मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २७ मंगलबार १६:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोंगबु हत्याकाण्ड : भाग्नलाई चितवनबाटै बोलाइयो एम्बुलेन्स

‘एम्बुलेन्स चालक भन्छन् राती दस बजे फोन गरिन्, भोलिपल्ट लिएर गएँ’

Read Time : > 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १६:१९:००

एम्बुलेन्सचालक रमेश तिमिल्सिना साउन २४ गते राति १० बजेको समयमा खाना खाइसकेर बसिरहेका थिए । लकडाउनको समयमा एकपटक काठमाडौंबाट चितवन ल्याइदिन तिनै महिलाले फोन गरेकी रहिछिन् । काठमाडौं बिरामी लिएर गएको र फर्कँदा उनलाई ल्याइदिउँला भनी सोच बनाए ।

साउन २५ गते आइतबार उनी बिरामी लिएर काठमाडौं गए । बेलुका ७ बजेतिर उनी ती महिला र उनका छोराछोरीलाई लिन गोंगबु गए । कोठाभन्दा केही पर रहेका यात्रु लिएर रामप्रसाद चितवन फर्किए ।

बाटोमा खाना नखाएको र ठाउँठाउँमा जाम भएका कारण राति १२ बजेको समयमा यात्रुलाई टाँडी माधवपुरमा ल्याई झारिदिए । उनी घरतर्फ लागे । चिनेजानेका मानिसहरूले कहिलेकाहीँ अनुरोध गरेपछि उनले सेवा दिइरहेका थिए । तर, आइतबार राति कसैलाई गरेको उद्धार उनका लागि निकै महँगो हुन गयो । 

सोमबार बेलुकीपख प्रहरीले आफूलाई गिरफ्तार गरेपछि रामप्रसाद अन्याेलमा परे । प्रहरीले सुरुमा केही सोधपुछ गर्नुछ मात्र भने । तैपनि उनको मन आत्तियो ।  जब प्रहरीले आफैँले आइतबार काठमाडौंबाट ल्याएका यात्रुको गतिविधिसँग जोडेर खानतलासी गर्न थाल्यो, उनी झसंग भए । उनी ढुक्क पनि थिए कि उनलाई गोंगबुमा भएको घटनाबारे केही पनि जानकारी थिएन । 

गोंगबुको नवज्योति मार्गमा रहेको एक घरमा भएको हत्या घटनामा संलग्न भएको आरोपमा उनैले सेवा दिएका व्यक्ति मुछिएको थाहा पाएपछि उनी अचम्ममा परेका थिए । घटनामा एम्बुलेन्सचालकको सहभागिताबारे अनुसन्धान भइरहेको अपराध महाशाखा टेकुका एसएसपी दीपक थापाले बताए । कृष्णबहादुर बोहराको हत्यापछि भाग्नका लागि आरोपीले एम्बुलेन्सलाई फोन गरेको हुन सक्ने प्रहरीको भनाइ छ । लकडाउनको समयमा अन्य साधन उपलब्ध नहुने भएपछि एम्बुलेन्स गुहारेकी थिइन् । भाडास्वरूप ६ हजार रुपैयाँ लिएको एम्बुलेन्सचालकले बताए । 

बोक्न नसकेपछि काटेँ
यस घटनाकी अभियुक्त भनिएकी महिला कल्पना मुडभरीले हत्यापश्चात् सिंगै बोक्न नसकेपछि शरीर टुक्रा पारेको प्रारम्भिक बयान प्रहरीलाई दिएकी छिन् । घटनालाई अति गोप्य राख्नका लागि आफू मात्र संलग्न भएको उनले बताएकी छिन् । सँगै रहेका छोरालाई घटनाबारे केही पनि थाहा नभएको र छोरीले भने शव व्यवस्थापनमा सघाएको प्रहरीको भनाइ छ । शरीरको बीचभाग सुटकेसमा तथा टाउको र खुट्टा अर्को झोलामा दुई फरक स्थानमा फालिएको अवस्थामा प्रहरीले शव बरामद गरेको हो । 

घटना भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड र उनले साबिती बयान दिएकाले  घटनामा उनको मात्र संलग्नता देखिएको प्रहरीको भनाइ छ । उनका १५ वर्षीया छोरी र १३ वर्षीय छोरा छन् । श्रीमान् विदेशमा रहेको पाइएको छ । 

अति भए पछि मारेँ 
घटनामा संलग्न भनिएकी ती महिलाले हत्या गरिएका पुरुषबाट आफू शारीरिक र मानसिक रूपमा पीडित भएको बयान दिएकी छिन् । उनलाई पक्राउ गर्नका लागि खटिएका प्रहरी स्रोतका अनुसार आफूसँग शारीरिक सम्बन्ध राख्ने गरेको, जबर्जस्ती पनि गर्ने गरेको र छोरीतर्फ पनि आँखा लगाउन थालेपछि असह्य भई घटना गराएको बताएकी छिन् । आफ्नो फोटो विभिन्न फेसबुक एकाउन्टमार्फत सार्वजनिक गरेको महिलाको आरोप छ ।