१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रवीश कुमार
२०७७ श्रावण २७ मंगलबार ०७:१९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मृत्यु कहिल्यै पनि ‘मात्र’ हुँदैन

Read Time : > 2 मिनेट
रवीश कुमार
२०७७ श्रावण २७ मंगलबार ०७:१९:००

‘मात्र’ भन्ने शब्द लगाएर हामीले कोभिड महामारीबाट मृत्यु हुनेको संख्यालाई दरकिनार गरिरहेका छौँ

बितेको २४ घन्टामा एक हजार सातजनाले ज्यान गुमाएका छन् । भारतमा ४४ हजार तीन सय ८६ जनाको मृत्यु भइसकेको छ । २४ मार्चको लकडाउनपछिको यो तथ्यांक सफलताको तथ्यांक हो भने सफलताको अर्थ फेरिएछ भनेर बुझ्नुपर्ने हुन्छ । प्रत्येक महिना १० हजारका दरले मानिसले ज्यान गुमाएका छन् । तर, ज्यान गुमाएकाको संख्या कसरी कम देखाउने भनेर नयाँ विधिको खोज गरिसकिएको छ । कहिले रिकभरी रेट त कहिले मृत्युदर । हामीले के ध्यान दिनुपर्छ भने यो महामारीका कारण सात महिनाभित्र विश्वमा सात लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । अझै कोरोनाको उपचारको कुनै ठोस उपचार पत्ता लागिसकेको छैन ।

८ अगस्टमा प्रधानमन्त्री कार्यालयले एउटा ट्विट गरेको थियो । प्रधानमन्त्री भन्छन्– ‘तपाईंले अलिकति कल्पना गर्नुस् त, कोरोनाजस्तो महामारी सन् २०१४ भन्दा अघि आउँथ्यो भने कस्तो अवस्था हुन्थ्यो होला ? कहिले ७० वर्ष त कहिले २०१४ को कार्ड पटक–पटक फाल्ने गरिएको छ । यो सरकारले त्यस्तो के नै गरेको छ, जसले गर्दा उसले सन् २०१४ अघिको सरकारको क्षमतामाथि काल्पनिक प्रश्न उठाउने गर्छ । आत्तिँदै लकडाउनजस्तो निर्णय गरिएको छ, जसको परिणाम आर्थिक बर्बादीबाहेक केही होइन । एकातर्फ न्युजिल्यान्ड छ, जहाँ बितेको एक सय दिनमा कोरोनाका संक्रमित नै भेटिएका छैनन् । अर्कोतर्फ भारत छ, जहाँ ६० हजारभन्दा धेरै संक्रमित एक दिनमा देखिन थालेका छन् । के साँच्चै भारतले त्यति ठूलो सफलता हासिल गरेकै हो ? यो सफलता नै हो र ? सम्झनुस् त मार्चको महिनामा च्यानल र अखबारमा तबलिगी जमातको समाचार कसरी फैलाइएको थियो ? नागरिकको मस्तिष्कमा विष हालियो कि कोरोना तबलिगी जमातका कारण फैलिरहेको छ । त्यसपछिको अवस्था कतिसम्म भयावह भयो भने मानिसले तरकारी बेच्नेसँग पनि धर्म सोध्न थाले । अन्ततः गरिबलाई दुःख दिन थाले । त्यतिखेर हरेक तबलिगीको सम्पर्क खोजेर निकालिएको थियो । त्यसबाट हामीलाई के लाग्दै थियो भने हामीसँग कन्ट्याक्ट ट्रेसिङको क्षमता छ । त्यही क्षमताको प्रयोग विदेशबाट आएका मानिस खोज्न प्रयोग गरेको भए देशमा यति छिटै अथवा आत्तिँदै लकडाउन लगाउनुपर्ने थिएन । 

जनताले बुझ्नुपर्ने हुन्छ, कि साम्प्रदायिकताको बुटी खुवाएर उनीहरूको भविष्यसँग खेलबाड गरिँदै छ । आँखामा धुलो छर्केर उनीहरूलाई उठ्न नसक्ने गरी थचारिँदै छ र मिडिया एउटा धर्मको आड लिएर अर्को धर्मलाई खलनायक बनाउँदै छ ।

तर, त्यसपछि त्यो कन्ट्याक्ट ट्रेसिङ कहाँ हरायो भन्ने नै थाहा भएन । त्यति वेला पत्रकार सम्मेलनमार्फत विशेष ढंगले तबलिगी जमातका कति जनामा संक्रमण पोजेटिभ देखियो भनेर भन्न थालिएको थियो । उनीहरूलाई ‘सुपर स्प्रेडर’ भनिन्थ्यो । टिभी च्यानलमा समेत छुट्टाछुट्टै स्केच तयार पार्न लगाइयो, किनभने यो महामारीलाई एउटा धार्मिक खलपात्रका रूपमा चित्रित गर्न सकियोस् । अहिले तिनै तबलिगी जमातका व्यक्तिले जमानत पाइरहेका छन् । उनीहरूलाई आ–आफ्नो देश जाने अनुमति दिइँदै छ । उनका चिफको गिरफ्तारीको वारेन्ट त प्रत्येक दिन गोदी मिडियामा निस्किन्थ्यो नै । अहिले उनलाई के मुद्दा लागेको थियो भन्ने पनि थाहा छैन । यो समग्र चक्रमा आमजनतालाई उपयोग गरियो र मूल प्रश्नबाट उनीहरूको ध्यान अन्यत्रै मोडियो । यति कुरा जनताले बुझ्नुपर्ने हुन्छ, साम्प्रदायिकताको बुटी खुवाएर उनीहरूको भविष्यसँग खेलबाड गरिँदै छ ।

आँखामा धुलो छर्केर उनीहरूलाई उठ्न नसक्ने गरी थचारिँदै छ । तबलिगीको प्रसंगभन्दा केही हप्तापछि अन्य धार्मिक आयोजनका तमाम तस्बिर अगाडि आएका छन्, मिडियाले त्यसमा मौनता साधेको छ । ऊ एउटा धर्मको आड लिएर अर्को धर्मलाई खलनायक बनाउँदै छ । किनभने ऊ प्रश्न सोध्ने आफ्नो जवाफदेहिताबाट पन्छिन सकोस् । यदि प्रश्न सोध्ने हो भने सरकारसँग सोध्नुपर्ने हुन्छ । यसमा त धर्मको कुनै भूमिका हुँदैन । यसबीच मानिसले भने निकै ठूलो जिम्मेवारीपन देखाए । उनीहरूले चाडबाडमा पनि सामाजिक दूरीको पालना गरे । यस्ता कैयांै उदाहरण छन् । न त शिवभक्तहरू काँवर लिएर हरिद्वार गए, न त मस्जिदमा रमाजानमा नमाज भयो । इदको पनि नमाज भएन ।

यसको अर्थ हो, सबै धर्मका जनता महामारीलाई गम्भीरतापूर्वक लिइरहेका छन् । तर, तिनै धर्मभित्रका जुन मान्छेले यो कुरा बुझ्न सकेका छैनन्, तिनैलाई देखाएर गोदी मिडियाले आफ्नो तर्फबाट समाजमा विष फैलाइरहेको छ । धार्मिक निष्पक्षताको तुफान खडा गरेर गोदी मिडिया स्वयं धार्मिक पक्षपातको अभेद्य पर्खाल अग्ल्याउँदै छ । यसबीच तिरुपति मन्दिरका सात सय ४३ कर्मचारी संक्रमित भइसकेका छन् । तीन पुजारीको त मृत्यु नै भइसक्यो । गोदी मिडियाको रिपोर्टमा लेखिएको छ, ‘मात्र तीन कर्मचारीको मृत्यु भएको छ’ । यही ‘मात्र’ भन्ने शब्द लगाएर हामीले कोभिड महामारीबाट मृत्यु हुनेको संख्यालाई दरकिनार गरिरहेका छौँ । मृत्यु ‘मात्र एक’ अथवा ‘मात्र तीन’ भन्ने हुँदैन । मृत्यु, मृत्यु हुन्छ । के तपाईं ४४ हजार तीन सय ८६ मृत्युलाई ‘मात्र ४४ हजार तीन सय ८६’ भन्न सक्नुहुन्छ ?

(रवीश कुमार भारतका चर्चित पत्रकार तथा म्यागासेसे पुरस्कार विजेता हुन्)
मिडियाभिजिलबाट