मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २७ मंगलबार १७:५५:००
Read Time : > 1 मिनेट
समाचार

चार महिनाअघि नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्घाटन भएको कोभिड अस्पताल सञ्चालनमा आएन

उपकुलपतिको कार्यालयमा ताला

Read Time : > 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १७:५५:००

कांग्रेसनिकट नेपाल तरुण दल नगर र महेन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार महिनाअघि नै उद्घाटन गरेको प्रतिष्ठानको कोभिड– १९ अस्पताल हालसम्म सञ्चालनमा नआएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

तरुण दलका नगर सभापति हिमाल श्रेष्ठले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको बताए । माग पूरा नभइञ्जेलसम्म अनिश्चितकालीन तालाबन्दी हुने श्रेष्ठको भनाइ छ । एक साताभित्र कोरोना अस्पताल निर्माण गरिएको र १० वटा आइसियूसहित सय बेडको सुविधासम्पन्न अस्पताल निर्माण गरेको प्रचार गरे पनि चार महिनासम्म सञ्चालनमा नल्याएर कोरोनाका बिरामीलाई अलपत्र परेको उनीहरूको भनाइ छ । प्रतिष्ठानले ११ वैशाखमा कोभिड– १९ अस्पतालको सबै तयारी पूरा भएको भन्दै मुख्यमन्त्रीद्वारा उद्घाटन गराएका थिए । 

माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावितहरूका लागि उपचार गर्न सरकारले बनाइदिएको पुनर्स्थापना केन्द्रमा प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानले अस्पताल बनाएको थियो । तर, हालसम्म सञ्चालन नआउँदा कोभिड– १९ बाट सङ्क्रमित बनेका धरानका बिरामी घरमै बस्नुपरेको  स्वतन्त्र विद्यार्थी युनियनका सचिव दोर्ची शेर्पाले बताए ।  

धरानमा मात्रै ५५ जनाभन्दा बढी संक्रमित देखिइसकेका छन् । अन्य क्षेत्रबाट पनि धरानमा ल्याइएको छ । हाल प्रतिष्ठानको आइसोलेसन वार्डमा एक सयभन्दा बढी बिरामी छन् । धरानमा सोमाबार कोरोना पुष्टि भएका नौजना र यसअघि प्रतिष्ठानकै दुई चिकित्सकसहित तीनजनालाई बेड अभावमा घरमै राखिएको छ ।

धरानमा फैलिरहेको कोरोना संक्रमणलाई बेवास्ता गर्दै सिनेट बैठकमा सहभागी हुने भन्दै प्रतिष्ठानका पदाधिकारीहरू भने काठमाडौं गएका छन् । चारैजना पदाधिकारी ३० साउनको सिनेट बैठकका लागि काठमाडौं गएका हुन् । 

कोभिड अस्पताल सुरुवात गर्न चासो नदिएको र कोरोना महामारीको वेला उपचार, रोकथाममा ध्यान दिनुपर्नेमा पदाधिकारी लिएर उपकुलति काठमाडाैं गएकोले तालाबन्दी गरिएको तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले बताएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने केही वार्डहरूमा अक्सिजन जोड्न बाँकी रहेको कारण ढिलाइ भएको बताए । अस्पताललाई चाहिने आवश्यक सामान खरिद नियमावलीअनुसार गर्दा प्रक्रिया पुऱ्याउन समय लागेकाले ढिलाइ भएको र एक–दुई दिनभित्र सञ्चालनमा आउने डा. सापकोटाले बताए ।