१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कृष्ण रिजाल काठमाडौं
केदार दाहाल काठमाडौं
२०७७ श्रावण २८ बुधबार ०८:३५:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजगढ विमानस्थल : विश्वकै ठूला एयरपोर्ट निर्मातालाई अयोग्य घोषित गरी जिम्मा पाएको जुरिचले ११ महिनासम्म प्रस्ताव नै पेस गरेन

Read Time : > 5 मिनेट
कृष्ण रिजाल, काठमाडौं
केदार दाहाल, काठमाडौं
२०७७ श्रावण २८ बुधबार ०८:३५:००

- लगानी बोर्डले ६ असोज ०७६ मा जुरिचलाई छनोट गरेको थियो, तर अहिले निजगढ बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा पनि दिनुपर्ने नयाँ सर्त

.......   .......  ........

निजगढ विमानस्थल निर्माण गर्न प्रस्ताव पेस गरेका ६ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीलाई सर्ट लिस्ट नै नगरी छनोट गरिएको स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले एक वर्षसम्म प्रस्ताव नै पेस गरेको छैन ।

गत वर्ष लगानी सम्मेलनका क्रममा निजगढ विमानस्थल बनाउन प्रस्ताव पेस गरेका सात कम्पनीमध्ये अन्यलाई प्राविधिक र वित्तीय रूपमा अयोग्य घोषित गर्दै जुरिचलाई मात्रै छनोट गरेको थियो । ६ असोज २०७६ को बोर्ड बैठकले जुरिचसँग मात्रै थप प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

गत ३ माघमा बोर्डले जुरिचसँग व्यावसायिक र प्राविधिक प्रस्ताव दिन ४५ दिनको म्यादसहित सूचना निकाले पनि हालसम्म पनि उसले प्रस्ताव पेस गरेको छैन । बरु पटक–पटक म्याद थपका लागि दबाब दिँदै आएको छ । सुरुको सूचनाअनुसार कम्पनीले १८ फागुनभित्रै प्रस्ताव पेस गर्नुपर्ने भए पनि प्रस्ताव नआएपछि सरकारले म्याद थप गरेर असोजको दोस्रो सातासम्म पु-याएको छ । 

स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले निजगढ एयरपोर्ट बनाउने भनेर लगानी बोर्डले बताएको थियो । तर, कम्पनीको मलेसियास्थित कार्यालयबाट प्रस्ताव हालिएको र हाल लगानी बोर्डले पनि मलेसियन कम्पनीसँगै पत्राचार गरिरहेको पाइएको छ ।  

लगानी बोर्डले लगानी सम्मेलनको समयमा राखेका आयोजनामध्ये सबैभन्दा आकर्षक परियोजना भन्दै निजगढको प्रचार गरिएको थियो । सोही कारण विश्वका उत्कृष्ट कम्पनीहरूले चासो दिएर प्रस्तावसमेत पेस गरेका थिए । ४ खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना निर्माणमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, फ्रान्सको भिन्सी ग्रुप, कतार एअरवेज, भारतको जिएमआर ग्रुप, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र नेपालको म्याट्रिक्स इन्टरप्राइजेज प्रालिले प्रस्ताव पेस गरेका थिए । तर, बोर्डले यी सबै कम्पनीलाई अयोग्य ठहर गरेको थियो ।

जुरिचले प्रस्ताव नपठाएको खण्डमा निजगढ एयरपोर्टको काम अन्योलमा पर्ने छ । निजी लगानीमा विमानस्थल बनाउने हो भने पुनः नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । ‘अन्य कम्पनी सर्ट लिस्टमै नपरेकाले उनीहरूसँग वैकल्पिक प्रस्ताव माग्ने विकल्प पनि बाँकी छैन,’ बोर्ड स्रोतले भन्यो ।  

सर्वोच्च अदालतले तत्काल एयरपोर्ट क्षेत्रमा रूख नकाट्नु भनेर दिएको अन्तरिम आदेशलाई कारण देखाउँदै जुरिचले प्रस्ताव पेस गर्न ढिलाइ गरिरहेको छ । पछिल्लो समय लकडाउनका कारण अलमलमै तीन महिना बितेपछि सरकारले १४ असोजसम्म म्याद थप गरेको छ । तर, म्याद अझै थप्ने लबिङमा जुरिच लागेको पर्यटन स्रोतको भनाइ छ । तर, पर्यटनमन्त्री योगेश भट्टराईले सेप्टेम्बरसम्मलाई दिएको म्यादमा जुरिचले प्रस्ताव नपठाए अन्य विकल्पमा जाने बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत दिनुपर्ने जुरिचको सर्त

जुरिचले सर्वोच्चको आदेशलाई कारण देखाए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसमेत गर्न पाउनुपर्ने माग राखेको तथ्य खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ४५ लाख हाराहारी अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिँदै आएको छ । यसको आम्दानी वार्षिक रूपमा ७ अर्ब हाराहारीको छ । नागरिक उड्डयन प्राधिकरणको मुख्य आम्दानीको स्रोत नै त्रिभुवन विमानस्थल हो । 
 
जुरिचको प्राथमिकता उत्तर प्रदेशमा हुँदा निजगढ अलपत्र

जुरिच एजीले भारतको उत्तर प्रदेशमा समेत अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको छ । भारतले राजधानी नयाँदिल्लीलाई सेवा दिने हिसाबले नोइडा इन्टरनेसनल ग्रिनफिल्ड एयरपोर्ट बनाइरहेको छ । गत वर्ष सन् २०१९ मा जुरिचले सो विमानस्थल बनाउने ठेक्का पारेको हो ।  

जुरिचको पूरा ध्यान भारतको नोइडामा निर्माणाधीन विमानस्थलमा रहेकाले निजगढ प्राथमिकतामा नपरेको लगानी बोर्डका एक अधिकारीले बताए । ‘जुरिचले पारिपट्टि (भारतमा) बनिरहेको विमानस्थलमा आफूलाई फोकस गरेको बुझिन्छ, उसले निजगढमा उल्लेखनीय चासो देखाएको देखिन्न,’ उनले भने, ‘त्यही भएर व्यावसायिक प्रस्तावना दिन ढिला गरिरहेको छ, हामीले पनि जुरिचलाई अन्तिम मौका दिएर अर्कै विकल्प सोच्ने देखिएको छ ।’ 

भारतले नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले अबको केही वर्षपछि चाप धान्न नसक्ने भन्दै विकल्पमा नोइडा विमानस्थल निर्माण थालेको हो । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीबाट ७२ किलोमिटरको दूरीमा रहेको यस विमानस्थलको सुरुवाती लागत २ खर्ब ९५ अर्ब ६० करोड भारु रहेको छ । ५ हजार हेक्टरमा फैलिएको यस विमानस्थलमा पहिलो फेजमा सन् २०२२÷२३ मा दुईवटा रनवेसहितको पूर्वाधार निर्माण भई सञ्चालनमा आउनेछ । दोस्रो फेजमा यसलाई ७ हजार २ सय हेक्टरमा विस्तार गरेर चारवटा रनवे थप गरिनेछ । 

बाराको निजगढमा प्रस्ताव गरिएको निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टको कुल लागत ३ अर्ब ४५ करोड अमेरिकी डलर अर्थात् करिब ४ खर्ब रहेको छ । नेपाल सरकारले यसलाई बुट मोडलमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।

अहिलेसम्म के–के भयो ? 

निजगढ विमानस्थल निर्माणमा कटान गर्नुपर्ने रूखको गणना गर्न वन मन्त्रालयले सुरु गरेको छ । पर्यटन मन्त्रालयको पटक–पटकको आग्रहपछि वन विभागमार्फत जिल्ला वन कार्यालयले रूख गणना सुरु गरेको हो । पहिलो चरणमा १ लाख १५ हजार ठूला रूख र ४ लाखभन्दा बढी साना रूख कटान हुने अनुमान रहेको छ ।

सर्वोच्चको आदेशले केही समय रोकिए तापनि रूख कटानको विषयमा अदालतको आदेश भएकाले गणना सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । कति रूख काटिने भन्ने यकिन तथ्यांक आएपछि अन्य प्रक्रिया अगाडि बढ्नेसमेत पोखरेलले बताए । निजगढको मास्टर प्लान बनाउने कार्यको सुरुवातसमेत प्राधिकरणले गरेको छ । 

यता वन तथा वातावरण मन्त्रालयअन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा पेरिफेरी रोड निर्माणका निम्ति गणना गरिएका ४ हजार २ सय ३२ वटा रूखहरूको कटान स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्‍समक्ष पेस गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत दिनेबित्तिकै पेरिफेरी रोडका लागि उक्त रूख कटानको कार्य सुरु गर्ने सरकारको तयारी छ । 

विमानस्थल निर्माण क्षेत्रमा पर्ने पसाहा खोलाको ३० प्रतिशत तटबन्ध निर्माण कार्य गत आवमा सम्पन्न भएको छ । त्यस्तै, बकैया खोलाको ४० प्रतिशत तटबन्ध निर्माण कार्यसमेत सम्पन्न भएको छ । 

सर्वोच्चको आदेशलाई कारण देखाउँदै प्रस्ताव पठाएको छैन : राजन पोखरेल, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

निजगढको सम्बन्धमा मुख्य जिम्मेवार लगानी बोर्ड हो । तैपनि, हामीले प्राविधिक रूपमा सहयोग गरिरहेका छाैँ । जुरिचले खासगरी सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लिएर पटक–पटक प्रश्न गरेको छ ।

लगानी गर्नका लागि उसले सर्वोच्चको अन्तिम फैसला कुरेको देखिन्छ । सर्वोच्चको आदेशपछि मात्रै प्रस्ताव पठाउने जनाउँदै आएको छ ।

विश्वकै ठूला निर्माण कम्पनी सर्ट लिस्टमै परेनन् 

- चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन 

चीन सरकारको स्वामित्वको यो कम्पनी आम्दानीका हिसाबले विश्वकै सबैभन्दा ठूलो निर्माण कम्पनी हो । यो कम्पनी चीन सरकारले बेइजिङमा केही समयअगाडि मात्रै निर्माण गरेको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुख्य भूमिका खेलेको थियो ।

त्यस्तै, हङकङ विमानस्थलको टर्मिनल भवनको निर्माणसमेत यही कम्पनीले गरेको थियो । अल्जेरियाको अल्जियर्स विमानस्थलको स्तरोन्नति, ग्वान्जाओ, सियाङ र सेङयाङ विमानस्थलसमेत सोही कम्पनीले बनाएको थियो । इजिप्टको नयाँ राजधानी सहर निर्माणको काम पनि यही कम्पनीले गरिरहेको छ । 

- फ्रान्सको भिन्सी ग्रुप

सन् १८९९ मा स्थापना भएको फ्रान्सको भिन्सी ग्रुपले विश्वभरि नै विमानस्थल, हाइवे, टनेल, पुललगायत निर्माण गर्दै आएको छ । यसले विश्वभर ४६ वटा विमानस्थल निर्माण गरेको छ । विश्वका चार ठूला विमानस्थल कम्पनीमध्ये भिन्सी पनि एक हो ।

भिन्सीले पोर्चुगलमा १० वटा, फ्रान्समा ११ वटा विमानस्थल सञ्चालन गरिरहेको छ । यसले बेलायतको दोस्रो ठूलो लन्डन गाट्विक विमानस्थल र बेलफास्ट इन्टरनेसनल एयरपोर्ट पनि सञ्चालन गर्छ । कम्बोडियामा ३ एयरपोर्ट, जापान, ब्राजिल, चिली, सर्बिया, स्विडेनलगायत मुलुकमा समेत यसले विमानस्थल निर्माण र सञ्चालन गर्छ । 

- भारतको जिएमआर

भारतीय जिएमआर कम्पनीले नेपालमा ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउने जिम्मा पाएको छ । जिएमआरले भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरेको हो भने त्यसको सञ्चालन पनि यसैले गर्छ । त्यसैगरी, गोवा र हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको समेत सञ्चालनको जिम्मा जिएमआरले लिएको छ । पछिल्लो समय ग्रिसमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको छ । 

- चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप

चीन सरकारको स्वामित्व रहेको यो कम्पनी चीनकै ठूलोमध्येको विमानस्थल निर्माण कम्पनी हो । सन् १९५४ मा स्थापना भएको यो कम्पनीले २ सयभन्दा बढी विमानस्थल बनाएको छ । यसले चीनका अतिरिक्त लाओस, कोरोमस, टोगो, एंगोला, तान्जानिया, उत्तर कोरियालगायत मुलुकमा समेत विमानस्थल बनाएको छ । यो चीनको नागरिक उड्डयनको पूर्वाधारमा काम गर्ने ए ग्रेडको कम्पनी हो । 

- कतार एयरवेज

कतारको राष्ट्रिय ध्वजावाहक कतार एअरवेजले एअरपोर्ट निर्माण र सञ्चालनसमेत गर्छ । यो करतारको सरकारी स्वामित्वको कम्पनी हो । कतार एअरवेजले हमाद इन्टरनेशनल एअरपोर्टको सञ्चालन गर्ने गर्छ । त्यस्तै, कतारले रुवान्डामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसमेत गरिरहेको छ । 

- जुरिच एयरपोर्ट

जुरिच एअरपोर्ट कम्पनीले स्विट्जरल्यान्डकै जुरिच विमास्थलको निर्माण र व्यवस्थापन गरिरहेको छ, जुन विमानस्थल संसारको उत्कृष्ट १०औँ स्थानमा पर्छ । यसले दक्षिण अफ्रिकालगायत विभिन्न देशमा विमानस्थल निर्माण गरिसकेको छ । साथै, अन्य विमानस्थल सञ्चालन तथा व्यवस्थापन पनि गर्दै आएको छ ।

- म्याट्रिक्स इन्टरप्राइजेज प्रालि 

यो नेपाली कम्पनी हो । २०७५ मा स्थापना भएको यो कम्पनी खासै नाम पनि नसुनिएको कम्पनी हो । यो कम्पनी एयरपोर्ट निर्माणको मापदण्डभित्र नै पर्दैन ।