मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०६:५४:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

कोरोना नियन्त्रणमा स्वयंसेवक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०६:५४:००

बेसार, तातोपानी र हाच्छ्यिुँबाट कोरोना भगाउन संसद्मार्फत प्रधानमन्त्रीले दिएको सुझाबलाई चुनौती दिँदै संक्रमणले काठमाडौं उपत्यकालगायत देशका घना बस्ती भएका क्षेत्रलाई लपेट्न थालेको छ । बाहिरबाट संक्रमित भएर आएका वा अव्यवस्थाले क्वारेन्टाइनमा बस्दा संक्रमित भएकाको संख्या थपिउन्जेल यता नेपालीको प्रतिरोध क्षमता बढी भएको र सरकारले राम्रो काम गरेकाले कोरोना घटेको दाबी गरिएको थियो । तर, पछिल्ला तीन साताको तथ्यांकले भने ती सबै दाबीको खोक्रोपना पुष्टि गरिदिएको छ । ठूलै संकटको पूर्वाभास हुन थालेको छ । अहिले नै संक्रमितलाई व्यवस्थित आइसोलेसनमा राखेर रोगमुक्त हुन सहयोग गर्ने र समुदायमा फैलन रोक्ने उपाय अवलम्बन गर्न हाम्रो स्वास्थ्य सेवा संयन्त्र असफल भइसकेको छ । र, संक्रमणको दर बढिरहेको छ । 

यस्तो अवस्थामा सरकारले खासगरी आइसोलेसनमा राख्न ठूलो स्तरको तयारी गर्नुपर्ने, गम्भीर रूपमा संक्रमित भएकाहरूका लागि उपचारमा आवश्यक पर्ने आइसियू, भेन्टिलेटरको संख्या बढाउनुपर्ने र संक्रमितको सम्पर्कमा आएकाको खोजी तथा जोखिम क्षेत्रमा परेकाको व्यापक परीक्षण गर्नुपर्ने देखिन्छ । यसबाहेक अब ठूलो दायित्व भने स्थानीय सरकार र विभिन्न ढंगले जनसम्पर्कमा पुग्ने संघसंस्था र नागरिक समाजको भूमिका बढाउनुपर्ने देखिन्छ । काठमाडौंलगायत सहरी तथा ग्रामीण क्षेत्रमा समेत कोरोना संक्रमणबाट आफू, परिवार र समाजलाई कसरी जोगाउने भन्ने सम्बन्धमा व्यक्तिगत तथा परिवारस्तरमा सतर्कता कम देखिन्छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत अनुसन्धान परिषद्ले गरेको एउटा अध्ययनले २७ प्रतिशतले मास्क नलगाउने वा गलत ढंगले प्रयोग गर्ने गरेको देखाएको छ । मास्क र भौतिक दूरी कोरोना संक्रमण रोक्ने महत्वपूर्ण उपाय हुन् भन्ने कुरा विश्वव्यापी रूपमा स्वीकार गरिएको छ । यसप्रति बेवास्ता गर्दै पसल र बाटोघाटोमा भिडभाड गर्ने र आवश्यक उपाय अवलम्बन नगर्नेको सख्ंया बढ्दै गएको छ । 

स्वयंसेवी दस्ताले टोलटोलमा सबै परिवारलाई समेट्ने गरी चेतनामूलक काम गर्ने, घरघरमा गएर सम्झाउने, आर्थिक रूपले विपन्न परिवारलाई कमसेकम मास्कको जोहो गरिदिने काम गर्न सक्छन्

निर्माण क्षेत्रलगायतमा काम गर्ने श्रमिकमा यसप्रति सतर्कता झन् कम देखिन्छ । यसले संक्रमणको दरलाई ह्वात्तै बढाउने जोखिम छ । कतिपय परिवारको अयास्रोत यति कम छ कि उनीहरू स्वास्थ्यसम्बन्धी चेतना भएर पनि यी सबै उपाय अवलम्बन गर्न असमर्थ छन् । यस्तो अवस्थामा टोल–टोलमा स्थानीय सरकार, नागरिक समाज, रेडक्रसलगायत संस्थाका सदस्य, राजनीतिक पार्टीका स्थानीय प्रतिनिधि, युवा महिला, अरू जनसंगठनका कार्यकर्ता, वडास्तरका स्वास्थ्यकर्मी र कर्मचारीसमेतको सहभागितामा स्वयंसेवक दस्ता बनाएर परिचालन गर्नु उचित हुनेछ । यस्तो स्वयंसेवी दस्ताले टोलटोलमा सबै परिवारलाई समेट्ने गरी चेतनामूलक काम गर्ने, घरघरमा गएर सम्झाउने, आर्थिक रूपले विपन्न परिवारलाई कमसेकम मास्कको जोहो गरिदिने काम गर्न सक्छन् । 

रोग लागेपछि उपचारमा हुने समस्या र ज्यानै जान सक्ने जोखिमको तुलनामा पहिले नै अपनाइने सतर्कता कति हो कति सजिलो र सस्तो हुन्छ भन्नेबारे सबैलाई बुझाउँदै अन्य स्वयंसेवी तयार पार्ने अभियानमा पनि सबैलाई सामेल गराउन सकिन्छ । यस्तो समितिले आफ्नो इलाकामा कोही संक्रमित भए भने उनीहरूलाई उपचारमा सहयोग गर्न, स्थानीय रूपमै आइसोलेसन कक्षको व्यवस्था गर्न, संक्रमितको सम्पर्कमा आएकाहरूको खोजी गर्न र उपचारका क्रममा सहयोग जुटाउन सक्छ । यस्ता समितिलाई स्थानीय सरकार र जिल्ला विपत् व्यवस्थापन समितिप्रति उत्तरदायी हुने व्यवस्था गर्न सकिन्छ । चिनियाँले संक्रमण रोकथाममा अपनाएका सफलतम विधिबाट शिक्षा लिएर यस्ता स्थानीयस्तरका समितिलाई सक्रिय बनाइयो भने संक्रमण फैलिने क्रम घटाउन मद्दत पुग्नेछ । यतातर्फ वेलैमा सरकारको ध्यान जाओस् ।