मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ श्रावण २७ मंगलबार ०७:४४:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

भदौबाट स्टक डिलरले बजारमा लगानी गर्दै  

नेप्सेले सार्वजनिक गर्‍यो कार्यविधि, सानो पूँजीका कम्पनीमा लगानी गर्न रोक 

Read Time : > 3 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ श्रावण २७ मंगलबार ०७:४४:००

बजारमा बहुप्रतीक्षित स्टक डिलर सञ्चालनमा आउने बाटो खुलेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार यससम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । हाल स्टक डिलरको रूपमा चर्चा गरिएको नागरिक लगानी कोषलगायतका संस्थाले भदौबाट बजारमा लगानी सुरु गर्ने तयारी गरेका छन् । 

‘हामीले भदौमै बजारमा लगानी सुरु गर्ने तयारी गरेका छौँ,’ नागरिक लगानी कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्र कट्टेलले भने, ‘नेप्सेले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)  दिनलाई काम गरिरहेको छ भने सिडिएस एन्ड क्लियरिङ (सिडिएससी)ले प्रणालीमा कमिसन लागत मिलाउन केही काम गर्न बाँकी छ ।’ 

केही दिनमा नै यसमा काम सम्पन्न हुने यी निकायहरूले बताउँदै आएका छन् । नागरिक स्टक डिलर कम्पनी लिमिटेडको रूपमा सञ्चालन आउन लागेको कम्पनीमा हालसम्म नागरिक लगानी कोष, पुनर्बिमा कम्पनी र नेपाल टेलिकमले लगानी गरेका छन् । हाल कम्पनीमा तीनवटै निकायबाट कर्मचारी काजमा खटाइएको छ । 

सर्वसाधारणमा सेयर जारी, पाँच अर्बको अलग्गै कोष 

हाल तीन अर्ब ५० करोड चुक्ता पुँजी रहेको स्टक डिलर कम्पनीमा नागरिक लगानी कोष, पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको क्रमश: ५१ प्रतिशत, १० प्रतिशत र नाै प्रतिशत लगानी छ । बाँकी एक अर्ब ५० करोड रुपैयाँ कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेर जुटाउने भएको छ । 

कम्पनीले सञ्चालनमा आएलगत्तै अर्को कोषसमेत बनाउने तयारी गरिरहेको छ । नागरिक स्टक डिलर कम्पनीले अलग्गै पाँच अर्बको कोष बनाएर बजारमा लगानी गर्ने रणनीति बनाएको छ । यसका लागि संस्थागत रूपमा नै पुँजी संकलन गर्ने लक्ष्य कम्पनीको छ ।

‘यसमा दुई तरिकामध्ये कुनै एउटाबाट जान सकिनेमा छलफल भएको छ,’ डा. कट्टेलले भने, ‘या त कोषका लगानीकर्ताले वार्षिक रूपमा निश्चित ब्याजदर नै पाउनेछन्, या त प्रतिफल लगानी स्वामित्वको आधारमा वितरण हुनेछ ।’ कम्पनीमा लगानी गर्ने सर्वसाधारण भने कम्पनीले प्राप्त गर्ने प्रतिफलको अंशियार हुनेछन् । 

के छ कार्यविधिमा ? 
सोमबार नेप्सेले जारी गरेको कार्यविधिले यस्ता डिलरहरूले २० करोडभन्दा कम पुँजी भएका कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाको कारण हाल बजारमा सूचीकृत ५३ मध्ये १८ लघुवित्त कम्पनीमा स्टक डिलरले लगानी गर्न पाउने छैनन् ।  

त्यस्तै, स्टक डिलरको रूपमा काम गर्नेले नेप्सेमा कम्तीमा ५० लाख रुपैयाँ नगद वा बैंक ग्यारेन्टी राख्नुपर्नेछ । यसरी राखिएको ग्यारेन्टी रकमको २५ गुणा रकमसम्म कारोबार गर्न पाउनेछन् । यस्तो रकम कारोबारपछि राफसाफको हिसाब मिलानमा समेत प्रयोग  गर्न पाइनेछ । यस्ता कम्पनीले आफ्नो नेटवर्थको अधिकतम ४ गुणासम्मको कारोबार गर्न पाउनेछन् । 

यस्तै, एकपटकमा अधिकतम १० हजारदेखि ५० हजार कित्तासम्म सेयर किनबेच गर्न सक्ने सुविधा यी कम्पनीलाई दिइएको छ । एकपटकमा एक हजार कित्ताभन्दा कम सेयर कारोबार गर्न पाइनेछैन । कारोबार सुनिश्चितताका लागि राफसाफ कोषको समेत व्यवस्था गर्नुपर्नेछ । 

तीन वर्षदेखि नाफामा भएकाे, कम्तीमा १० हजार लगानीकर्ता भएको र २० करोडभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको सेयर मात्रै स्टक डिलरले किनबेच गर्न पाउनेछन् । यसरी कारोबार गरिने कम्पनीको कम्तीमा वर्ष दिनमा ८० प्रतिशत कारोबार भइरहेको हुनुपर्नेछ । 

स्टक डिलरको आसले बढ्यो नेप्से

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक एकैदिन ३२ अंकले बढेर १४ सयको बिन्दु पार गरेको छ । नेप्से साेमबार एक हजार चार सय ३० बिन्दुमा आइपुगेको छ । बजारमा स्टक डिलर प्रवेश गर्न बाटो खुल्ने गरी कार्यविधि तयार भइसकेको जानकारी बजारले पहिले नै पाएपछि सोमबार बजार वृद्धि भयो । 

स्टक डिलर आएमा बजारमा अस्वाभाविक रूपमा उतारचढाव नहुने, बजार धेरै घट्न वा बढ्न रोकिने अपेक्षा लगानीकर्ताहरूको छ । स्टक डिलरले बजारमा अवमूल्यन भएर सेयर मूल्य निकै तल आएको अवस्थामा खरिद गरिदिने र अधिमूल्यन भएर मूल्य निकै बढेको अवस्थामा बिक्री बढाएर अस्वाभाविक बढ्न रोक्ने भूमिका निर्वाह गर्ने मानिन्छ । 

त्यसो त केही बैंकहरूको नाफा घटे पनि लाभांश दिने क्षमता बजारसापेक्ष देखिएकोले समेत बजार बढ्न सहयोग पुगेको हो । नेपाल बैंकले करिब २० प्रतिशत र सिद्धार्थ बैंकले करिब नाै प्रतिशत लाभांश दिन सक्ने वित्तीय विवरण प्रकाशित गरेसँगै बजारमा लगानीकर्ताहरू केही आशावादी देखिएका छन् । 

कोरोनाले बैंक तथा वित्तीय संस्थाहरूमा पारेको प्रभावको कारण बैंकहरूको वितरणयोग्य मुनाफा नकारात्मक हुने आकलन गरिएको थियो । यद्यपि सिद्धार्थ बैंकको नाफा सात प्रतिशत र नेपाल बैंकको एक दशमलव ५५ प्रतिशतले खुम्चिएको छ । 

निक्षेप बजारमा ब्याजदर ओरालो लागिरहेकोले अबको केही महिनामै सूचीकृत कम्पनीहरूले दिने लाभांश लिन पाइने भएकाले पनि बजारमा लगानीकर्ताहरू आशावादी देखिएका छन् । 

ब्याजदर ओरालो लागेसँगै बैंकहरूमा साधारण निक्षेपको अधिकतम ब्याजदर ५ दशमलव ५ सम्म र मुद्दती निक्षेपमा ८ दशमलव ७५ सम्म बैंकहरूले  दिइरहेका छन् । तुलनात्मक रूपमा केही कमजोर मानिएका बैंकहरूले अधिकतम ब्याज दिइरहेको भए पनि ठूलाको ७.२५ हाराहारी छ । साधारण बचत खातामा भने ब्याजदर ३ प्रतिशतसम्म ओर्लिएको छ ।  

अन्य लगानीका अवसरसमेत खुम्चिएकाले बजारमा पर्याप्त तरलता देखिँदै आएको छ । यही कारण पछिल्ला दिनहरूमा कारोबार रकमसमेत अर्ब हाराहारी हुने गरेको छ । कतिपय विकास बैंकहरूले भने नोक्सानमा गएको वित्तीय विवरण प्रकाशित गरेका छन् । कम्पनीको अवस्था हेरेर लगानीकाे निर्णय लिनु यो समयमा सही हुने देखिन्छ । 

सोमबार बैंक, बिमा कम्पनीहरू कारोबार रकमका आधारमा समेत अग्रस्थानमा छन् । यस दिन  बजारमा १ अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । १ सय ६९ कम्पनीको सेयर किनबेच भएकोमा २० कम्पनीको मूल्य घटेको र ५ कम्पनीको स्थिर छ भने बाँकीको मूल्य बढेको छ ।