मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २८ बुधबार ०८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोटीमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३२ घाइते    

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार ०८:१६:००

डोटीको पूर्वीचौकी गाउँपालिका– १ फुलौटमा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामतर्फ जाँदै गरेको ना.६ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।     
     
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । उनले भने,  ‘हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको संख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।’

बिहान ५ बजेतिर दुर्घटनामा परेकाे बस सडकबाट ३० मिटर तल खसेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।