस्क र गायिका ग्रिमेजको छोराको नाम हो, X ᴁ A-12 । उनीहरूको गत मे पहिलो साता छोरा जन्मिएको थियो । त्यसलगत्तै मस्कले ट्विटरमार्फत आफ्नो छोराको नाम X ᴁ A-12 राखेको घोषणा गरेका थिए । ग्रिमेजले पछि ट्विटरमै आफ्नो छोराको नामको अर्थ पनि भनेकी थिइन् । त्यसमा उनले सामुद्रिक जहाजदेखि आफूहरू सम्बन्धित धेरै चिजलाई जोडेर छोराको नाम राखेको जनाएकी थिइन् । उच्चारण गर्नसमेत मुस्किल हुने यो नाम सबैका लागि अनौठो रह्यो । त्यससँगै धेरैले यो नाम कसरी उच्चारण गर्ने भनी ट्विट गरे । उनीहरूको छोराको यो नाम ट्विटरमा ट्रेन्डिङमै आएको थियो।

- एजेन्सीको सहयोगमा