१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस सिन्धुली
२०७७ श्रावण २८ बुधबार ०८:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित    

Read Time : > 1 मिनेट
रासस सिन्धुली
२०७७ श्रावण २८ बुधबार ०८:३१:००

निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान

जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो ।     

बागती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेका अवस्थामा उनीहरूलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ प्रहरी कर्मचारी निलम्बित छन् ।     

उनीहरूलाई सवारीचालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई थप छानबिन गर्न निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए । उनका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन् ।     

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् । 

यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए ।

निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत थिए । 

निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । 

आफ्नो ड्युटीमा इमानदारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारबाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ ।