Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २८ बुधबार ०४:०२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं कोरोनाको ‘रेडजोन’मा, एकैदिन थपिए १३४ संक्रमित 

Read Time : > 2 मिनेट
२०७७ श्रावण २८ बुधबार ०४:०२:००

-अध्ययन भन्छ– २८ प्रतिशत काठमाडौंवासी मास्क पनि लगाउँदैनन्, मास्क लगाउनेमध्ये पनि २७ प्रतिशतले नाकमुनि, चिउँडो, घाँटीमा झुन्ड्याउँछन्

....

काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । दैनिक संक्रमण बढ्दै गएको उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । तर, एकचौथाइभन्दा बढी उपत्यकावासीले मास्क नलगाउने गरेको पाइएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका एक सय १०, ललितपुरका १६ र भक्तपुरका आठजना छन् । एक महिनायता संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् । 

उपत्यका रेडजोनमा परे पनि यहाँका बासिन्दाले कोरोनाबाट जोगिने न्यूनतम मापदण्डसमेत पालना नगरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा शिक्षित व्यक्तिलाई पनि मास्क प्रयोग गर्नेबारे सामान्य ज्ञान नभएको देखिएको छ । परिषद्ले व्यक्तिगत र संस्थागत गरी सात हजार दुई सय पाँचजनाको अध्ययन गरेको थियो । यो संख्याले उपत्यकाको प्रतिनिधित्व गरेको परिषद्ले जनाएको छ । 

परिषद्ले ९ साउनदेखि एक साता उपत्यकाका विभिन्न परिषद्ले व्यक्तिगत र संस्थागत गरी दुई तहमा अध्ययन गरेको थियो । व्यक्तिगत तहमा मास्क लगाएको, नलगाएको, मास्कको प्रकार र मास्क लगाउने तरिकाको अवलोकन गरिएको थियो । व्यक्तिगत रूपमा चार हजार पाँच सय दुईजनामा अवलोकन गर्दा मास्क लगाउने ७२.१ प्रतिशत भेटिएको हो भने नलगाउने २७.९ प्रतिशत भेटिएको थियो । सार्वजनिक स्थलमा जम्मा दुई हजार सात सय तीनजनामध्ये सही तरिकाले मास्क लगाउने ७२.६६ प्रतिशत रहेका थिए । ‘सार्वजनिक स्थलमा नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा झुन्ड्याउने, हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउने २७.३४ प्रतिशत पाइयो,’ डा. धिमाल भन्छन् । 

कोरोनाबाट थप चारको मृत्यु, ६ सय ३८ लाई संक्रमण

पछिल्लो २४ घन्टामा मुलुकभर कोरोनाबाट चारजनाको मृत्यु भएको छ भने १० हजार चार सय २४ नमुना परीक्षण गर्दा ६ सय ३८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ भने संक्रमितको संख्या २३ हजार नौ सय ४८ पुगेको छ । 

त्यस्तै, मंगलबारसम्म १६ हजार ६ सय ६४ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अहिलेसम्म सात हजार दुई सय एकजना सक्रिय संक्रमित अस्पताल र घरमै आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार दुई सय २४ जना संक्रमित होम आइसोलेसनमा छन् । संक्रमितमध्ये गम्भीर रहेका ८८ जनालाई आइसियूमा भर्ना गरिएको छ । विगत २४ घन्टामा १० हजार चार सय २४ नमुना परीक्षण भएको छ । 

दुईजनाको मृत्युपछि कोरोना पुष्टि

कोरोनाबाट मृत्यु भएका चारजनामध्ये दुईको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की ५० वर्षीया महिलालाई निमोनिया भएको थियो । २५ साउनमा अस्पताल भर्ना भएकी उनको मृत्यु भएपछि मंगलबार आएको कोरोना रिपोर्टमा पोजेटिभ देखिएको हो । उनी फोक्सो तथा पित्तथैलीसम्बन्धी रोगबाट पीडित थिइन् । 

त्यस्तै, काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय वृद्धको पनि मृत्यु भएपछि कोरोना पुष्टि भएको हो । २१ साउनमा शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको २२ साउनमा मृत्यु भएको थियो । मुटु तथा मिर्गौलासम्बन्धी समस्या भएका उनको मंगलबार कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो । 

कोरोनाबाट धनुषा विदेह नगरपालिका–८ का ६० वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो । ८ साउनमा अस्पताल भर्ना भएका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो । निमोनिया भएर अस्पताल भर्ना भएका उनी क्षयरोगबाट पनि पीडित थिए । 

धनुषाकै मिथिला बिहारी नगरपालिका–५ का ५० वर्षीय पुरुषको २५ साउनको राति मृत्यु भएको हो । उनी जनकपुरस्थित विनयतारा फाउन्डेसन (क्यान्सर अस्पताल)मा काम गर्दै आएका थिए ।