१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परीक्षा नलिई माथिल्लो कक्षा पढाउने त्रिविको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०७:२९:००

सरकारले लकडाउन हटाएपछि कोभिड–१९ संक्रमितको संख्या बढेकाले त्रिभुवन विश्वविद्यालयले परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने तयारी गरेको छ ।

यसअघि भदौ पहिलो सातादेखि लिने गरी परीक्षाहरू स्थगित भएका थिए । तर, संक्रमण बढ्दै गएकाले स्थिति सहज भएपछि मात्र ती परीक्षा सञ्चालन गर्ने गरी अनलाइनमार्फत माथिल्लो कक्षामा पठनपाठन सुरु गर्न लागिएको हो ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अहिलेकै अवस्थामा परीक्षा लिन नसकिने बताए । ‘संक्रमण बढेको छ, अब अनुकूल समयमा परीक्षा लिने गरी पठनपाठन सुरु गर्छौँ,’ उनले भने । त्रिविका केही संकायले लकडाउन खुलेपछि सार्वजनिक गरेका परीक्षा तालिका स्थगित गरेका छन् ।

परीक्षा तालिका सार्वजनिक गरेका र गर्ने तयारीमा रहेका कार्यालय र विद्यार्थी अन्योलमा परेका छन् । व्यवस्थापन संकायले संक्रमण बढेका कारण अर्को सूचना नहुँदासम्म परीक्षा स्थगित गरेको छ । धेरै विद्यार्थी संख्या रहेको त्रिभुवन विश्वविद्यालयले यसअघि सेमेस्टरको परीक्षासम्बन्धी निर्णय गर्ने अधिकार डिन कार्यालयलाई दिएको थियो । यस्तै, वार्षिक परीक्षाबारे निर्णय गर्ने अधिकार परीक्षा नियन्त्रण कार्यालयलाई दिइएको छ ।

त्रिविको इन्जिनियरिङ तथा कृषि र पशुविज्ञान अध्ययन संस्थानले ७ भदौदेखि परीक्षा सुरु गर्ने तालिका सार्वजनिक गरेका छन् । इन्जिनियरिङले ७ साउनमै निर्णय गरी स्नातकोत्तर तहको ७ भदौ र स्नातकको १५ भदौदेखि सुरु हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अन्य अध्ययन संस्थान पनि परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षा केन्द्रको तालिका मिलाउन छलफलमा जुटेका थिए । तर, पछिल्लो समय संक्रमित संख्या बढेपछि विद्यार्थी र विश्वविद्यालय नै अन्योलमा छन् ।