Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ श्रावण २८ बुधबार ०५:४२:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

मिडियासँग त्रसित महिला कलाकार

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ श्रावण २८ बुधबार ०५:४२:००

कोरोना भाइरस महामारीका कारण सिनेमा क्षेत्रको गतिविधि ठप्प भए पनि कलाकार भने चर्चामा छन् । केही महिला कलाकारलाई जबर्जस्त विवादमा तानिएको छ, त्यसैले त्रसित छन् मिडियासँग ।

केही समयअघि प्राइम टेलिभिजनका प्रस्तोता प्रकाश सुवेदीले अभिनेत्री पूजा शर्माको अन्तर्वार्ता लिए । अन्तर्वार्ताको भिडियो क्लिप भाइरल भयो । जहाँ उनले नेपालमा कति जिल्ला छ, कति प्रदेश छ भनेर सोधेको प्रश्नमा गलत जवाफ दिएकी थिइन् । उनको सो भिडियो क्लिपमाथि ट्रोल बने, मिम बने । अभिनेत्री शर्मालाई सामाजिक सञ्जालमा खुबै उडाइयो । 

यो घटनाको केही समयपछि उनै टिभी प्रस्तोताले शर्मालाई फेरि अन्तर्वार्ताका लागि अनुरोध गरे । तर, पूजाले मानिनन् । त्यसपछि त्यही कार्यक्रममार्फत उनले शर्मालाई लक्षित गर्दैै ‘महानायिका बनाइदिनुपर्ने रे दाह्रा निस्केको अनुहारलाई । कति हाँस्नु’ भने । उनको यो अभिव्यक्ति अहिले निकै विवादमा परेको छ । शर्माले आफूमाथि लक्षित भएको भन्दै न्यायका लागि कलाकार संघमा निवेदन दिएकी छिन् ।

लगत्तै अभिनेत्री पूजा शर्माले ‘कति चुप रहने, कति सहने’ भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखिन् । स्टाटसमा आफूले राम्रो गर्न नसकेको र त्यो क्लिप काटिदिन अनुरोध गरेको पनि लेखेकी छिन् । तर, पछि काटिएन, त्यही क्लिप भाइरल भयो । उनले स्टाटसमा प्रश्न गरेकी छिन्, ‘शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गरियो । के पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित प्रश्न गर्न मिल्छ ?’ हो, यस्तो प्रश्न पत्रकारले मात्र होइन, कसैले पनि गर्न मिल्दैन । तर, पूजाको यो प्रश्न एक पत्रकारलाई मात्र लक्षित थिएन । सिंगो पत्रकारितामाथिको प्रश्न हो । नेपालमा कस्तो पत्रकारिता गरिँदै छ भनेर यसले सिंगो पत्रकारितामाथि नै प्रश्न उठाएको छ ।

कलाकार र पत्रकारबीचको यो घटनाबाट दुःखी भएकी अभिनेत्री बेनिशा हमाल मिडियाको फोन भन्नसाथ तर्सिन्छिन् । उनमा भय सिर्जना हुन्छ । जुन तवरले पत्रकारले प्रश्न सोध्छन्, त्यसले डर पैदा गर्ने गरेको बताउँछिन् उनी । ‘अहिले त मिडियाले कल गरेर केही सोध्यो भने एकदमै डर लाग्छ, विवादमा फसिन्छ कि भनेर,’ उनी भन्छिन्, ‘कतिपय विषयमाथि बोल्ने तयारी पुगेको हुँदैन । तर, त्यस्तै प्रश्न सोधिन्छन् । र, भिडियो क्लिप बाहिरिन्छन् । त्यसपछि कलाकारलाई गरिएको गाली हेर्नै सकिँदैन ।’ 

यही विषयमा अभिनेता दीपकराज गिरीले फेसबुकमार्फत स्टाटस लेखेका छन्, ‘यस्तै भइरहे अन्तर्वार्ता दिनेलाई पनि डरमर्र्दो भो, लिनेलाई पनि डरमर्दो हो । त्यसैले एकअर्कालाई मिस्टेक गरोस् भन्नुभन्दा पनि एकले अर्काको मिस्टेक सच्याइदिँदा पो हामी सबैको भलो हुन्थ्यो कि !’ अभिनेता गिरी पहिलो दोष आफूहरूले नै केलाउनुपर्ने बताउँछन् । ‘हामीले अन्तर्वार्तालाई एकदमै सामान्य लियौँ । टिआरपीको खेल खेल्ने पत्रकारलाई चिनेनौँ । ज्ञान भण्डार नबढाउन, हाम्रो समस्या हो,’ गिरी भन्छन्, ‘तर योभन्दा तीन गुणा बढी समस्याग्रस्त भयो मिडिया । कुनै कलाकार नांगियो भने म पनि नांगिन्छु भन्ने थाहा छैन । अपवादबाहेक युट्युबलगायतका पेमेन्ट आउने च्यानलले बौद्धिक अपराध गरिरहेको छ । यसमा प्रेस काउन्सिल सचेत हुनुपर्छ ।’ 

                                                                                                 ..... ....

अभिनेत्री दीपाश्री निरौला पनि भिडियो क्लिपको सिकार भइन् । अभिनेता राजेश हमालमाथि प्रश्न उठाएको उनको भिडियोको चौतर्फी आलोचना भयो, मात्र १०/१५ सेकेन्डको भिडियो क्लिपका कारण । तर, उनले समग्रमा के भन्न खोजेकी थिइन् भन्नेतिर कोही लागेनन् । मात्र दीपाको आलोचना गरिरहे । यसपछि दीपाश्रीले मिडियामा खासै बोलेकी छैनन् । सम्भवतः फेरि आलोचित हुन सकिने मनोवैज्ञानिक त्रास उनमा पलाएको हुन सक्छ । 

अभिनेत्री प्रियंका कार्कीमाथि एक पत्रिकाले छोरी बिग्रिए बिहे गरिदिनुपर्छ भन्ने उखान नायिका कार्कीमाथि मिल्न गएको भन्दै गसिप लेख्यो । गसिपमा भनिएको थियो, ‘बिहेअघि कहिले अर्धनग्न कपडा त कहिले त्यसवेलामा हुन बाँकी श्रीमान्सँगको अन्तरंग फोटो माहोल गरम बनाउने प्रियंकामा बिहेपछि व्यापक परिवर्तन आएको छ ।’ ‘संस्कारी प्रियंका’ शीर्षकमा छापिएको गसिप सेयर गर्दै प्रियंकाले दुःखी भएर प्रश्न गरेकी छिन्, ‘के हामीमा अब सोसियल रेस्पोन्सिबिलिटी सकिएकै हो त ? के महिला कलाकार सम्मानका लागि लायक छैनन् ? के हामी बिक्ने समाचार र हट गसिपमै सीमित छौँ ?’ नायिका कार्कीको यो प्रश्न समग्र मिडियाको चरित्रमाथि थियो । भलै यस प्रश्नभित्र सबै मिडिया पर्दैनन् होलान् । 

                                                                                                   .. ........

केही समयअघि भिडियो क्लिपकै सिकार भइन् अभिनेत्री वर्षा राउत । उनले एक अन्तर्वार्तामा नेपाल र भारतको सीमा विवादबारे बोलेकी थिइन् । दुई देशको सरकारले टेबल टक गरेर सीमा विवादको समाधान निकाल्नुपर्ने उनको भनाइ थियो । साथै, राष्ट्रवादले गिजोलिरहेको वेला भारतका साथीहरूसँग कुरा गर्न गाह्रो भइरहेको बताएकी थिइन् । तर, यही विषयलाई लिएर आलोचना गर्न सुरु गरियो । ट्रोल, मेमको सिकार भइन् । यस विषयमा उनको धारणा लिन नयाँ पत्रिकाबाट फोन गर्दा भनिन्, ‘मलाई त मिडियाको फोन भनेपछि डर लागिहाल्छ ।’ 

यो समस्या राउतको मात्र होइन, सबै कलाकारले झेलिरहेको तनाव हो । कुनै कलाकारलाई मिडिया भन्नासाथ डराउनुपर्ने परिवेश कसरी सिर्जना भयो ? कलाकारमाथिको यस्तो किसिमको मनोवैज्ञानिक त्रास सिर्जना गर्नु मिडियाको धर्म पक्कै होइन । यस्तो अवस्था आइपर्नुमा एकअर्काप्रति सम्मानको भावना कम हुँदै जानु मुख्य कारण रहेको बताउँछिन् वर्षा । ‘मिडियाबाट जे सामग्री आउँछन्, दर्शकहरूले त्यही नै हेर्नुहुन्छ । जे देखायो, त्यही बुझ्ने हो दर्शक, पाठकहरूले,’ उनी गुनासो गर्छिन्, ‘खै, कतिपय अवस्थामा त मिडियाले नैतिकता बिर्सेको हो कि पनि लाग्छ । अन्तर्वार्ता लिनुपर्ने विषय अर्को हुन्छ, प्रश्न व्यक्तिगत जीवनलाई लिएर गरिएको हुन्छ । यस्तो सस्तो लोकप्रियताको खोजीले मिडियाबाट सत्य कुराहरू बाहिर आउन नसकिरहेको हो कि लाग्छ ।’

यस्तो परिस्थिति निर्माण हुनुमा व्यक्तिगत दुस्मनीलाई पनि कारक देख्छिन् उनी । ‘कुनै कुनै सामग्री हेर्दा लाग्छ, उहाँहरूले पत्रकारितै बिर्सनुभएको हो कि ! व्यक्तिगत प्रतिशोध पनि हो कि !,’ भन्छिन्, ‘हामीले एकअर्काको पेसामा सम्मान गर्न नसकेर पनि यस्तो अवस्था आएको हुन सक्छ । तर, कलाकार र पत्रकार दुवैले यस्ता मनमुटावलाई बिर्सेर उद्योगलाई अगाडि लाग्नेबारे सोच्नेचाहिँ कहिले ?’

यसरी कलाकार त्रसित हुनुमा मिडिया र कलाकार दुवैको उत्तिकै गल्ती देख्छिन् अभिनेत्री स्वस्तिमा खड्का । यसमा पूर्णरूपमा कलाकारको मात्र या पत्रकारको मात्र गल्ती नभएर बराबर गल्ती हुने गरेको स्विकार्छिन् उनी । ‘मिडियालाई कन्टेन्ट चाहिएको हुन्छ । कलाकारलाई आफ्नो कुरा राख्ने माध्यम । तर, आफ्नो कुरा कसरी राखिरहेका छौँ भन्ने पनि सवाल हो,’ उनी गुनासो गर्छिन्, ‘कतिपय पत्रकारमा मैले तँलाई बनाउने हो, चाहेँ भने तल पनि झारिदिन्छु भन्ने दम्भ पनि देखिन्छ । कसैले त ठाडै पनि भन्छन् । यसले हामीमा एक किसिमको भय सिर्जना त पक्कै गर्छ नै ।’

                                                                                                        ...........

प्राध्यापक पी खरेल मिडिया भनेर पछिल्लो समय जसरी परिभाषित गर्न खोजिएको छ, त्यसैमा समस्या देख्छन् । यस्ता घटना हुनासाथ प्रेस काउन्सिल, पत्रकार महासंघजस्ता संघसंस्थाले विज्ञप्ति निकाल्नुपर्ने उनी बताउँछन् । ‘जब यस्ता घटना हुन्छन्, त्यसले कोही व्यक्तिलाई असर त गर्ला, तर समग्रमा सञ्चारगृहको विश्वसनीयतामाथि शंका उत्पन्न हुन्छ,’ खरेल भन्छन् ।

कतिपय अवस्थामा विवाद हुने भिडियो क्लिपहरू जानीजानी बाहिरिएका हुन्छन् । नियतवशै गरेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ । अभिनेत्री पूजा शर्माले सुवेदीलाई त्यो रेकर्ड काट्नका लागि अनुरोध पनि गरेकी थिएँ भनेर लेखेकी छिन् । उनले यस्तो असभ्य कुरा सम्पादन गर्ने निकाय छैन ? भन्दै प्रश्न पनि गरेकी छिन् । ‘कुनै पनि मिडिया, चाहे युट्युबै किन नहोस् । त्यहाँ गल्ती जानीजानी पनि गरिएको हुन सक्छ,’ प्रा.खरेल भन्छन्, ‘उसले हुन्न है भनेपछि झिकिदिनुपर्छ, काटिदिनुपर्छ । यदि रेकर्ड भइरहेको अवस्थामा पनि अप्ठ्यारो लागेको खण्डमा काटिदिनुपर्छ । त्यसो भन्नुको अर्थ स्वतः अफ द रेकर्ड हो ।

                                                                                                            ............

केकी अधिकारी, निशा अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, बेनिशा हमाललगायतका अभिनेत्रीहरूले महिला कलाकारमाथि मिडियाले गरेको व्यवहारप्रति आफ्नो विमति राखेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनीहरूले लेखेका छन्, ‘राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरूको शारीरिक बनावटमाथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाईहरुको प्रतिक्रियात्मक विद्वता ‘यस्तै वा यो भन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्’ भन्नेमै सीमित रहेको देख्दा अफसोच लागिरहेको छ । तपाईहरूको यस्तै टिप्पणीहरुले नै सायद पटक पटक घट्ने यस्तै घटना सामान्यीकरण हुँदा हुन् ।’